अमेरिकामा सच्चिने अवसर

0

अमेरिकी राष्ट्रपतिका उम्मेदवार पूर्व उपराष्ट्रपति जोसेफ बाइडन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षमता र अनुभव देखिसकेका अमेरिकी जनताको चुनावी रुझान वा मनोभावको विषयमा संसारकै राजनीतिका पण्डितहरूले गरेका भविष्यवाणीमा एकरूपता छैन। राष्ट्रिय जनमत सर्वेक्षणमा बाइडनको करिब १० अंकको अग्रता भए पनि अमेरिकाले मिश्रित र जटिल खालको एउटा विचित्रको निर्वाचन प्रणाली अवलम्बन गरेकाले औसत गणितीय अग्रताले निर्वाचन परिणामको विषयमा स्पष्ट सन्देश दिँदैन। अमेरिकाको राष्ट्रपतीय निर्वाचनको फैसला प्राप्त कुल राष्ट्रिय मतको आधारमा नभएर प्रत्येक राज्यमा खसेका मतको आधारमा गरिन्छ। निर्वाचनको मुखमा यी गणितीय औसतको उतारचढाव हुनसक्ने र यी औसत तथ्यांक नै मिथ्यांक हुनसक्ने सम्भावना पनि एउटा स्थापित तथ्य हो। महामारीको प्रकोप र भौतिक दूरी कायम गर्नुपर्ने अहिलेको बाध्यताले पनि अमेरिकाको यो निर्वाचनमा पारम्परिक रूपमा गरिने वैज्ञानिक सर्वेक्षणहरूको विश्वसनीयता घटेको छ।

महामारीको व्यवस्थापन, बेरोजगारी, नश्लीय घृणाजन्य सामाजिक अपराध र आर्थिक संकुचन यो निर्वाचनका प्रमुख मुद्दाहरूमा रहेका छन्। अमेरिका एक संघीय राष्ट्रको उत्कृष्ट नमुना पनि हो। त्यहाँ प्रत्येक राज्यले जनमतको आधारमा चयन गरेका निर्वाचकद्वारा राष्ट्रपतिको निर्वाचन गरिन्छ। त्यसैले अमेरिकी निर्वाचनको समीक्षा गर्न अमेरिकाका प्रत्येक राज्यका मतदाताको भिन्नाभिन्नै सर्वेक्षण र तिनको भिन्नाभिन्नै समीक्षा गर्नुपर्ने हुन्छ। जातीय विविधता भएका राज्यहरू (जस्तै न्युयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड आदि ) मा पारम्परिक रूपले डेमोक्रेटिक दलको वर्चस्व छ। तुलनात्मक रूपले विविधता थोरै र धार्मिक कट्टरता बढी भएका राज्यहरू (जस्तै ओक्लाहोमा, आर्कान्सा, मिजौरी, आइवा, कान्सास आदि ) मा रिपब्लिकन दलको वर्चस्व रहेको छ। काला नागरिकहरू अमेरिकाको सिभिल राइट्स आन्दोलनपछि डेमोक्रेटिक दलसँग आबद्ध भएका छन् तर कालाहरूको बहुमत भएको एउटा पनि राज्य छैन। तिनको डेमोक्रेटिक दलसँगको आवद्धताले कालाहरूको उल्लेख्य उपस्थिति भएका राज्यहरूमा गोराहरू ध्रुव्रीकृत भई रिपब्लिकनतिर आबद्ध भएका छन्। त्यसैले कालाको संख्या धेरै भएका राज्यहरू जस्तै टेनिसी, लुइजियाना, जर्जिया, मिसिसिप्पी आदिमा सधैँ रिपब्लिकनको वर्चस्व रहँदै आएको छ। अर्थात् कालाहरू धेरै भएका राज्यहरूका निर्वाचक रिपब्लिकन दलले प्राप्त गर्ने गरेको तथ्य छ।

२०१६ को निर्वचनमा डेमोक्रेटिक दलकी प्रत्यासी हिलरी क्लिन्टनले डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गरेको बेला पनि मत सर्वेक्षण गरिएको भन्दा फरक परिणाम प्राप्त भएको थियो। केही स्विंग (अनिश्चित) राज्यमा उनले अपेक्षाकृत मत प्राप्त गर्न सकिनन्। यो निर्वाचन पनि करिब एक दर्जन स्विंग स्टेट (अनिश्चित ) मा केन्द्रित छ। स्विंग राज्यहरूका सर्वेक्षणमा बाइडनको झिनो अग्रता देखिएको छ। त्यहाँ झिनो मतले बाइडनले जितेमा डोनाल्ड ट्रम्पले निर्वाचन परिणामलाई कानुनी संकटमा लैजाने र सर्वोच्च अदालतमार्फत आफ्नो हितमा फैसला गराउनेसम्म ट्रम्पको योजना रहेको कतिपय राजनीतिका विद्वानहरूले लेखेका छन्। जटिल र मिश्रित निर्वाचन प्रणालीमा रहेका ससाना वैधानिक छिद्रहरूलाई ट्रम्पले आफूअनुरूप दुरुपयोग गर्ने व्यापक अनुमान गरिएको छ। सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीशको पूर्तिमा गरिएको हतारो यसैको संकेत हो।

