चीनमा मात्र नभई अब नेपालमा पनि बन्दै ग्रेटवाल

0

तनहुँ । अब ग्रेटवाल हेर्न र ग्रेटवालबाट सुन्दर दृश्य हेर्नकोलागी चीन नै जानु पर्छ भन्ने छैन । फेरी चीन गएर ग्रेटवाल हेर्ने सबैको क्षमताले कहाँ भ्याउन सक्छ र ? चीनमा बनाईएको ग्रेटवाल र ग्रेटवालबाट देखिने मनमोहक दृश्य हेर्नकोलागी अब नेपालकै तनहुँको बन्दिपुरमा गए पुग्छ ।

चीनको झैं विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी तनहुँको बन्दीपुरमा पदमार्ग निर्माण कार्य सुरु भईसकेको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन उद्देश्यसहित निर्माण गरेको पदमार्गले थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडा, हिमशृंखला र सुन्दर गाउँबस्तीहरुलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछन् ।

यो ग्रेटवाल तीन मिटर फराकिलो र चार किलोमिटर दूरीको रहेको छ । मुकुन्देश्वरी डाँडामा संग्रहालय बनाउने लक्ष्यका साथ यस्को निमार्ण कार्य शुरु गरिएको हो । पदमार्गले राजा मुकुन्द सेन बसेको ठाउँ प्रचारसँगै बन्दीपुरका ग्रामीण बस्तीसमेत प्रर्वद्धन हुने बताइएको छ । यस डाँडामा कुनै एक समयमा राजा मुकुन्द सेनले शासन गरेका थिए । त्यसैले ग्रेटवालको नाम पनि मुकुन्देश्वरी ग्रेटवाल भनेर नामांकरण गरिएको छ ।

बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक पुग्ने गर्छन् । बन्दीपुर गाउँपालिका–४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन ९ किलोमिटर निर्माण भएको छ । मगर र गुरुङ गाउँको संस्कृति अध्ययन गर्न अब साइकलबाटै यात्रा गर्न सकिन्छ । साइकल लेन गुरुङ र मगर जातिको कोरिखा र रामकोट होमस्टेसँग जोडिएको छ ।

बन्दीपुरमा जानकोलागी अबको केही समयपछि केबलकारको पनि व्यवस्था गरिंदैछ । यसकालागी पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन निर्माण गरिंदै छ ।

बन्दीपुर गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्छ । राणाशासनको समय पश्चिम ३ नम्बर गौडा थियो बन्दीपुर । पञ्चायती व्यवस्थामा २०२५ सालसम्म तनहूँ सदरमुकाम रह्यो । २०६९ मा नगरपालिका थपिँदा बन्दीपुर नगरपालिका हुन पुग्यो । अहिले नयाँ प्रादेशिक संरचना कायम गर्दा साबिकको बन्दीपुर नगरपालिका गाउँपालिका भएको छ ।



Leave A Reply

Your email address will not be published.