अमेरिकामा कोरोनाबाट एकै दिन २ हजारको मृत्यु, संक्रमित संख्या ५ लाख नाघ्यो

0

काठमाडौँ, २९ चैत । कोरोना भाइरस (कोभिड १९) महामारीको नयाँ केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । शुक्रबार अमेरिकामा एकैदिन हालसम्मकै सर्वाधिक २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण १८ हजार ७१९ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये पछिल्लो २४ घण्टा (शुक्रबार) मात्र २ हजार ३७ जनाको मृत्यु कोरोनाका कारण भएको हो । साथै २७ हजार २३९ जना भने पूर्ण रूपमा निकाे समेत भइसकेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कुल संक्रमित ५ लाख २ हजार ४९ पुगेको छ । जसमध्ये ३३ हजार ४८३ जना नयाँ संक्रमित शुक्रबार मात्र फेला परेका हुन् ।

बिहीबार अमेरिकामा एकैदिन काेराेनाबाट मर्नेकाे संख्या १९ सय थियाे । पछिल्ला तीन दिनमा लगातार प्रतिदिन १९ सयमा काेराेनाबाट मृत्यु हुँदै अाएकाे थियाे । तर शुक्रबार याे संख्या बढेर २ हजार नाघेकाे हाे । बिहीबार पनि नयाँ संक्रमितको संख्या ३३ हजार ५३६ ले बढेको थियाे ।

काेराेनाका कारण अमेरकामा सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै ७ हजार ८४४ काे मृत्यु भएकाे छ । त्यहाँ शुक्रबार मात्र ७७७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमित संख्या पनि अमेरिकाभरिकै सर्वाधिक बढी १ लाख ७२ हजार ३५८ पुगेकाे छ ।

त्यसपछि बढी मृत्यु र संक्रमित हुने राज्य न्यूजर्सी रहेकाे छ । त्यहाँ अहिलेसम्म ५४ हजार ५८८ काेराेना संक्रमित भेटिएकाेमा १ हजार ९३२ काे मृत्यु भइसकेकाे छ । अर्काे मिचिगन राज्यमा २२ हजार ७८३ काेराेनाका बिरामी भेटिएका छन् भने १ हजार २८१ काे मृत्यु भइसकेकाे छ ।

यससँगै अमेरिकामा दैनिक सरदर २ हजारको ज्यान जान थालेपछि भाइरसको रोकथाम र नियन्त्रणसँगै शव व्यवस्थापन पनि चुनौतीपूर्ण बनेकाे छ ।

अमेरिकी अधिकारीहरुका अनुसार शवगृहमा अत्याधिक धेरै संख्यामा शव आउने गरेको छ । त्यसमा शव गृहले भार धान्न नसकिरहेको अवस्स्था छ । अमेरिकाका सबैजसो अस्पताल, स्वास्थ्य प्रणाली, सबैतिरबाट शवको लाइन मात्रै आउने गरेको र व्यवस्थापनमा कठिनाइ भएकाे बताइएकाे छ ।

Leave A Reply

Your email address will not be published.