नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरी मनाईंदै

0

काठमाडौं । नवरात्रको छैटौं दिन आज कात्यायनी देवीकोे पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कात्यायनीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको छैटौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागी ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् । कात्यायनीलाई वैज्ञानिक दृष्टिले Nuclear अर्थात् ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

छैटौं दिन कात्यायनीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

Leave A Reply

Your email address will not be published.