लकडाउनको बेवास्ता: बजारमा उर्लिए उपभोक्ता

0

दाङ। सरकारले कोरोना संक्रमणको प्रकोप फैलन नदिनका लागि लकडाउनको घोषणा गरेको शुक्रबार १८ औं दिन भएको छ । तर सरकारले घोषणा गरेको लकडाउनबीच नै शुक्रवार तुलसीपुर बजारमा भने नागरिकको बाक्लो भीड देखिएको छ । उपभोग्य सामानको आपूर्तिमा सहज होस् भन्नका लागि स्थानीय प्रशासनले हप्ताको ३ दिन बिहान ६ देखि ९ बजे सम्म बजार खोल्ने अनुमति दिएको हो । तर बजारमा नागरिकहरुको बाक्लो र अब्यवस्थित भएकाले लकडाउनको उल्लङ्घन भएको स्थानीयवासीको निष्कर्ष छ ।

बजारमा नागरिकहरुको मेला लागे जस्तो गरी सामानहरु किन्न आउँदा आफुलाई त्रास भएको तुलसीपुरका देबेन्द्र केसीले बताउनुभयो । संक्रमणको प्रकोप अझै उस्तै छ, तर पनि बजारमा भीड देखिनुले थप संक्रमणको सम्भावना बढाएको उहाँको भनाई छ । शुक्रवार तुलसीपुर बजारमा मान्छेको बाक्लो भीड देख्दा लकडाउन खुलेको जस्तो आभाष भएको तुलसीपुर ७ का बिमल गौतमले बताउनुभयो । उहाँले यस्तो भीडभाड हुन नदिन सबै मिलेर रोक्नु पर्ने बताउनुभयो ।

त्यसैगरी स्थानीय हरि केसीले दैनिक सीमित समयमात्र बजार खोल्नु उपयुक्त भएको बताउनुभयो । उहाँले हप्तामा ३ दिन खोल्दा धेरै भीडभाड हुने गरेको र धेरै भीडभाड हुदाँ झन त्रास बढेको पनि बताउनुभयो । तुलसीपुरका विभिन्न चोकहरुमा खुल्ला रुपमा बेच्न राखिएका तरकारीहरु किन्न नागरिकहरुको भीडभाड देखिन्थ्यो ।

त्यस्तै पसलहरुमा उपभोक्ताहरुको भीड उस्तै थियो भने सामाजिक दूरीको समेत पालना नभएपछि नागरिकहरु थप त्रसित बनेका थिए । यता स्थानीय प्रशासनले भने कोरोना संक्रमणबाट बच्नको लागि नागरिकहरुलाई लकडाउन पूर्णरुपले पालना गर्न आग्रह गर्दै आएको छ । जिल्लामा प्रहरीले प्रत्येक दिन लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कारबाही समेत गर्ने गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्र डम्मरपालले बिहानको समयमा भीडभाड देखिएको हुदाँ आफुहरु नागरिकलाई घर भित्र बस्न बारम्बार अनुरोध गरेको बताउनुभयो । उहाँले हप्तामा ३ दिन अति आवश्यक पसलहरु खोल्दा बजारमा नागरिकहरुको भीडभाड बढी भएको बताउनुभयो । उहाँले गाउँ गाउँसम्म खाद्यान्न पु¥याउने ब्यबस्था मिलाउन उपमहानगरपालिका र उद्योग बाणिज्य संघको सिफारिसमा आजैदेखि पहल थालिएको समेत बताउनुभयो ।

दाङमा स्थानीय प्रशासनले हप्ताको ३ दिन आइतबार, मंगलबार र शुक्रबार अति आवश्यक बस्तु किनमेलको लागि विहान ६ देखि ९ बजे सम्म खोल्न दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.