कुलमानको आग्रह : ग्यासको लाइनमा नबस्नुहोस, बिजुली प्रयोग गर्नुहोस्

0

काठमाण्डाै – कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ । सामान्य अवस्थामा भन्दा धेरै परिमाणमा ग्यास आयात भैइरहे पनि बजारमा ग्यास पाइन छाडेको छ । नागरिकले घर घरमा सिलिन्डर थुपारिरहेका छन् । मासिक ४३ हजार टन ग्यास खपत हुने गरेकोमा अहिले निगमले मासिक ४५ हजार टन ग्यास आयात गर्दा पनि बजारमा अभाव देखिएको छ । आयल निगम र ग्यास उद्योग संघले ग्यास नथुपार्न आग्रह गरेपनि उपभोक्ता भने ग्यासको लाइनबाट पछि हटेका छैनन् ।

ग्यास सहज रुपमा उपलब्ध हुने र यसको विकल्प पनि रहेको सरकारले जनाएको छ । खासगरी नाकाबन्दीका बेला ग्यासको अभाव रहेको र बिजुली पनि अनियमित भएको सम्झेर उपभोक्ता आत्तिएको तर अहिले ग्यास नभए पनि बिजुली नियमित भैरहेकाले नआत्तिन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

ग्यासको लाइनमा नबस्नुस्, बिजुली उपयोग गर्नुहोस : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गर्नुभएको छ । उहाँले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन पनि आग्रह गर्नुभएको छ । अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको पनि दावी गर्नुभयो ।

‘अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो किनेर खाना पकाएमा उत्तम हुन्छ, हामीले अहिले बिजुली नियमित बनाएका छौं, लोडसेडिङ छैन उपभोक्ता ग्यासको लाइनमा नबसेकै राम्रो हुन्छ ।’ घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो ।

उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङले बताउनुभयो । प्राधिकरणले ट्रान्सफर्मर, प्रसारणलाइन लगायतका संरचना मर्मत र विस्तार गरेकाले बिजुली अनियमित हुने सम्भावना नरहेको पनि दावी गर्नुभयो ।
अहिले बिजुलीको माग अधिकतम १३ सय मेगावाटसम्म पुगेको छ । प्राधिकरणले अत्याधिक माग हुने समय अर्थात पिक आवरमा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।

४ हजारमै इन्डक्सन चुल्हो बेचिरहेको छ खाद्य व्यवस्था कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि ४ हजार रुपैयाँमै विद्युतीय चुल्हो अर्थात इन्डक्सन चुल्हो बिक्री वितरण गरिहेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि चीनले नेपाललाई ११ हजार थान इन्डक्सन चुल्हो उपहार दिएको थियो । तत्कालीन समयमा कम्पनीले १२ हजार रुपैयाँ मूल्य राखेपछि चुल्हो बिक्री भएको थिएन । अहिले कम्पनीले मूल्य घटाएर ४ हजार रुपैयाँ कायम गरेको छ ।

Leave A Reply

Your email address will not be published.