द्वन्द्वमा चार छोरा गुमाएकी दर्नाल जसलाई बिहान साँझ के खाने थाहा छैन

0

दुई फरक द्वन्द्वमा आफ्ना चार छोरा गुमाएर पनि बेवास्तामा परेकी र सुकुम्बासी बस्तीमा बस्न बाध्य बेपत्ताकी आमा भनेर चिनिने हेटौँडाकी शुभद्रामाया दर्नाललाई दशैँका अवसरमा हेटौँडा उपमहानगरपालिकाले खाद्य सामग्री, लताकपडा तथा आर्थिक सहयोग प्रदान गरेको छ ।

हेटौँडा–९ की सुभद्राको घरमा छोरा गुमाउँदाको पीडा त छँदैछ, खान लगाउन धौधौले पनि कहिलै छोडेन । सुभद्राका धेरै चाड पर्व समस्यामै बिते । घरमा बिहान बेलुकाको छाक टार्न धौधौ । त्यसमा पनि थुप्रै रोगले थलिएको वृद्ध शरीर ।

आज एक्कासि उपमहानगरपालिका प्रमुख हरिबहादुर महत दशैँका लागि सामान बोकेर घरमा पुग्दा उहाँका आँखा रसाए । झुप्रो घरमा बस्दै आउनुभएकी सुभद्रालाई उपमहानगर प्रमुख महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नून, मसलालगायतका सामान हस्तान्तरण गर्नुभयो ।

दशैँमा लगाउनका लागि सुभद्रा र उहाँका नातिनीलाई कपडा र दशैँ तथा तिहार मान्नका लागि नगद रकमसमेत प्रमुख महतले हस्तान्तरण गर्नुभयो । छोरा गुमाए पनि वर्षौंदेखि उहाँलाई धेरै खालका अभाव नै अभाव थियो तर आज स्थानीय सरकारको रूपमा रहेको उपमहानगरले आफ्नै घरमा आएर सहयोग गरेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

अलपत्र परेका तथा विभिन्न कारणले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको उपमहानगरपालिकाले माओवादी जनयुद्ध र २०४६ सालको जनआन्दोलन गरी नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्ना चार छोरा गुमाउन पुगेकी ७० वर्षीया सुभद्रालाई सहयोग गरेको हो ।

आफ्नी १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्बासी बस्तीमा बस्दै आउनुभएकी सुभद्रालाई महतले उपमहानगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धतासमेत जनाउनुभयोे । यिनै आमाजस्ता छोराहरुकै बलिदानीमा आफू स्थानीय सरकारको प्रमुख भएका कारण शहीद परिवारका बलिदानीको आफूहरुले उपेक्षा गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले आमा सुभद्राको बस्ने, खानेसहित औषधि उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जीविकोपार्जनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो घरमा आजसम्म कोही नेता नआएको र उपमहानगर प्रमुख आएर आफ्नो पीडा सुनिदिएको भन्दै सुभद्राले खुशी व्यक्त गर्नुभयो । उहाँको पति नेत्रबहादुर दर्नालको पनि करीब एक दशक अगाडि ८० वर्षको उमेरमा निधन भइसकेको छ । उहाँका पाँच छोरामध्ये साहिँला छोरा एउटाको मात्र कालगतिले निधन भएको थियो । जेठो काजीबहादुर र माइलो झक्तबहादुरलाई ४६ सालको जनआन्दोलनमा लागेका कारण बेपत्ता पारिएको र माओवादी जनयुद्धमा लागेका कारण काइँलो अमृत र कान्छो उद्धवलाई बेपत्ता पारिएको वृद्धा दर्नालले जानकारी दिनुभयो ।

‘यहाँ बिहानबेलुका कसरी छाक टार्ने भन्ने स्थिति छ । साहुले दिएको चामलदालको पैसा तिर्न सकेकी छैन । औषधिमूलो त टाढाको कुरा भयो बाबु,’ सुभद्राले गहमा आँसु झार्दै सुनाइन् । बाल्यकालमा एकदमै फरासिली र उत्सुक स्वभावकी सुभद्रामाया धुलिखेल, काभ्रेमा जन्मिएकी थिइन् ।

काभ्रेकै फलामटारमा उनको ९ वर्षकै उमेरमा बिहा भएको थियो, २५ वर्षे नेत्रबहादुर दर्नालसँग । पहिलो सन्तान उनी १२ वर्ष उमेर छँदै जन्मियो, तर केही घण्टामात्रै बाँच्यो । फेरि १४ वर्ष पूरा नहुँदै अर्की छोरी जन्मिई । त्यो पनि उमेरमा २ वर्ष नलाग्दै बिती । ‘अनि त्यो ठाउँ फापेन भनेर मेरा बूढाले २०२२ सालमा हेटौंडाको हटिया बसाइँ ल्याएका हुन्,’ सुभद्राले सम्झिन्, ‘यता आएर सन्तान त अडिए तर दुःख र संघर्ष भने झनै बेहोर्नै नसकिने गरी थपिँदै गए ।’

जेठो छोरा काजीबहादुर दर्नालको त त्यही नागरिकता वा फोटो पनि कतै भेटिएन । आमा सुभद्रासँग पनि जेठो छोराको हुलिया मात्रै मानसपटलमा आइरहन्छ । अहिले हटियामै बस्ने काजीकी श्रीमती बुद्ध दर्नालका अनुसार २०४८ वैशाखको चुनावमा एक महिनाजति ‘म्यादी प्रहरी’ समेत बनेका श्रीमान् जेठ ५ गते अफिस (प्रहरी कार्यालय) जान्छु भनेर घर छाडी हिँडेका थिए । श्रीमती बुद्धले काजीको म्यादी प्रहरीको परिचयपत्रसमेत देखाइन् । काजीसँगै उनका भाइ भक्त पनि म्यादी प्रहरीमै भर्ना भएका थिए ।

