कपडामा चुइङ्गम टाँसियो भने यसरी सजिलै हटाउन सकिन्छ

0

चुइङ्गम चपाउनु जति आनन्ददायक हुन्छ, त्यसको रस सकिएपछि व्यवस्थापन गर्न त्यति नै झन्झटिलो मानिन्छ । धेरैले चुइङ्गमको रस सकिएपछि बाँकी रहेको छोक्रा जहाँ पायो त्यहीँ फाल्ने या टाँसेर छाडिदिने गर्छन् ।

यस्तो चुइङ्गम कपडामा टाँसिएमा हटाउन भने निकै नै समस्या हुन्छ । जसले गर्दा महँगो मूल्यमा खरिद गरेको पहिरन लगाउनै नपाउने अवस्था उत्पन्न हुन सक्छ । चुइङ्गमलाई कपडाबाट हटाउने तरिका थाहा नहुँदा झनै यस्तो समस्या हुने हो । टाँसिएको चुइङ्गमलाई कपडामा असर नपर्ने गरी हटाउने केही तरिका यस्ता छन् –

हेयर ड्रायरको प्रयोग
चुइङ्गम टाँसिएको कपडालाई हेयर ड्रायरको मद्दतले सजिलै हटाउन सकिन्छ । ड्रायरबाट निस्कने तातो हावाले चुइङ्गमको ग्लु कमजोर बनाइदिन्छ । तर, ड्रायर चलाउँदै गर्दा आफ्नो हात र कपडालाई तातोको जलनबाट भने जोगाउनुपर्छ । सिल्कको कपडामा चुइङ्गम टाँसिएको छ भने यो विधि प्रयोग नगर्नु नै उत्तम हुन्छ ।

लन्ड्री साबुनको प्रयोग
चुइङ्गम लागेको स्थानमा लन्ड्री साबुन प्रयोग गरेर पनि हटाउन सकिन्छ । चुइङ्गम टाँसिएको स्थानमा लन्ड्री साबुन लगाएपछि टुथब्रसको मद्दतले चुइङ्गम लागेको स्थानमा रगड्ने । यसलाई निरन्तरता दिँदा चुइङ्गमको ग्लु कमजोर हुन्छ र कपडा सफा हुन्छ ।

आइरनको प्रयोग
चुइङ्गम लागेको कपडामाथि कार्डबोर्ड राख्ने । त्यसमाथिबाट तातो आइरनले कपडा प्रेस गर्ने । तातो आइरनले गर्दा चुइङ्गमको टाँसिने शक्ति कमजोर बनाइदिन्छ । जसले गर्दा चुइङ्गम कपडाबाट छुट्टिन्छ र कपडा सफा हुन्छ ।

आइस प्याकको प्रयोग
कपडामा लागेको चुइङ्गम हटाउन आइस प्याक पनि उपयोगी हुन्छ । त्यस्तो कपडालाई दुईवटा आइस ब्यागको बीचमा राख्ने । धेरै चिसोले गर्दा चुइङ्गम निकै कडा हुन थाल्छ । निकै कडा भएपछि चुइङ्गम आफैँ कपडाबाट छुट्टिएर खस्छ ।

भिनेगरको प्रयोग
सफा भिनेगरलाई तातो बनाएर चुइङ्गम टाँसिएको स्थानमा रगड्ने । यसो गर्दा पनि सजिलै कपडाबाट चुइङ्गम हटाउन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.