काठमाडौंबाट पैदलै बर्दिया हिँडेका मजदूरलाई रूपन्देहीबाट मेयरले व्यवस्था गरिदिए डिलक्स बस

0

काठमाडौं। बर्दिया जानका लागि काठमाडौंदेखि पैदल यात्रा गरी आएका ७५ जना मजदूरलाई रूपन्देहीको सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरी घरतर्फ पठाइदिएको छ । पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदूरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले डिलक्स बसको व्यवस्था गरी घरतर्फ पठाएको हो ।

शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म पुर्‍याउन जिम्मा लिएका हुन् । उनीहरूले आइतबार दिउँसो घरतर्फ लागे । यसका अलावा रूपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रूपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

उनले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको हो । कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलवस्तु वाणगंगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई घर पठाइएको नगरपालिकाले जनाएको छ। शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरूलाई सैनामैना वडा नं. १ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित बस्ने व्यवस्था मिलाइएको थियो ।

चिकित्सालयमा प्रवेश गर्नुपूर्व उनीहरू सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरीक्षक हेमराज पन्थीले जानकारी गराए । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ। लकडाउन भएसँगै सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.