सुरक्षा निकायका प्रमुखले मातहतका जवान–अधिकृतलाई यस वर्ष दसैंमा टीका नलगाउने

0

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी प्रमुखले यो वर्षको दसैंमा मातहतका सुरक्षाकर्मीलाई टीका नलगाउने भएका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका आईजिपी शैलेन्द्र खनाल र नेपाल प्रहरीका आईजिपी शैलेश थापा क्षेत्रीले टीकटालाको कार्यक्रम स्थगित गरेका हुन् ।

अघिल्ला दसैंमा तीनवटै सुरक्षा प्रमुखले सरकारी निवासमा मातहतका सुरक्षाकर्मीलाई टीका लगाउँथे ।

‘संगठन प्रमुखले मातहतलाई टीका लगाउने कार्यक्रम यस वर्ष छैन’ सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालले रातोपाटीसँग भने, ‘कोरोना संक्रमणको जोखिम भएकाले सो कार्यक्रम नराखिएको हो ।’

प्रधान सेनापतिले अघिल्लो दशैंमा ललितपुरस्थित सरकारी निवासमा टीका थाप्न आउनेलाई लगाउने चलन थियो ।

स्वास्थ्य सुरक्षा प्रोटोकलका कारण टीका लगाउने कार्यक्रम नराखिएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । पौडेलले भने, ‘टीका लगाउने कुरा व्यक्तिगत विषय हो, अघिल्ला वर्षमा पनि आउनेलाई लगाइदिने चलन थियो, अहिले सो कार्यक्रम राखिएको छैन ।’

नेपाल प्रहरीका महानिरीक्षकले शैलेश थापाले यसपाली मातहतका जवान–अधिकृतलाई टीका नलगाउने उनको सचिवालयले जनाएको छ । स्वास्थ्य सम्बन्धी प्रोटोकलका कारण टीका लगाउने कार्यक्रम स्थगित गरिएको हो ।

Leave A Reply

Your email address will not be published.