यस्तो थियो बिनोद चौधरी र राजपरिवारका धीरेन्द्र शाहको साझेदारी

0

०४६ साल अघि तत्कालीन राजाहरुको सकृय नेतृत्वमा आधारित पंचायती व्यवस्थामा पंच नेताहरुलाई दुई तिहाई बहुमतको दरकार नै थिएन। त्यतिबेलाको बहुमत लाठीमुंग्री अनि जेलनेलबाट निर्धारित हुन्थ्यो। तैपनि, पंचायती तानाशाही ढल्यो। त्यो हुकुमी शासन ढाल्ने ३० बर्षको आरोह अवरोह नेपाली राजनीतिक ईतिहासमा अंकित छ।

पंचायती शासन टिकाउन बामपन्थीहरुको प्रत्यक्ष अप्रत्यक्ष भूमिका थियो। डा। केशरजंग रायमाझी देखि कमलराज रेग्मीसम्म यसको दृष्टान्त हुन्। ०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाका हिमायती प्रजातन्त्रवादीहरु हार्नुमा दरवार र बामपन्थी गठबन्धनको भूमिका कस्तो थियो, यसको उदाहरण कुनैबेलाका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको निजामति जीवनमा आएको द्रूत प्रगति हो।

बीपी कोईरालाको नेतृत्वमा बहुदलवादी शक्तिहरु एकजुट हुँदैथिए। मनमोहन अधिकारी देखि विष्णुबहादुर मानन्धर जस्ता बामपन्थी नेताहरुको नेतृत्वमा रहेको झीनामसिना कम्युनिष्ट पार्टीहरु समेत बहुदलको पक्षमा थिए। तर तत्कालीन नेकपा (माले) ‘जनमत संग्रह घोका हो’ भन्दै चुनाव भाँड्ने खेलोमा उत्रियो। त्यतिबेलाका पंचायती प्रधानमन्त्री सूर्यबहादुर थापालाई पंचायती व्यवस्थाको समर्थनमा ‘जे पनि गर्ने’ अधिकार प्राप्त थियो। उनले जंगल सखाप पारे। त्यो बन फाँडने ठेक्का अहिलेका एमाले नेताहरुका शुभचिन्तकले प्राप्त गरे। सूर्यबहादुर थापाले अर्को चाल खेले। उनले बामपन्थी पृष्ठभूमिका बिद्यार्थीहरुलाई एकाएक निजामति सेवामा भर्ना गरिदिए। हजारौं बामपन्थीहरु तत्कालीन श्री ५ को सरकारमा भर्ना भए।

सूर्यनाथ उपाध्याय तीमध्ये एक थिए। पछि अरु धेरै महालेखा परिक्षक भए। सर्वोच्च अदालतका न्यायाधीश भए। मुख्य सचिव भए। सूर्यबहादुर थापाले दरवारको साखुल्ले हुन चालेको यो तिकडमले नेपाली प्रशासनयन्त्रलाई बामपन्थी त बनाउन सकेन, तर अवसरवादी पक्कै बनायो। ०४६ साल अघिका पञ्च नेताहरुहरुलाई आफ्नो स्वाभिमानको तिलाञ्जली दिएर दरवारको ईशारामा मुख थुनेर हावामा हात हल्लाएको भरमा लाभैलाभ थियो। दरवारको ईशारामा नाचुन्जेल उनीहरुलाई भ्रष्टाचारको आरोप लाग्ने सम्भावना न्यून थियो।

