मन्दिर धकेलेर छायाँमा पुर्‍याउनेहरू, देशको लागि के गर्‍यौ ?

0

कुरा यसरी शुरू गरौँ – एका देशमा एउटा गाउँ थियो । त्यो गाउँमा धेरै ठालूहरू बस्दा रहेछन् । जसले गाउँलेहरूलाई आफ्नो पक्षमा पार्न तँछाड मछाड गर्थे । कोही गाउँलेको काम गरिदिएर, कोही सहयोग गरेर गाउँलेको मन जित्न खोज्थे भने कोही गफ लगाएर मात्रै गाउँलेलाई हो कि रु भन्ने भान पार्थे ।

ठालूहरूमध्ये एक दिन दुईजना गाउँको बीचमा रहेको मन्दिर पुगेछन् र मन्दिर घाममा परेको देखेछन् । त्यसपछि उनीहरूले भगवानालाई गर्मी भयो भन्दै मन्दिरलाई छायाँमा लैजानुपर्छ भन्ने सोँच बनाएछन् । उनीहरूले धकेलेरै मन्दिर छायाँमा लैजाने भन्दै पहिला मन्दिरमा चढाएको फलफूल सबै खाएछन् । खाने बेला अरु गाउँलेहरू पनि आइपुगेछन् । तर, ती ठालूहरुले मन्दिरलाई धकेल्न बल चाहिएकोले फलफूल खाएको तर्क गरेछन् ।

अरु गाउँलेहरू ठालूहरूले भनेको पत्याएछन् र आफ्नो बाटो लागेछन् । ठालूहरू भने मन्दिर धकेल्न लागेछन् । झन्डै आधादिन मन्दिर धकेलेपछि छायाँ परेछ । उनीहरूले भनेछन ‘हाम्रो बलबुता र दिमागले मन्दिर छायाँमा लैजान सकियो ।’ उनीहरूलाई थाहा थियो, घामले डाँडो काट्दा दोछायाँ परेको । तर, खुसीले दंगदास भएको जस्तो नाटक गरेर गाउँलेलाई पनि मन्दिर छायाँमा सारेको भन्नै डंका पिटाएछन् ।

यो नीतिकथा हो । तर, पढ्नेबित्तिकै कसैका चण्डीका रौं ठाडो होलान् रिसले अनि हाम्रो पार्टीसँग ठ्याक्कै मिल्ने गरी कथा बुनेछ भनेर मुर्मुरिएलान्। हुन पनि विश्वभर कोरोना भाइरस संक्रमणले महामारीको रुप लिँदा सरकार लामो समय चुप लागेर बस्यो । अझ, नीतिकथाका जस्तै एकजना ठालू त नेपाल कोरोना भाइरस मुक्त भएकोले भ्रमण वर्ष सफल हुने दावी गरे ।

यहाँ निर्वाध रुपमा कोरोना संक्रमित मूलुकहरूबाट मानिसहरू आए । भारतमा संक्रमण फैलिँदा पनि सीमा नाकामा कुनै रोकतोक भएन । संक्रमितहरू निर्वाध रुपमा नेपाल छिरेर सायौँ मानिसको हुल भिड छिचोल्दै देशका कुना कुनामा पुगे । हुने हुनामी सबै भयो । विश्व लकडाउन गरियो र नेपाल आउने बाटोहरू बन्द भइसकेपछि मात्र सरकारले सिमानाका बन्द र अन्तर्राष्ट्रिय उडान बन्दको घोषणा ग¥यो । तरपनि नेपालीको भाग्य भनौं वा पशुपतिको कृपाले भनौँ कोरोनाले अहिलेसम्म नेपालमा महामारीको रुप लिएन ।

भाइरसबाट बच्न जनताले लगाउने मास्क पर्याप्त भएन । सेनेटाइजर लुकाइयो । स्वास्थ्यकर्मीले पीपीई सेट नभएको कारण सामान्य ज्वरोका बिरामीको नजिक परेनन् । कोरनोका आशंका भन्दै बुटवलका बाबुराम थापा र वीरगंजका विजय कुशवाह लगायतका केहीले अकालमा ज्यान गुमाउनुपर्‍याे ।

