कोरोनाले गर्दा मान्छेको दिनहुँ निधन हुदै गएपछि रिमाले दुइ हात जोड्दै भनिन्, ‘पैसा अब दुनियाँमा प्रमुख शक्ति रहेन’

0

गएको दुई हप्तादेखि देश ‘लकडाउन’ मा छ । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले तेस्रो पटकका थप ८ दिन बन्दाबन्दी गर्ने निर्णय गरेको छ । अर्थात्, अब बैशाख ३ गतेसम्म घरभन्दा बाहिर निस्कन पाइने छैन । यस वर्षको विदाई र नयाँ वर्षको स्वागत यसपटक घरभित्रैबाट गर्नुपर्नेछ ।

‘लकडाउन’ को समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा वर्षभरी छायांकन वा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त हुने नेपाली कलाकारहरु गएको दुई हप्तादेखि परिवारसँग समय विताइरहेका छन् । उनीहरुको दैनिकी कसरी वितिरहेको छ भन्ने थाहा पाउन फेसबुक वा इन्स्टाग्राम निहाले पुग्छ । सबै परिवारसँग समय विताउन पाएकोमा खुसी छन् ।

अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा केही वर्षयता घरमा फुर्सदसँग एकदिन पनि बस्न पाएकी थिइनन् । अन्य वर्षको तुलनामा यो वर्ष उनको दौडधुप ज्यादा थियो । वर्षको सुरुवाततिर फिल्म ‘मिस्टर नेपाली’ को छायांकनमा व्यस्त भइन् । त्यसलगत्तै उनले आफ्नै टिम (केकी अधिकारी र विशाल भण्डारी) को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् ।

यो रियालिटी शोको फिनालेको मुखमा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । शो सकिएपछि उनी वर्षभरीको तनाव भुल्न माल्दिभ्स पुगिन् । त्यहाँ उनी स्विमिङ पुलमा रमाएको तस्विरले केही दिन मिडियामा राम्रै स्थान पाए । कतिपयले भने उनको माल्दिभ्स यात्रालाई बेमौसमको रमाइलो भन्दै आलोचना गरे । किनकि, त्यसबेला देशमा कोरोनाको सन्त्रास फैलिएको थियो ।

सरकार लामो दूरीका हवाई उडान बन्द गर्ने तयारीमा रहेको सुइको पाएपछि रातारात नेपाल ओर्लिएकी रीमा त्यसयता भने घरभित्रै कैद छिन् । ‘लकडाउन’ को समयमा उनले फिल्म, सिरिज र पुस्तक पढेर दिन विताइरहेकी छन् । उनले सामाजिक सञ्जालको माध्यमबाट कोरोना सम्बन्धि सचेतना पनि फैलाइरहेकी छन् । यो समयमा सामाजिक दूरी कायम गर्न उनको अपिल छ ।

यसबीच, अभिनेत्री रीमाले बुधवार फेसबुकमा दुई हात जोडेको आफ्नो एक तस्विर साझेदार गर्दै कोरोनाको यो महामारी चाँडै समाप्त हुने विश्वास व्यक्त गरेकी छन् । उनले अब दुनियाँमा पैसा प्रमुख शक्ति नरहेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘दुनियाँ शान्त छ । हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्यप्रति जागरूक छौं । व्यस्त तालिका विश्राममा बदलिएको छ ।’

उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूडलाई घरमा पाकेको खानेकुराले प्रतिस्थापन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् । पैसा अब संसारमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिरहेको उनको भनाई छ । अहिले एकअर्कासँग कुरा गर्ने र मुस्कुराउने समय रहेको बताउँदै उनले सुरक्षित र सकारात्मक रहन पनि अपिल गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.