दरवारिया ब्यापार : आर्थिक लेनदेन दरवारबाट हुन्थ्यो। दरवार आफंै विभाजित थियो। तत्कालीन रानी ऐश्वर्य दम्भी मात्र होईन,‘शैचालयमा खसेको पैसा दाँतले टिप्ने’ खालकी रानी थिईन्। एकजना बरिष्ट सैनिक अधिकारीले सुपारीटार ब्यारेकमा मदिरापान गर्दै मसँग यो कुराको खुलासा गरेका थिए। उनी कुनैबेला ऐश्वर्यको अङ्गरक्षक थिए। तर कुनैदिन पानी परेको बेला मौकामा छाता ओढाउन नसक्दा उनको सरुवा भयो। उनको अनुभव थियो, राजा बीरेन्द्र मूर्ख त थिएनन् , तर सोझा पक्कै थिए।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र रानी ऐश्वर्यको व्यापारिक स्वार्थ एक ठाउँमा थियो। तर कान्छा अधिराजकुमार धीरेन्द्रको मनमत्त व्यवहारले ऐश्वर्यलाई कूपित तुल्याएको थियो। बीरेन्द्र, ज्ञानेन्द्र अनि बीरेन्द्रको दाजुभाई खलकले एकाघरको तीन जना छोरीहरु बिहे गरेका थिए। बीरेन्द्र बेला मौकामा ऐश्वर्यलाई छोडेर नागार्जुन दरवारमा रसरंग गर्न जान्थे। तर आफ्नी बाउले नानी खेलाएको संस्कारमा हुर्किएकी ऐश्वर्यले यी‘झीनामसिना’कुरामा आँखा चिम्लिदिन्थिइन्। ज्ञानेन्द्र पक्का ब्यापारी थिए। अनि धूर्त पनि। उनी आफ्नो हरेक ब्यापारिक स्वार्थमा ऐश्वर्यलाई साझेदार बनाउँथे।

बीरेन्द्र यस्ता‘झमेला’ मा वास्ता गर्दैनथिए। तर धीरेन्द्रलाई ब्यापार भन्दा बढी केटीमा रुचि थियो। अंग्रेजी राम्रो बोल्ने, तर व्यापारिक चेत नभएको राजकुमार नेपालका त्यतिबेलाका औंलामा गन्न सकिने व्यापारीहरुसँग‘हप्ता’ उठाउँथे। बिनोद चौधरीसँग उनको यसै सन्दर्भमा भेटघाट भयो। चतुर चौधरीले धीरेन्द्रलाई व्यापारिक दाउपेच सिकाउन थाले। उनलाई मन परेका ‘परिकार’आपूर्ति गरिदिए। धीरेन्द्रको व्यापारमा बढ्दो रुचिले ऐश्वर्य र ज्ञानेन्द्रको स्वार्थमा धक्का पुर्यायो।

तर धीरेन्द्र नमिता सुमिता काण्डमा बात लागेका दरवारका ‘ब्ल्याक शीप’ थिए। शुरुमा ऐश्वर्य र ज्ञानेन्द्रले उति वास्ता गरेनन्। तर धीरेन्द्रले बेलायतमा हुँदा भेटेकी एक गोरीलाई बिहे गरेर दरवार नै भित्र्याउने तरखर गरेपछि ऐश्वर्यको मनको बाँध फुट्यो। आफ्नी कान्छी बहिनीमाथि सौता हाल्न लागेको कुरा एउटा गतिलो बहाना भयो। ज्ञानेन्द्र अनि ऐश्वर्यको आँखा लागेको व्यापारिक मुनाफामा बिनोद चौधरी मार्फत धीरेन्द्रले उच्छिट्याउन खोजेको मुनाफा वास्तविक कारण थियो। ऐश्वर्यले राजा बीरेन्द्रको उपस्थितिमा दरवारको एउटा भोजमा कुरा कोट्याईन।

उनको आशय थियो, या धीरेन्द्र आफ्नी बैधानिक श्रीमती प्रेक्षासँग आज्ञाकारी पतिका रुपमा रहुन्। अथवा आफ्नो सम्पूर्ण व्यापारिक स्वार्थ लगायत अधिराजकुमारको पदवी त्यागेर ती बिदेशी महिलासँग लण्डनमा बसुन्। जाँडको सूरमा धीरेन्द्रले आफ्नो पदवी त्यागेर विदेशिने कुरा स्वीकार गरे।

