१४ दिन पुग्यो, परीक्षण भएन- क्वारेन्टाइनमा थप एक साता राखिने

0

धनगढी, २४ चैत । कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन ।

मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ । यस्तोमा क्वारेन्टाइनमा बसेकाहरूको सक्दो परीक्षण हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिनसम्म संक्रमण देखिएन भने घर जान दिनुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका छ । यस प्रदेशका क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशले आइतबार १४ दिन कटाएका छन् । उनीहरूलाई परीक्षणै नगरी घर जान दिने कि राखिराख्ने भन्ने दोधार रहेका बेला आइतबारै प्रदेश सरकारले थप एक साता राख्ने निर्णय पनि गरेको छ । क्वारेन्टाइनमा बसेकाहरू भने बित्थामा लामो समय दु:ख दिइएको भनेर आक्रोशित र चिन्तित छन् ।

प्रदेशले क्वारेन्टाइन अवधि एक साता लम्ब्याउने भने पनि डोटीका स्थानीय तहहरूले क्वारेन्टाइनमा बसेकाहरूको घाँटीको स्वाब परीक्षण नगरी घर पठाउने भएका छन् । सबैको स्वाब परीक्षण सम्भव नरहेकाले उनीहरूको सामान्य शारीरिक जाँच गरेर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन,’ उनले भने, ‘१५ औं दिनमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास परीक्षण गरेर उनीहरूलाई घर पठाइन्छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.