नेपालमा हालसम्म ३ हजार ५२५ को कोरोना परीक्षण, ९ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ

0

काठमाडौँ, २९ चैत । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस परीक्षणको दायरा बढाइएको छ । शुक्रबारसम्ममा नेपालभरि कुल ३ हजार ५२५ जनाको कोरोना परिक्षण गरिएको छ । तीमध्ये हालसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पछिल्लो एक सातामा परीक्षण गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिलेसम्म परीक्षण गरिएका कुल संख्यामा ३ हजार ५१६ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा मात्र ६३० जनामा परीक्षण गरिएको र सबैकाे रिपाेर्ट नेगेटिभ देखिएकाे मन्त्रालयकाे दाबी छ । यसैगरी ८ सयभन्दा बढी नमूनाहरू परीक्षणको क्रममा रहेकाे छ ।

मन्त्रालयका अनुसार हाल कोरोना अाशंका गरिएका १२५ जनालाई आइसोलेसनमा राखिएको छ । हाल नेपालभरि ८ हजार ६६० जना क्वारेन्टाइनमा रहेकाे मन्त्रालयले जनाएकाे छ छ ।

कोरोना संक्रमित ९ मध्ये ८ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ । १ जना भने दुई महिना अगाडि नै निको भइसकेका थिए ।

कहाँ कहाँ भइरहेछ परीक्षण ?

नेपालमा केही दिनअघिसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण हुँदै आएको थियो । तर सरकारले पछिल्लो समय परीक्षण उपकरण भित्र्याएर प्रादेशिक स्तरमा समेत परीक्षको व्यवस्था मिलाएको छ ।

काेराेना परीक्षणका लागि हाल संघ सरकारले प्रत्येक प्रदेशमा ५-५ हजार द्रूत परीक्षण किट पठाइसकेकाे छ । यससँगै काेराेना संक्रमित देखिएका बाग्लुङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा व्यापकर द्रूत परीक्षण गरिँदै छ ।

हाल काठमाडौँबाहिर नौ स्थानबाट कोरोना भाइरस परीक्षण भइरहेको छ । जसको सूची तल छ-

राष्ट्रिय चरा रोग अनुसन्धान प्रयोगशाला, भरतपुर, चितवन

जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा

धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेपलान्चोक

सेती अञ्चल अस्पताल, धनगढी, कैलाली

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की

‘भेक्टर बोर्न’ रोग अनुसन्धान र प्रशिक्षण केन्द्र, हेटौडा, मकवानपुर

राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र, ओमसाटिया, रूपन्देही

बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरान, सुनसरी

मध्य पश्चिम क्षेत्रीय अस्पताल, वीरेन्द्रनगर, सुर्खेत

Leave A Reply

Your email address will not be published.