नयाँ वर्षको शुभकामना : यस नयाँ बिहानीमा टेकेर हामी गरौँ आशाको सञ्चार !

0

काठमाडौं, १ बैशाख । हरेक वर्षको नयाँ दिनमा पात्रो फेरिँदाको उत्साह र उमंग सबैमा विशेष हुन्थ्यो ।शुभकामनाका तरंगहरुले सबैको मुहारमा मुस्कान छर्दै त्यो मुस्कानसंगै सबैमा नविन विचार, नुतन सोच र फरक प्रतिबद्धताहरु व्यक्त हुन्थे ।

तर अवस्था यो वर्ष त्यस्तो रहेन । मात्र पात्रो फेरियो, तर सबैका शैलीहरु घरभित्रै कैद भएका छन् । मन्दिरका घण्टी बजाउनेदेखि आकर्षक स्थलहरुमा पुगेर रमाइलो गर्नेहरु सबै घरभित्रको पिञ्जडामा थुनिनु पर्दा मन्दिरदेखि लिएर सबै पर्यटकीय स्थलहरु सुनसान बनेका छन् ।

विक्रम सम्वत २०७७ को स्वागत सम्भवत: इतिहासमा नै पहिलो पटक नेपालीहरुले यसरी निरीहतापूवर्क गरिरहेका छन् , जुन सम्झन नभई विर्सनलायक रहनेछ । तर सबैमा आशाको एउटा दियो भने जलिरहेको छ , ०७६ को अन्तिम तिर आएको यो निराशा ७७ मा चाँडै बढारिएर जानेछ ।

हुन पनि विश्वभरका मानिसरुपी प्राणीमाथि आइलागेको यो महासंकटले नेपाली जनता अछुतो रहने कुरै भएन । परिस्थिति नफेरिएको भए हामी भ्रमण बर्ष ट्वान्टी ट्वान्टीमा मग्न बनेर विदेशी पाहुनाहरुको स्वागत गरिरहेको हुन्थ्यौं अतिथि देवो भव: भन्दै । तर परिस्थिति पल्टिदा न आकाशमा विमान उडेका छन्, नत सडकमा गाडी नै गुडेका छन् । कस्तो विचित्र परिस्थिति !

हुनत विश्वमा यस्तो अवस्था समय समयमा नआएको होइन । तर मानव जातिले ती अवस्थाहरुबाट पाठ सिक्न नसक्दा दुर्भाग्य दोहोरिने क्रम जारी रहेको हो । जलवायु परिर्वतनको कारण नेपालको जस्तो मुलुकले विना गल्ती सजाय भोगिरहेको छ । पर्यावरणीय संकट विश्वका लागि महंगो पर्नेछ ।

सेता बनेर चम्किरहने नेपालका हिमालहरुमा कालो पत्थर देखिन थालेको छ । नेपालको जैविक विविधता अनौठा परिवर्तनहरु देखिन थालेका छन् । वर्तमानमा आएको संकटमा पनि नेपालीले विना गल्ती अर्को सजायको शिकार बनिरहनु परिरहेको छ । संक्रमित एक जना स्थानीय स्तरमा भएपनि वर्तमान संकटका अन्य विऊ विदेशकमा नै रोपिएका हुन् , जुन थपिदो छ ।

संकटमा नेपालीको परिचय

संकटमा नेपालीले आफ्नो परिचय दिन्छ भन्ने कुराको भने यसपटक पनि पुष्टि भएको छ । कोरोना भाइरस कोभिड १९ ले विश्वमा महामारीको रुप लिंदा नेपाल समयमा नै सचेत बन्न सफल भयो र यो सचेतता अझै आवश्यक छ पनि । महामारीबाट बचाउन नेपाल सरकारले लिएको नीतिको अक्षरस अनुशरण गरेर नेपाली जनता भोक सहेर अनशासनमा बसेका छन ।

यस्तो वेला अस्पतालमा चिकित्सकहरु कुनै भय नमानी अहोरात्र खटिरहेका छन् । गरीबको मुखमा माँड नलाग्ने अवस्था देखिएपछि सहयोगी मनहरुले देशभर नै सार्वजनिक स्थानहरुलाई चुल्हो र भान्सा बनाएका छन् । सीमामा गस्ती गर्न सुरक्षाकर्मीलाई साथ दिन हजारौ युवाहरु २४ सै घण्टा खटिएका छन् ।