मिनेसोटा, विस्कन्सिन, मिचिगन, ओहाइयो र पेन्सिलभेनिया जस्ता गोराको बाहुल्य भएका स्विंग राज्यहरूका श्वेत वर्चश्ववादी ट्रम्पका भोट बैंक हुन्। त्यस्ता कट्टरवादीको संख्या धेरै नहोला तर त्यहाँका उदारवादीलाई बाइडनले आकर्षित गर्नु पर्नेछ। धेरै आप्रवासी भएको र जातीय रूपले विविध एक प्रमुख स्विंग राज्य फ्लोरिडा हो। यहाँ क्युवा, ग्वाटेमाला र निकारागुवाबाट आएर बसेका आप्रवासीहरू धेरै छन्। कम्युनिस्टप्रति तिनको अरुचि भएको अनुमान गरिन्छ। तिनलाई आकर्षित गर्न ट्रम्पले बाइडन कम्युनिस्ट भएको भन्दै व्यापक प्रचार गर्दै आएका छन्। त्यसैले बाइडनका लागि फ्लोरिडा सुरक्षित छैन। काला र गोरा दुवैको उल्लेख्य उपस्थिति भएका राज्यहरू जर्जिया र नर्थ क्यारोलिनामा अहिले कडा प्रतिस्पर्धा हुने देखिन्छ। रिपब्लिकन दलका पारम्परिक गढ एरिजोना, टेक्सास र आइवा जस्ता राज्यहरूमा अहिले रिपब्लिकनको अग्रता घटेको देखिएको छ। यो ट्रंपको मूर्खताको कारणले भएको हो। ट्रम्पको नेतृत्वमा रिपब्लिकन दल अहिले एकीकृत छैन, यो दल संकटग्रस्त छ। यसको लाभ बाइडनलाई मिल्नेछ।

लोकतन्त्र अमेरिकाको एउटा प्रमुख आकर्षणको केन्द्र हो। एक कुशल लोकतान्त्रिक नेतृत्वले समाजका सम्पूर्ण प्रवृत्तिलाई एकजुट गराउने प्रयास गर्छ तर ट्रम्पले समाजलाई विभाजन गरेर लोकतन्त्र कमजोर बनाउने काम गरेका छन्।
अहिले संसद्को तल्लो सदन कांग्रेसमा डेमोक्रेटिक दलको र माथिल्लो सदन सिनेटमा रिपब्लिकन दलको झिनो बहुमत छ। यो निर्वाचनमा कांग्रेस र सिनेटका केही स्थानमा पनि निर्वाचन हुँदैछ। सर्वोच्च अदालतको न्यायाधीशको मनोनयन प्रकरणले रिपब्लिकन दललाई उत्साहित गरेको होला तर ट्रम्पको अहंकारका कारणले सिनेटको बहुमत गुम्ने खतरा रिपब्लिकन दलसँग छ। अमेरिकाको निर्वाचनमा राष्ट्रपतिमा एउटा दललाई र सिनेटरमा अर्को दललाई मतदान गर्नु स्वाभाविक मानिन्छ। रिपब्लिकनका लागि सिनेट महत्वपूर्ण हो। बाइडनलाई नियन्त्रण गर्न सिनेट आफ्नो नियन्त्रणमा हुनुपर्ने भनेर धेरै रिपब्लिकन नेताले सार्वजनिक रूपमा बोलिसकेका छन्। यो उनीहरूको ट्रम्पलाई त्याग गरेको अभिव्यक्ति हो। रिपब्लिकन दलबाट न्यु जर्सी राज्यका गभर्नर भइसकेका एकजना नेता क्रिस्टिनट डव्हिट्मनले रिपब्लिकन दललाई बचाउन बाइडनलाई जिताउनुपर्ने भनेर फाइनान्सियल टाइम्समा लामो लेख लेखेका छन्। बाराक ओबामासँग राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेका नेता जोन म्याकेनकी पत्नीलगायत रिपब्लिकन दलबाट महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका कतिपय नेताहरूले बाइडनलाई समर्थन गरिसकेका छन्। अमेरिकी लोकतन्त्रमा आपÞmूलाई मन नपरेको व्यक्तिलाई भोट नहाल्दा अन्तर्घाती भएको आरोप लाग्दैन। बाइडनसँग राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गरेका करिब एकदर्जन नेतालाई बाइडनले जनताले तिरेको करद्वारा व्यवस्थापन गर्नुपर्ने पनि छैन। तिनले आफ्नो राजनीतिक व्यवस्थापन आफैं गर्ने छन् अथवा आम जनता झैँ आफ्नै कमाइले बाँच्ने छन्।

