केन्द्रीय बैंकका १०४ जना कर्मचारी कोरोना संक्रमित

0

कात्तिक ३, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक पनि कोरोना महामारीको चपेटाबाट अछुतो हुन सकेन ।

केन्द्रीय बैंकको डेपुटि गभर्नर शिवराज श्रेष्ठदेखि कर्मचारीसम्म गरेर कात्तिक ३ गतेसम्म १०४ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

प्रदेश कार्यालयमा २–३ जना देखिएको बाहेक सबै केन्द्रीय कार्यालयका कर्मचारी संक्रमित भएका हुन् । उक्त संख्यामा कर्मचारी संक्रमित हुँदा आलोपालो गरेकाले नियमित काममा अवरोध नभए पनि कामको गतिमा भने कमी भएको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए ।

कोभिड परीक्षण सकारात्मक देखिएपछि आईसोलेशनमा बसेर अहिले डेपुटि गभर्नर श्रेष्ठसहित ८४ जना कर्मचारी संक्रमण मुक्त भइसकेको राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जानकारी दिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेत दुई पटकसम्म कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले उनले थप सतर्कता अपनाएका थिए ।

सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमन अधिकारीका अनुसार संक्रमित कर्मचारीमध्ये ६२ जना सक्रिय संक्रमित रहेको र कुल संक्रमितमध्ये ९४ जनाको घरका परिवारलाई समेत कोरोना परिक्षण पोजेटिभ देखिएको थियो । तर अहिले यसमध्ये ४२ जना परिवारका सदस्य पनि संक्रमण मुक्त भइसकेका छन् ।

सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट (व्यक्तिगत रुपमा गरिएको बाहेक) १ हजार ५२८ जनामा परीक्षण गरिएको विभागका कार्यकारी निर्देशक सुमन अधिकारीले बताए ।

‘कर्मचारी संक्रमित भएपछि कार्यालय सञ्चालनको नियमित काम सुचारु गर्ने अधिकार सम्बन्धित विभागीय प्रमुखलाई दिएको छ । विभागअनुसार कसैले एक दिन बिराएर, कसैले तीन दिन बिराएर र बैंकिङ सुपरिवेक्षण विभागलेसात दिन बिराएर पालैपालो कार्यालयमा उपस्थित हुने र कार्यालय नआएको दिन घरबाट काम गर्ने व्यवस्था मिलाइएको छ’ उनले भने ।

मुलुकमा कोरोना महामारी शुरु भएदेखि बैंङ सुपरभिजनले स्थलगत सुपरवेक्षणमा नखटाएको र बैंकहरुबाट उपलब्ध तथ्यांकको आधारमा अफलाईन सुपरिवेक्षण गरिरहेको पनि उनले बताए ।

प्रवक्ता डा भट्टले कोभिड संक्रमणले समग्र बैंकिङ क्षेत्र प्रभावित भएको बताउँदै भौतकि दुरी कायम गर्नु परेकाले आलोपालो गरिएको बताए । ‘संक्रमित बढ्दै छन्, चुनौती पनि थपिएको छ । कर्मचारी संक्रमित बढ्दै गर्दा कस्ले काम गर्ने भन्ने मनोवैज्ञानिक प्रभाव पर्न थालेको छ,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.