अनुशासनका लक्ष्मण रेखाहरु गाउँगाउँमा शहरशहर र टोलटोलमा कोरिएका छन् सुरक्षित भोलिका दिनहरुका लागि । बरु भोक सहुँला तर रोग बोक्नु नपरोस यही वाक्यहरु फुटिरहेका छन अहिले आम नेपालीको ओठहरुमा । हुन पनि पुर्खाले भनेकै थिए नि- ऋण लागोस् दीन (रोग) नलागोस् भनेर ।

आशा र उज्यालोका संकेतहरू

नेपाल र नेपालीले कोरोना भाइरसविरुद्धको लडाई जिते पहिलो श्रेय नेपाली चिकित्साजगतलाई जाने निश्चित छ । र , यसो भएमा सदैव हेपिएको नेपाली चिकित्सा जगतले नयाँ उचाई पाउने पक्का छ । अर्को सुखद पक्ष भनेको आम नेपालीमा देखिएको सरसफाईप्रतिको चेतना हो ।

युनिसेफको तथ्यांकमा अझै पनि ५० प्रतिशत भन्दा बढी नेपालीले साबुन पानीले हात धुदैनन भन्ने कहाली लिपिबद्ध गरिएको छ तर अहिले सरसफाईप्रति शहर हुँदै ग्रामीण क्षेत्रमा समेत देखिएको चेतनाले भोलिको सफा र स्वच्छ नेपालको परिकल्पना गर्न गाह्रो पर्दैन नै । त्यसमाथि यही अवसरमा गाउँगाउँमा पुुगेको स्वास्थ्य सम्बन्धि नयाँ प्रविधिले अब ग्रामीण क्षेत्र स्वास्थ्यको पहुँचबाट टाढा नरहेको आशा पनि गर्न सकिन्छ ।

अर्को एउटा सुखद पक्ष भनेको आम नेपालीले यतिखेर भुल्न चाहेको राजनीति वादको खेल पनि हो । सबै एकढिक्का बनेर मात्र देश र देशवासीको हितमा होमिएका छन् । यस्ले राष्ट्रियता र स्वाधीनताको सवालमा एउटा इट थप्ने पक्का छ ।

यता काठमाडौं उपत्यका लगायत देशभरका धेरै सडकहरु सफा र चिल्लो बनाइएको छ । धेरै नेपालीले लकडाउन पछि पक्कै पनि धुलो मुक्त सडकमा आफ्नो पाइला राख्न पाउने सम्भावना बढ्दो छ ।

अब आउने संकटमा पनि एक

कोरोना भाइरसको आतंकले विश्वको अर्थव्यवस्था चौपट पार्दा नेपाल जस्तो विकासशील मुलुक पक्कै अछुतो रहने छैन । त्यसमाथि नेपालले यसपछिका दिनमा धेरै संकटहरुको सामना गर्नु पर्ने निश्चित छ । धेरै पक्ष अस्तव्यस्त हुन सक्ने सम्भावना प्रबल छ ।

अनिकाल र बेरोजगारी बढ्ने संकेतहरु चँुलिदो छ, विदेशिएका धेरै नेपाली घर फर्कने अवस्था पनि प्रबल बन्दो छ । यस्ता संकटप्रति आम नेपाली धैर्यवान रहेर समग्र मुलुक र मुकलवासीको हितमा खातिर नै समर्पित हुन जरुरी छ । र , नयाँ बर्ष २०७७ ले त्यही भावना आम नेपालीमा जागृत गराउन सकोस भन्ने कामना सबैले गरौ पनि । र , यो महामारी अवसर झै बनोस् पनि ।

सही सूचना दिँदै खबरदारी गराउने दायित्व बोकेको सञ्चार माध्यमले भोलिको दिनमा पक्कै पनि यही भूमिकामा आफुलाई उभ्याउने छन नै र हामो दायित्व पनि त्यही हुने छ । अहिलेको विषम परिस्थितिमा पनि हामीले यही भूमिका खेलिरहेका छौ र हाम्रो निरन्तरता देश र देशवासको लागि नै समर्पित हुने नै छ ।

नयाँ बर्ष २०७७ मा हामी अझै गहन र जिम्मेवारीपूर्ण भूमिका खेल्न प्रतिबद्ध रहने छौ । यो अवसरमा न्यूज २४ परिवार हाम्रा समस्त पाठक/दर्शक, आम नेपाली जनता, शुभेच्छुक, विज्ञापनदाता, केबुल प्रदायक संस्थाप्रति हार्दिक शुभकामना व्यक्त गर्दै सबैको उन्नति प्रगतिको कामना गर्दछ । सबैको शुभ होस् र सुखद रहोस् सबैको ।

Leave A Reply

Your email address will not be published.