कोरोनाको खतरा गाउँमा भन्दा शहरमा बढी, संक्रमितहरूमा लक्षण देखिन थाले

0

काठमाडौं। लकडाउन हटेसंगै सर्वसाधारणहरु शहर फर्कन थालेका छन् । लामो समय देखिको लकडाउनले काम विहिन भएकाहरु लकडाउन खुलेसंगै शहर फर्कन थालेका हुन् । त्यसैले अब कोरोनाको जोखिम पनि शहरमा बढेको छ । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७ सय ४० जनामा कोरोना पुष्टि भएको थियो।

मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना देखिएको हो।

यस्तै, काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन् । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

Leave A Reply

Your email address will not be published.