पहिलोपटक काठमाण्डौ उपत्यका धेरै सङ्ख्यामा थपिए कोरोना संक्रमित, बढ्यो जोखिम

0

काठमाण्डौ – नेपालका विभिन्न स्थानमा थप २५९ जनामा कोभिड-१९ पुष्टि र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ५८ पुगेको छ। यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,००९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,९२५ छ।

मंगलबार काठमाडौंमा सवैभन्दा बढी संक्रमित पुष्टि भएको छ। काठमाडौंमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १३ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ। आज सात हजार ६८५ जनाको पीसीआर रिपोर्ट आएको हो। मंगलबार ६५ जनाको डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ७१.५ प्रतिशत निको भएर घर फर्किएका छन्। मंगलबार थपिए सहित पाँच हजार ९२५ संक्रमितको उपचार भइरहेको छ।

प्रदेश १ मा ३३४, प्रदेश २ मा दुई हजार ४२७, बागमती प्रदेशमा ७१६, गण्डकी प्रदेशमा २६३, प्रदेश ५ मा ३३५, कर्णाली प्रदेशमा २९५ र सुदूरपश्चिममा एक हजार ५५५ जना संक्रमित उपचारत छन्। मंगलबार संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मोरङको विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका संक्रमितको सोमबार मृत्यु भएको हो। यो सहित मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट १० हजार बढीको परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नागढुंगा, फर्पिङ र साँगा नाकाबाट १० हजार ८ सय ५३ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। जसमा नागढुंगा नाकामा १६ जना, साँगामा १३ र फर्पिङबाट संकलन गरिएको स्वाबमा ११ जनामा संक्रमण देखिएको हो। सरकारले पछिल्लो समय उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै यी तीन वटा नाकाबाट १० हजार जनाको परीक्षण गर्ने जनाएको थियो।

Leave A Reply

Your email address will not be published.