‘त्यही वर्ष असारतिर भारत, दिल्लीको ठेगाना राखेर एउटा चिठी आएको थियो रे । हामी आउने दसैंमा फर्कन्छौं भनेका थिए रे,’ फेरि बूढी आमा सुभद्रा सुस्केरा छाड्दै भनिरहेकी थिइन्, ‘न त्यस्तो दसैं कहिल्यै आयो, न छोराहरू नै फर्किएर आए ।’ तर, यो चिठीको कुरा पनि ‘अरे’ मात्रै रहेछ, यसको प्रमाण पनि कोहीसँग थिएन । हेटौंडाबाट बाबु नेत्रबहादुरले त्यो चिठीको ‘जवाफ’ फर्काएका थिए, तर ‘ठेगाना मिलेन’ भनेर हुलाकले चिठी फिर्ता गरिदिए ।

सुभद्राको साइँलो छोरा भीमबहादुर भने हटिया गाउँबाट काठमाडौंमा रोजीरोटीका लागि छिरेका रहेछन् । ‘जग्गा किनबेचको काम गर्छु भन्थ्यो,’ सुभद्राले सुनाइन्, ‘यहाँ हटियामा १० कट्ठाजति हाम्रो जमिन थियो, त्यो बिक्री गरेर आएको पैसामध्ये अलिकति साइँलो छोराले लिएर गएको थियो । बाँकी रहेको पैसा श्रीमानले यताउता गरेरै सके । सुकुम्बासी बनेर १० वर्षअघि यो टोलमा बस्न आएकी हुँ ।’

कुनै रोग लागेर साइँलो छोरा भीमको ४ वर्षअघि काठमाडौंमै निधन भएपछि शव आफ्नो बस्ती नजिकै कुख्रेनी खोलामा ल्याएर सुभद्राले अन्तिमसंस्कार गरेकी थिइन् ।
सुभद्राका ३ छोरीहरू हेटौंडा, पालुङ र काठमाडौंमा आफ्नै घर गरी खाइरहेका छन् । सुकुम्बासी बस्तीमा एक्लै बनेकी आमाको भरथेगमा त्यति आइरहन भ्याउँदैनन् । उमेरमा १७ वर्ष लागेकी नातिनी अस्मिसा साथैमा छिन् । ८ कक्षा पढेर छाडेकी र ब्युटी पार्लर तालिम लिएकी नातिनीलाई काम खोजिदिन सुभद्रा आफ्ना छेउ जो आए पनि हारगुहार गरिरहेकी हुन्थिन् ।

‘नेताहरू मुखै देखाउँदैनन्, भोट माग्ने बेला नानाथरी कुरा गर्दै हाम्रो छाप्रोसम्म आएका थिए, मलाई पनि जुलुसमा लिएर गएका थिए । सुकुम्बासीलाई घर बनाइदिन्छौं भन्थे । अहिले नेता कहाँ होलान् भनेर टीभीमा हेर्नुपर्छ, रेडियो सुन्नुपर्छ,’ उनले थपिन् ।

बेपत्ता बनेका आफ्ना ४ जनै छोरालाई आमा सुभद्रा सपनामा देखिरहन्छिन् । नजिकै कुख्रेनी खोलामा साइँला छोरा र आफ्ना श्रीमानको आफैंले काजक्रिया गरेकाले होला, तिनीहरूले भने सपनामा त्यति सताउँदैनन् । ‘सपनामा म आफूलाई टाढाटाढा उडिरहेको देख्छु, बेपत्ता भएका छोराहरूको अनुहार झल्को आएर तिनलाई पछ्याउन खोजेजस्तो देख्छु,’ पढेरभन्दा परेर जीवन–जगत् बुझेकी सुभद्रा भन्छिन्, ‘कहिलेकाहीं त कस्तो लाग्छ भने यो हामी आमाको जात भनेको छोराछोरी, लोग्ने सबैका लागि खेलौनाजस्तै मात्रै हो । आउँछन्, खेल्छन् अनि जान्छन् । दुई दिनका लागि आए, खेल खेले, गए । यसरी विपत् पर्ने बेला एउटैलाई मात्रै पर्दोरहेछ कि ? काखमा ५/५ भाइ छोरा थिए, सबै आज बिलाए । सम्झँदा छाती चिरिन्छ, रोएरै आँसु पनि अब त सुकिसक्यो ।’

बेपत्ता छोराहरूकी यी आमासँग कुनै आधिकारिक परिचयपत्र छैन, न द्वन्द्वपीडितकै परिचय छ । सुकुम्बासी समस्या समाधान समिति (नम्बर ७३३) को परिचयपत्र भने साथमै छ । एकल महिलाको परिचयबाट आउने मासिक १ हजार रुपैयाँ पनि उनका लागि नुनतेल किन्ने राहतझैं बनेको छ ।

‘यो मेरो लेखान्त होला । अगाडि बाटोमा हिँडिरहेका अर्काका हुर्केका छोरा देख्ता ती मेरा दूधका धारा खाएका छोराहरू आज कता होलान् नि भन्ने लाग्छ । रोएर कराएर भेटिन्न, के गर्नु ? बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले लैजान्छ,’ सुकुम्बासी बस्तीबाट बाटा लाग्नै लाग्दा पनि आमा सल्लाझैं सुसाइरहेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.