विश्वरभर डलरको माग बढ्दा नेपाली रुपैयाँ सस्तियो, भारतीय अर्थतन्त्र खस्किँदा नेपालमा पनि प्रभाव

0

काठमाडाैँ, २८ चैत । कोरोना भाइरसका कारण अहिले विश्व बजारमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आफ्नो लगानी सुरक्षित गर्न डलरको जोहो गर्नपट्टि लागेका छन् । डलरको माग बढेपछि अमेरिकी डलरको मूल्यमा उच्च वृद्धि भएको छ । कोरोना भाइरसको विश्वव्यापी संकटले इन्धनको मूल्यमा भारी गिरावट आएसँगै लगानीकर्ताहरूले तेल कम्पनीको शेयर, घितोपत्र र युरोपेली बजारबाट लगानी फिर्ता लैजाने क्रम बढेको छ । र डलर जोहो गर्नाले अमेरिकी डलरमा चाप परेको हो ।

विश्वको शेयर बजारमा आएको गिरावटसँगै कच्चा तेलको मूल्यमा भारी कटौती भएकोे छ । यसैकारण लगानीकर्ताहरूले आफ्नो लगानीलाई डलरमा केन्द्रित गर्न थालेपछि डलर महंगिएको छ भने नेपालजस्ता साना अर्थतन्त्र भएका देशको मूद्रा सस्तो भएको छ ।

भारतीय बैंकहरूबाट अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले विदेशी मुद्रा लैजाने क्रम बढेसँगै आयातका लागि विदेशी मुद्राको चाप पर्न थालेको हो ।

पछिल्लो समय भारतमा लामो समयदेखि जारी रहेको लकडाउन र कोरोनाको प्रकोपले भारतीय बजारबाट पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले आफ्नो लगानी फिर्ता लैजाने क्रम बढेको छ । यससँगै भारतीय रुपैयाको पनि अवमूल्यन भएको छ । भारतीय बैंकहरूबाट अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले विदेशी मुद्रा लैजाने क्रम बढेसँगै आयातका लागि विदेशी मुद्राको चाप पर्न थालेको हो ।

भारतीय अर्थतन्त्रमा आएको मन्दीका कारण अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्न पुगेको छ । भारतमा कोरोनाको प्रकोप बढेको कारणले गर्दा पनि भारतीय अर्थतन्त्रमा थप संकट आउन सक्ने अनुमान गरिएको छ । गत फेब्रुअरी महिनामा ५ प्रतिशतको हाराहारीमा रहेको भारतीय अर्थतन्त्र कोरोनाको कारण थप संकटमा पर्न सक्ने हुँदा भारुको अवमूल्यन अझ बढी हुने अनुमान गरिएको छ ।

अमेरिकी डलरसँग भारुको अवमूल्यन हुँदा नेपाली रुपैयाँलाई प्रभाव पार्ने गर्दछ । विश्व बजारमा पछिल्लोपटक युरोपेली मुलुकमा फैलिएको कोरोना महामारी र सन्त्रासका कारण युरो, पाउण्ड, जापनिज यन, चिनियाँ मुद्रा र भारतीय मुद्रा भारु लगायतका अन्तर्राष्ट्रिय करेन्सीको अवमूल्यन भएको छ ।

नेपाली मुद्राको पनि अहिले अवमूल्यन भइरहेको छ । कोरोनाको प्रभावकै कारण जारी लकडाउनले भारतीय अर्थतन्त्रमा परेको प्रभावको असर नेपाली मुद्रामा परेको देखिन्छ । भारुसँगको स्थिर विनियमदर हुँदा नेपाली मुद्राको पनि अवमूल्यन भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउनुहुन्छ ।

कोरोनाबाट अर्थतन्त्र जोखिममा पर्न सक्ने खतरा बढेसँगै अन्तर्राष्ट्रिय लगानीकर्ताहरू डलरको खरीदमा आर्कषित भएका छन् । र, फलस्वरूप डलरको मूल्य उच्च हुँदा नेपालमा आयातित वस्तुको मूल्य झन महँगो पर्ने भएको छ ।

स्थिर विनिमय दरको असर

कोरोनाको कारण भारतीय अर्थतन्त्रमा आएको भारी गिरावटसँगै नेपालसँगको विनिमय दरमा चाप परेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

