न्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपालीले दिए यस्तो सुझाव

0

काठमाडौं। यतिबेला अमेरिकाको न्युयोर्क कोभिड – १९ को नयाँ इपिसेन्टर बनेको छ। अमेरिकामा मृत्युदर बढ्दा न्युयोर्कमा मात्रै चीनमा भन्दा धेरैको मृत्यु भइसकेको छ कोभिड – १९ ले। न्युयोर्कमा रहेका केही नेपालीहरुमा पनि कोरोनाको संक्रमण फैलिएको छ भने चार जनाको मृत्यु भइसकेको छ।

यसैबीचमा एक जना नेपाली कोरोनासँग लडाई जितेर फर्केका छन्। न्युयोर्क लङ आइल्यान्ड जुइस अस्पतालमा छ दिनको उपचारपछि मार्च ३० मा उनी घर फर्केका हुन्।

न्युयोर्कको ज्याक्सन हाइटमा मोक्तान डिजिटल स्टुडियो सञ्चालन गर्दै आएका शंभु मोक्तान न्युयोर्कमै बस्छन्। नेपाली चलचित्र र म्युजिक भिडियोहरुसमेत छायाँकन गरेका उनी सक्रिय भिडियोग्राफर हुन्। कोरोना कसरी लाग्यो र यसबाट कसरी सजग रहने भनी उनले आफ्नो अनुभव यसरी सेयर गरेका छन्-

शुरुमा सोला हान्यो, पेन किलर खाएर बसेँ

कोरोनाको हल्ला फैलिएपछि रोग सायद् होला हामीले घर सल्लाह गर्‍यौ अनि अफिस बन्द गरी घरमै बस्न थाल्यौं, मार्च १४ तारिख तिरबाटै। त्यसै दिनदेखि शरीर दुख्न थाल्यो।

शुरुमा सोला हान्न थाल्यो। साधारण पेन किलर खाएपछि केही बेर निको हुन्थ्यो। नौ दिनसम्म औषधि खाइरहेँ। निको भएन। जति दाँजे पनि कोरोनाको लक्षणसँग मिल्दैनथ्यो जस्तो लाग्थ्यो। बजारमा जुन सिम्टमको हल्ला थियो – १०४ ज्वरो आउँछ, रनिङ नोज हुने, छाती दुख्ने आदि। मेरो त जीउमात्र दुख्ने।

सोला हानेको ९ दिनपछि भने सास फेर्न गाह्रो हुन थाल्यो। त्यसपछि म सिटिएमडीको इमर्जेन्सी अस्पतालमा भर्ना भएँ। अस्पतालले एक्स-रे गर्नुपर्छ भन्यो। एक्स-रे गरेको केही बेरमै फोक्सोमा निमोनिया देखियो। जतिसक्दो चाँडो कोभिड १९ को चेक गर्न ठूलो अस्पतालमा जाउ भने डाक्टरले। तुरुन्तै एम्बुलेन्सले लङ आइल्यान्डको जुइस अस्पतालमा ड्रप गर्‍यो।

धेरै बिरामी थिए। कोही खोकेको खोकेई थिए। कोही कराइरहेका – दुख्यो भनेर। अधिकांश बिरामी उमेरले ४५ प्लस देखिन्थे। एक दुई जनामात्र ३०/३५ उमेरका।

त्यहाँ पुग्नासाथ मलाई डाक्टरले गाउन लगाउन लगाए। अनि टेस्ट गरेर टेक्स्ट म्यासेज गर्छु घर गए पनि हुन्छ भने। दुई दिन लाग्छ रिजल्ट आउँछ भनियो। तर, अर्का डाक्टरले निमोनिया छ भन्दै अस्पतालमै बस्न सुझाए। म अस्पतालमै बसेँ। दुई दिन खासै केयर गरेनन्, साधारण औषधि दिएरै राखे।

दुई दिनपछि रिजल्ट आयो। अनि डाक्टरले ‘सरी’ भन्दै कोभिड १९ पोजिटिभ भएको जानकारी दिए। अनि बल्ल उपचार शुरु भयो। ६ दिन अस्पताल बसेँ। अनि निको भएर घर फर्केँ। अहिले रेस्टमा छु।

साथीको मृत्यु हुँदा होपलेस

यस्तो बेलामा आत्मबल बलियो बनाउनुपर्ने रहेछ। नकारात्मक सोच्नु नहुने रहेछ। म जसरी पनि बाँच्छु भनेर सोचौं। डाक्टरले पनि उही तरिकाले फोर्स गरेको हुन्छ। निको हुने सम्भावना धेरै हुन्छ। आत्तिनुपर्ने अवस्था देखिँदैन।

हुन त एकदमै कमजोरी फिल हुनेरहेछ। बाँच्ने र मर्ने लेभल परीक्षण हुने रहेछ। मैले चाहिँ धेरै सोचे – मेरो हेल्थ कन्डिसन पनि ठीक थियो। म भर्खर ५० क्रस भएको मान्छे भएकाले मलाई होप थियो, केही हुन्न भन्ने।