धर्मरिएको व्यवस्था : त्यतिबेला म भर्खर साप्ताहिक विमर्शमा काम गर्न थालेको थिएँ। हरिहर बिरहीले मलाई प्रूफ रिडरको सानो जागीर दिनुभएको थियो। भर्खर एसएलसी पास गरेको थिएँ। तर हरिहर बिरही भन्दा पनि त्यो पत्रिकामा चल्तापुर्जा पदम ठकुराठी थिए। केशवराज पिँडालीको नाममा अखबार दर्ता थियो। उनी स्वाभावत सम्पादक थिए। तर गुह्य कुरो जति पदम ठकुराठी मार्फत आउँथ्यो।

कुनैबेला पंचायत जिताउन साम दाम दण्ड भेद प्रयोग गर्ने सूर्यबहादुर थापा र दरवार बीचको सम्बन्ध चीसो भैसकेको थियो। अचानक धीरेन्द्रले आफ्नो मान पदवी त्यागेर विदेश जाने समाचार अफिसमा आयो। त्यतिबेला हामीले दरवारका कसैका बारेमा पनि ‘हजूर, बक्सियो, ज्युनार भयो, गाथमा आराम छैन’ जस्ता सामन्ती शब्द प्रयोग गरेर समाचार लेख्ने बाध्यता थियो। तर केशवराज पिँडालीले त्यो दिन ज्ञानेन्द्रका बारेमा‘उहाँ विदेश जानुभो’ भन्ने शीर्षक राखेर मुख्य समाचार लेख्नु भयो। त्यो आफैंमा एउटा ईतिहास थियो।

सूर्यबहादुर थापाको मुखपत्र थियो साप्ताहिक बिमर्श। उनलाई ज्ञानेन्द्र अनि ऐश्वर्य मिलेर सताच्युत गरेका थिए। मुद्दा व्यापारिक चलखेलको थियो। धीरेन्द्रलाई विदेश धपाएपछि दरवारले आफ्नो नयाँ रणनीति बनाउन पाईसकेको थिएन। सूर्यबहादुरले दरवारको नाम नलिईकनै ‘भूमिगत गिरोह’ शब्दको आविष्कार गरे। साप्ताहिक विमर्शले त्यो शब्दलाई जनमानसमा पुर्यायो। बहुदलीय व्यवस्था बिरुध्द बामपन्थी र पञ्चहरुको गठजोडको कथा यहाँ शुरु हुन्छ।

सूर्यबहादुरको सूत्र : सूर्यबहादुर थापा बहुदलीय व्यवस्थाका हिमायती थिएनन्। तर आफ्नो पेशाका चतूर खेलाडी उनी बामपन्थीहरुलाई आफ्नो खेमामा राख्न सफल भए। तत्कालीन राष्ट्रिय पंचायत सदस्य पद्मरत्न तुलाधर देखि जागृत भेटवालसम्म सबैले मौकामा सूर्यबहादुर थापालाई साथ दिए। सूर्य बहादुर थापाका परिचरहरु साप्ताहिक विमर्शको अफीसमा कुनै महत्वपूर्ण सूचना लिएर आउँदा सिधै भन्थे, ‘कम्युनिष्टहरुको चिन्ता लिनुपर्दैन। कांग्रेसीहरुलाई ठीक पारे पुग्छ।’

नभन्दै, सूर्यबहादुर थापाले आफ्नो लामो सत्ताको बेला बामपन्थी पृष्ठभूमिका कर्मचारीहरुलाई अदालत देखि अर्थ मन्त्रालयसम्म भर्ना मात्र गरेका थिएनन्, उनको अरु भन्दा सरल र द्रूत गतिले पदोन्नति समेत गरिदिएका थिए। दरवार भित्रको आफ्नो सामरिक सन्तुलन व्यवस्थित गर्न उनी सधंै डा। केशरजंग रायमाझीका साथमा तानाबाना बुन्थे। भूमिगत तत्कालीन नेकपा (माले)का सम्पर्कमा रहने कमलराज रेग्मी र सूर्यबहादुर थापाबीचको सम्बन्धलाई लिएर तत्कालिन ‘रोयल इन्टेलिजेन्स ब्युरो’ले बागदरवारबाट अनुचर खटाएको कुरा पनि मैले साप्ताहिक विमर्शको अफिसमा सुनेको हुँ।