सन् १९९२ देखि नेपालको भारतीय मुद्रा भारुसँग स्थिर विनिमयदरको रुपमा प्रति भारु १ सय बराबर १ सय ६० नेपाली रुपैयाँको कायम रहँदै आएको छ । भारुको मूल्य घट्दा स्थिर विनिमय दरकै कारण नेपाली रुपैयाँमा स्वतः अवमूल्यन हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । लामो समयसम्म प्रति अमेरिकी डलर १ सय ८ देखि १० सम्मको हाराहारीमा रहेको थियो । कोरोनाको प्रकोप सुरु हुनुभन्दा अघिसम्म पनि गत महिना प्रतिअमेरिकी डलर १ सय १२ देखि १ सय १४ सम्मको हाराहारीमा विनिमय दर कायम रहेको थियो ।

नेपाल–भारत व्यापार

नेपालको कूल व्यापारको हिस्सा भारतसँग मात्र करिब ७० प्रतिशत रहेको छ । गत आर्थिक वर्ष कूल १२ खर्ब २४ अर्बको व्यापार भएको थियो । भारतबाट ८ खर्ब ९ अर्बको आयात भएको थियो भने नेपालबाट ४६ अर्बको मात्र निर्यात भएको थियो ।

भारतबाट नेपालमा बढी मात्रमा गाडी र गाडीका पार्टस् आयात हुने गरेको छ । आयातको २५ प्रतिशत हिस्सा सवारी साधनको छ । त्यसैगरी २२ प्रतिशत औद्योगिक सामग्री र तिनका कच्चा पदार्थ पनि बढी आयात हुने गरेको छ ।

नेपालको अर्थतन्त्र भारतसँग आश्रित भएको अवस्थामा भारतीय अर्थतन्त्रमा आउन सक्ने थप मन्दी र कोरोनाको प्रभावबाट हुन सक्ने नोक्सानीबाट नेपाल र भारतबीचको व्यापारमा पनि संकट आउन सक्ने अनुमान गरिएको छ ।

भारतबाट आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा १६ प्रतिशत रहेको छ । खाद्यान्नजन्य सामग्रीको आयात १२ प्रतिशत रहेको छ भने अन्यमा औषधी, लत्ता कपडा, केमिकल लगायतका सामग्री पर्दछन् ।

नेपालको अर्थतन्त्र भारतसँग आश्रित भएको अवस्थामा भारतीय अर्थतन्त्रमा आउन सक्ने थप मन्दी र कोरोनाको प्रभावबाट हुन सक्ने नोक्सानीबाट नेपाल र भारतबीचको व्यापारमा पनि संकट आउन सक्ने अनुमान गरिएको छ । भारतमा जारी डकडाउनबाट उत्पन्न समस्याले हुन सक्ने मूल्यवृद्धिले नेपालको आयातित सामग्रीको मूल्यमा समेत थप चाप पर्ने अनुमान गरिएको छ ।

कोरोनाको प्रकोप सुरु हुनुभन्दा अघिसम्म गत महिना एक अमेरिकी डलरको विनिमय दर १ सय ११ देखि १ सय १४ को हाराहारीमा रहेको थियो । भारतमा कोरोनाको प्रकोप बढेसँग अमेरिकी डलर सँगको विनिमयदरमा पनि चाप परेको हो ।

नेपालमा पर्न सक्ने प्रभाव

कोरोनाको प्रकोपबाट नेपालको पर्यटन र निर्यात व्यापार थला परेको हुँदा डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रमा झन बढी समस्या आउने देखिन्छ । अमेरिकी डलरको मूल्यमा भारी वृद्धिका कारण नेपालको निर्माण क्षेत्रमा आवश्यक पर्ने कच्चा पदार्थ, मेसिनरी पार्टस् र औद्योगिक वस्तुको आयात महँगो पर्नेछ । यसका कारण विकास निर्माण अझ बढी खर्चिलो हुने भएको छ ।

सरकारको आयात गर्ने क्षमतामा कमी हुँदा विकास निर्माण प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा धक्का लाग्ने अनुमान गर्न थालिएको छ । रेमिटयान्स घट्दो अवस्थामा हुँदा सरकारले आर्जन गरेको विदेशी मुद्रा घट्ने निश्चित छ ।

त्यसैगरी निर्यात व्यापार खस्कँदो अवस्थामा रहेको र पर्यटन उद्योग थला परिसकेको हुँदा डलरको कमाइ नेपालको लागि निकै चुनौतीपूर्ण हुन सक्छ । पर्यटन र रेमिट्यान्सबाट नेपाललाई प्राप्त भइरहेको विदेशी मुद्रा डलर कमाउन नसक्दा नेपाललाई डलर अब झन महँगो पर्न जानेछ । महँगो डलर किनेर चामल र औषधि आयात गर्ने अवस्था आयो भने नेपाली अर्थतन्त्रमा थप संकट पैदा हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.