संक्रमित युवककी पत्नीको रिपोर्ट ‘नेगेटिभ’, तर भाउजुलाई कोरोना सरेपछि परिवार अलमलमा

0

धनगढी। कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र कोरोना पुष्टि भएका ब्यक्तिसंग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोना पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा कोरोना भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

“त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रोग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, कोरोना पुष्टि भएकी महिलाकी जेठानीले भन्नुभयो, “विदेशवाट आइपुगेका देवरलाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

कोरोना पुष्टि भएका युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका व्यक्तिबाट परिवारकै अर्को सदस्यमा कोरोना भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ ।

कोरोना पुष्टि भएका युवक उहाँकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको सं क ्रम ण नहुन पनि सक्ने बताउनुहुन्छ । “कोरोना पुष्टि भएका युवकलाई ति महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको स ङ्क्र म ण भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

कोरोना पुष्टि भएका चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले कोरोना पुष्टि भएकालाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । “आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उहाँहरुको स्वास्थ्य जाँच गरिरहेका छौँ”, डा कमरले भन्नुभयो, “चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

Leave A Reply

Your email address will not be published.