सबै अस्पतालले कोरोनाका लागि ५० प्रतिशत बेड अनिवार्य छुट्याउनु पर्ने

0

काठमाडौं : अब सबै अस्पतालले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने भएको छ।

सरकारले यसअघि गरेको निर्णय परिवर्तन गर्दै निजी, सहकारी, सामुदायिक, मेडिकल कलेज र सबै सरकारी अस्पताललाई कोरोनाको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य गर्न निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ५० प्रतिशत बेडमा आईसीयूसमेत हुनुपर्ने छ। यसअघि सरकारले निजी, सहकारी र सामुदायिक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय गरेको थियो। यसलाई परिवर्तन गर्दै सरकारले नयाँ निर्णय गरेको हो।

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)
२४ घण्टामा २९ सय ४२ संक्रमित थपिए : १२ जनाको मृत्यु
उपत्यकामा थपिए १६ सय ९८ जना कोरोना संक्रमित
कोरोनाबाट बर्दियामा ४२ वर्षीय पुरुषको मृत्यु
‘अस्पताल व्यवस्थापनको अहिलेको व्यवस्था अनुसार निजी, सहकारी र सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या कोभिड–१९ का लागि छुट्याउनुपर्ने निर्णय भएकोमा सो निर्णय परिवर्तन गरी अब सबै निजी, सहकारी, सामुदायिक अस्पताल, सरकारी अस्पताल तथा मेडिक कलेजहरुलाई कम्तिमा ५० प्रतिशत सबै किसिमका शैय्या आईसीयू लगायतका पूर्वाधार कोभिड-१९ को व्यवस्थापनका लागि छुट्टाउनुपर्नै निर्णय भएको छ’, प्रवक्ता गौतमले भने।

पछिल्लो २४ घण्टामा नेपालमा २९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १२ लाख ८३ हजार ३५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र आइतबार १६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्र १४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरका १३० संक्रमित थपिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३३ रहेका छन् भने होम आइसोलेशनमा २६ हजार ४०८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ८३१ जना छन्।

आइतबार २३ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार १६६ पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव सात प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् । अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन ।

मन्त्रालयका अनुसार अहिले आईसीयू ३०१ र भेन्टिलेटर ६६ जनाको उपचार भइराखेको छ ।

Leave A Reply

Your email address will not be published.