बाम – कांग्रेस एकताको कुरा : त्यतिबेला मनमोहन अधिकारी र विष्णुबहादुर मानन्धर पंचायती व्यवस्था बिरुध्द ‘बाम – कांग्रेस’ एकता हुनुपर्ने कुरामा दिलोज्यान दिएर लागेका थिए। तर भूमिगत एकपा (माले) का सडकमा देखिने अखिलका कार्यकर्ताहरु कलेजको बिद्यार्थी युनियनको चुनावमा पंचायती व्यवस्था समर्थक मण्डलेहरुसँग साँठगाँठ गरेर कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ र मनमोहन–मानन्धर समूहका बिद्यार्थी कार्यकर्तामाथि सांघातिक आक्रमण गर्थे। गिरिजाप्रसाद कोईराला र सूर्यबहादुर थापाबीच कांग्रेस र बामपन्थीलाई मिल्न नदिने एकप्रकारको सम्झौता नै थियो। ०४६ सालमा गणेशमान सिंहको जोडमा बामपन्थीलाई समेत ऐक्यबध्दताको आव्हान नगर्दासम्म थापा – कोईरालाको यो गोप्य समझदारी कायम थियो।

घुसपैठको ईतिहास : नेपाली राजनीतिक पार्टीहरुमा दरवारको घुसपैठ नयाँ कुरा होईन। बीपी कोईरालाको पाला देखिनै दरवारले कांग्रेसमा तुलसी गिरि, विश्वबन्धु थापा र सूर्यप्रसाद उपाध्यायहरुलाई आफ्नो मोहोराको रुपमा प्रयोग गर्यो। बामपन्थी वृत्तमा डा। केशरजंग रायमाझीबाट शुरु भएको यो क्रमलाई कमलराज रेग्मी र नवराज सुवेदीसम्मले कायम राखे। नवराज सुवेदी बामपन्थीका रुपमा प्रकट भएनन्। तर बामपन्थीहरुलाई सरकारी कर्मचारीतन्त्रभित्र पक्षपाषोण गर्न उनको भूमिका सधैं उल्लेख्य रह्यो। धेरै बामपन्थी नेताहरु केवल कांग्रेसी नेताहरुको जासूसी गर्न जेलमा लामो समय ‘राजबन्दी’ का रुपमा रहे। उतिबेला पार्टीहरुभित्र प्रजातान्त्रिक संस्कारको जग बलियो हुन नदिने दरवारको अभिष्ट थियो।

आज समय फेरिएको छ। दरवार अस्तित्वमा छैन। तर दरवारको भूमिका उत्तर र दक्षिणका छिमेकीले लिएका छन्। चीन नेपालमा नियन्त्रित स्थिरता चाहन्छ। दरवार उसको सहयोगी थियो। भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ। नेपाली कांग्रेस उसको सहयोगी थियो। राजतन्त्रको अवसानपछि चीन बामपन्थीहरु मार्फत नेपालमा नियन्त्रित स्थिरता कायम गर्न खोज्दैछ। आफ्नो खुफिया एजेन्सी ‘रअ’ मार्फत नेपालमा सुक्ष्म व्यवस्थापन गर्दागर्दै नेपाली कांग्रेसलाई रसातलमा पुर्याएपछि भारत अहिले आफ्नो नेपाल विदेश नीतिको घाउ आफंै चाटेर बस्न विवश छ।

नेपाली कांग्रेस अनुशासनबिनाको प्रजातन्त्रका कारण सकियो। केपी ओली र पुष्पकमल दाहालको नेकपा (नेकपा) स्वार्थन्धता, माफियाकरण, दम्भ र अहंकारका कारण डुब्नेछ। पहिले दरवारको घुसपैठ थियो, अब बिदेशीको छ। केपी ओली र पुष्पकमल दाहाल मिलेर जानीनजानी नेपालको सम्प्रभुतालाई सम्झौताको चरणमा पुर्याउन निर्दिष्ट मात्र होईन, अभिशप्त छन्। सरकारी हुँकारको ज्वालामा मुलुकको छाला डढेको गन्ध आउँदैछ।

Leave A Reply

Your email address will not be published.