एक दिन चाहिँ होपलेस नै भएँ। पोजिटिभ देखिएको दोस्रो दिन फेसबुक खोलेर हेरेँ। नजिकका साथी अनिल लिम्बुको मृत्यु भएछ। जताततै श्रद्धान्जली देखेँ। त्यसपछि त्रासित भएँ। तर, डाक्टर जोडतोडले खटिएका थिए, उपचारमा। त्यसैले आशा मरेन। फेसबुकमा कुनै न कुनै चिज पोस्ट नगरी निद्रा नलाग्नेहरुलाई मेरो सुझाव छ – नकारात्मक चिजहरु सेयर नगर्नुहोला। यसले अस्पतालमा मर्नु न बाँच्नुमा बसेकालाई एकदमै डिमोरलाइज अनुभूति हुनेरहेछ।

अल्कोहल नलिनुहोला

यस्तो बेलामा अल्कोहल नलिनुहोला। यसले इम्युनिटी सिस्टम घटाउने रहेछ। शरीरका नर्भहरु रिल्याक्समा बस्छ। मेरो सल्लाह, यस्तो बेलामा अल्कोहल लिँदै नलिनुस्।

अस्पतालमा भिटामिन सी र बी दिइन्थ्यो। त्यसैगरी एन्टिमलेरिया हाइड्रोक्सिक्लोरोफिन हरेक दिन बिहान ४ बजे दिइन्थ्यो। सुन्तला र कागतीको जुस खाइरहनु भन्थे डाक्टरले। यो त नेपालमा पनि पाइने कुरा नै भइहाल्यो। अदुवा पानीको कुरा, लसुनको कुरा पनि गर्थ्यो। यो पनि राम्रै होला।

इन्फेक्टेडलाई घोप्टो परेर सुत्नु भन्थे डाक्टरले। यसले फोक्सोलाई रिलिफ हुने रहेछ। कोल्टे परेर सुते अर्कोपट्टीको फोक्सोले अर्कोमा भार पार्न सक्छ। उत्तानो नसुत्नु भन्थे डाक्टरले।

रोग नलुकाउनुहोला

यस अवधिमा केही साथीहरु बिते। विरामी भएको कुरा लुकाएर त्यस्तो भएको जस्तो लाग्छ। उनीहरुको आफन्त नभएर पनि होला। यो चोरीको केसमा प्रहरीले गोली लागेर भएको बिरामीजस्तो होइन। त्यसैले यसमा लजाउनुपर्ने, लुकाउनुपर्ने कुनै कारण छैन।

मैले सेयर गरिरहेँ। परिवारबाट एकदम साथ मिल्यो। त्यसैले म अस्पतालबाट फर्केँ।

परिवारमा सेल्फ डिस्ट्यान्सिङमा बस्न निकै गाह्रो हुन्छ। तर सँगै टाँसिएर नबसौं। मानौं ६ जना घरमा हो भने मास्क लगाएर बसौं, राम्रै हुन्छ।

सोला हानेको समयमा श्रीमतीले मसाज गरिदिन्थिन्। सेल्फ डिस्ट्यान्स नभए पनि हामी मास्क चाहिँ लगाएर बस्थ्यौं। अस्पतालबाट रिपोर्ट आएपछि अहिले हामी सामाजिक दुरीमै छौं। परिवारको बारेमा डाक्टरलाई सोधेँ। १५ दिनसम्म हेरौं भनेका छन्। सिम्टम देखिएन भने चिन्ता लिनुपर्दैन। अहिले त १५ दिन कटिसक्यो। अहिलेसम्म लक्षण केही देखिएको छैन। त्यसैले खुशी छु।

ज्वरो १०० नाघेपछि रिस्की मान्ने रहेछ, अस्पतालले। त्यसलाई हाइफिभरमा लिइहाल्छ। त्यसैले रोग नलुकाउँ।

कसरी सर्‍यो होला?

म काममै खट्ने। अनलिमिडेट मिटिङ। ज्याकसन हाइटमा अफिस छ। अफिसमा सेनिटाइजर थियो। अरुलाई अवेयर गर्थेँ। धेरै इभेन्टहरु गर्थेँ। कताबाट सर्‍यो, थाहै पाउन सकिनँ।

अब आफू सचेत बन्न चाहिँ सपिङमा जाँदा मास्क लगाउने नै हो। चश्मा लगाउने हो। सके टाउको पनि बेर्ने। बाहिर जाँदा लगाएको लुगा घरमा नलगाउने। तुरुन्तै खोलेर प्याकिङ गर्ने। हातखुट्टा पखाल्ने गरेमा सुरक्षित रहन सकिन्छ।

हरेक चिजको अवधि हुने रहेछ। डब्लुएचओले १४ – १६ दिनको अवधि तोक्नुको कारण कसैको शरीरमा इन्फेक्ट भएको छ भने यो अवधिमा कसैको शरीरले सहन सक्यो भने आफैँ हट्छ कि जस्तो पनि लाग्यो मलाई। त्यसैले त क्वारेन्टाइनमा बस्नु भनेको होला।

लकडाउन छ सबैतिर। सिम्टम देखिहाल्दैमा आत्तिनु हुँदेन। अस्पतालमा बेड पाइँदैन। भेन्टिलेटर सबै सकिएको छ। साधारण ट्रिटमेन्ट चै घरमै गरौं। ज्वरो १०० बढ्यो र सास फेर्न गाह्रो भएमात्र अस्पताल जाऔं।

Leave A Reply

Your email address will not be published.