ट्रम्पलाई पुनर्निर्वाचित गर्नु नपर्ने थुप्रै कारण स्वयं रिपब्लिकन दलका नेताहरूले नै अमेरिकी जनताका सामु स्पष्ट पारिदिएका छन्। ट्रम्पले चाइनिज भाइरस भनेर जनतामा घृणा पैदा गर्ने र मास्कसमेत नलगाउन जनतालाई प्रोत्साहन गरेका छन्। दुई लाख नागरिकको ज्यान लिएको महामारीबाट उनी आफैं संक्रमित भएर संसारकै सबभन्दा सुविधायुक्त अस्पतालबाट सेवा लिए तर पनि जनतालाई उनले भ्रामक रूपमा यो महामारी चिन्ताजनक नभएको भन्दै आएका छन्। करोडौंले रोजगारी गुमाएका छन्। बेरोजगारी भत्ता बाँडेर सकियो अब अमेरिकामा गरिबी बढ्नेछ। उता ट्रम्पले भने अमेरिकी अर्थतन्त्र मजबुत भएको तर्क दिँदै आएका छन्। सन् २०१६ मा हिलरी क्लिन्टन पूर्व राष्ट्रपतिकी पत्नीको रूपमा ह्वाइट हाउससँग चिरपरिचित भएकीले राजनीतिमा नयाँपन खोज्ने केही अमेरिकनले उनलाई रुचाएका थिएनन्। राजनीतिमा नयाँ भएको त्यसबेला ट्रम्पलाई शंकाको लाभ पनि थियो। कलेज नगएका वृद्धहरूमाझ ट्रम्प त्यसबेला लोकप्रिय थिए। अहिले त्यो वर्गमा ट्रम्पको लोकप्रियता खस्केको छ। अहिले उनलाई शंकाको लाभ मिल्ने देखिन्न।

बाइडनले जिते पनि आर्थिक मन्दी, घरेलु विभाजन, महामारीको लापरबाही आदिले निम्त्याएको संकटबाट उम्किन अमेरिकालाई समय लाग्नेछ। प्रविधिमा चीन अमेरिकाको प्रतिद्वन्दी भइसकेको छ। संसारमा चीनको सैन्य उपस्थिति नभएकाले चीनबाट कसैले आफूलाई खतराको महसुस गरेको छैन (सिवाय ताइवान र केही अन्य छिमेकी )। त्यसैले चीनको प्रभाव विश्वमा बढ्दो छ। आर्थिक रूपले चीन अमेरिकाको निकट प्रतिद्वन्दी भए पनि मानवअधिकार, लोकतन्त्र र वैयक्तिक स्वतन्त्रमा चीनले अमेरिकालाई उछिन्ने अहिलेको पुस्ताका लागि कुनै सम्भावना देखिँदैन तर विश्व बजारको केन्द्रमा रहेको प्रभावशाली चीनसँग अमेरिकाको व्यापार युद्ध भने जारी रहनेछ। रूस, इरान र उत्तर कोरियासँग अमेरिकाको द्वन्द्व चली नै रहनेछ। घरेलु समस्यामा जुधिरहेको अमेरिकाले राजनीति र कूटनीतिमा एक सक्षम र अनुभवी नेतृत्व भने पाउने छ।

मत सर्वेक्षण एक सम्भावना मात्र हो। पंक्तिकारको अनुभवमा पनि केही सम्भावना देखिन्छन्। श्वेत वर्चश्ववादी र धार्मिक कट्टरपन्थीको तुष्टीकरणका लागि झुटो बोल्ने, घृणा फैलाउने र लोकतन्त्रको अपमानसम्म गर्न सक्ने ट्रम्पको शासनलाई सम्भवतः बहुमत अमेरिकी जनताले रुचाएका छैनन्। चार वर्षअघिको निर्वाचनमा भएको गल्ती सच्याउने लोकतान्त्रिक अवसरको सम्भवतः अमेरिकी जनताले प्रतिक्षा गरिरहेका छन्। अग्रिम मतदान खुलेको दुई दिनमा करिब दुई करोडको कीर्तिमानी मतदान हुनु एक उकुसमुकुसको वातावरणबाट उन्मुक्तिको प्रतीक्षामा रहेको सत्ताविरोधी मनोभावको संकेत हो। लोकतन्त्र अमेरिकाको एउटा प्रमुख आकर्षणको केन्द्र हो। एक कुशल लोकतान्त्रिक नेतृत्वले समाजका सम्पूर्ण प्रवृत्तिलाई एकजुट गराउने प्रयास गर्छ तर ट्रम्पले समाजलाई विभाजन गरेर लोकतन्त्र कमजोर बनाउने काम गरेका छन्। लोकतान्त्रिक पद्धतिमा उत्पन्न हुने विवाद र विकृति संसारकै सर्वसत्तावादी नेताहरूका लागि प्रेरणाका स्रोत हुन्। तिनले ट्रम्पबाट कुनै मुर्खतापूर्ण कदमको आशा गरेका छन्। ट्रम्पबाट त्यस्तो कुनै कदम चालिएमा लोकतन्त्रको रक्षार्थ रिपब्लिकन दल एकीकृत हुनेछ र सम्भवतः त्यो एकता बाइडनको पक्षमा उभिने छ।

Leave A Reply

Your email address will not be published.