ढिलै भएपनि सरकारले चीनबाट कोरोना संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्ने झ्याली पिट्दा धेरै जनता खुसीले गदगद् भए, महामारीबाट बाँच्ने आशामा । तर बिडम्बना ‘आकाशको फल आँखातरी मर्’ जस्तै भयो चीनको सामान । किनकी सुरक्षित हुने मास्क र अन्य सामान जनताको पहुँचमा पुग्न सकेनन् । बरु मन्त्रीहरू जमानी बसेर सामान किन्न पठाएकाहरूले कालोबजारी गर्न थाले ।

यहाँनेर नीतिकथाका ठालूहरू र सरकारका ठालूहरूका काम संयोगले ठ्याक्कै मिल्न सक्छ । उता मन्दिरमा छायाँ पयो, यता कालोबजारीया खुलेआम हिँड्दा पक्राउ परे । यहाँनेर मन्त्रीले कमिसनका लागि ब्ल्याकमा सामान बेच्न छुट दिएका कालोबजारी खुलेआम हिँडेपछि पक्राउ पर्नु र मन्दिर धकेलेर छायाँमा लगियो भन्नु उस्तै उस्तै हो । हात्ती र हात्तीछाप चप्पलको विज्ञापन जस्तै ।

लकडाउनका कारण मजदुर र विपन्नहरू भोकै छन् । भोको पेट पाल्न सोलुखुम्बुदेखि कैलालीसम्म पैदलै हिँडेर जाँदै छन् । उनीहरूका समस्या र आवाज कसैले देखे सुनेको छैन । किनेर खान सक्नेहरूका लागि पनि खाद्यान्नमा कालोबजारीहरूले ठगे लुटेका छन्, बुझ्ने कोही छैन ।

स्वास्थ्यकर्मीलाई उपचार सामग्री छैन । किनेर पुर्‍याईदिने कोही छैन । कोरोना विशेष अस्पताल भनेर बनाएका ठाउँहरूमा बिरामी सुत्न मुस्किल छ । समस्या बुझ्ने कोही छैन । देशका विभिन्न ठाउँमा कोरोना परिक्षण गर्न सक्ने पीसीआर मेसिनहरू अलपत्र छन् , खोजेर प्रयोग गर्ने कोही छैन । बरु भएका सामान जोडजाड गरेर जाँच गर्न सक्ने बनायो भने अर्काथरी पहुँचको आधारमा जाँच केन्द्र स्थापना गरियो भन्दै सत्ताको वरिपरी घुम्नेहरू नै त्यसको आलोचना गर्छन । उपकरण किनेर देशभरी पुर्‍याउन चाहँदैनन् ।

जनताले देश चलाउन चुनेर पठाएका जनप्रतिनिधिहरू निर्वाचन क्षेत्र सुधार कार्यक्रमको रकममा र्‍याल चुहाएर बस्छन् । संकटको बेला आवस्यक परेको ठाउँमा खर्च गरौँ भन्दा मान्दैनन् । दोश्रो चौमासिक सकिँदा सम्म १० प्रतिशत पनि खर्च हुन नसकेको स्थानीय तहको विकास बजेट त्यतिकै छ । तर स्थानीय तहका नेताहरू शहरमा दुःख गरेका विद्यार्थीलाई फोन गरेर सहयोग रकम जुटाइदेउ भन्न पछि पर्दैनन् ।

र पनि यहाँ भनिँदैछ – ‘सरकारको प्रभावकारी कामले गर्दा कोरोना संक्रमणले महामारीको रुप लिन पाएन ।’ अनि अर्काथरी त्यही हावा गफलाई होस्टेमा हैंसे गर्छन र जनताको आँखामा फुलो पार्छन् ।

सत्ता सञ्चालन गर्नेहरूलाई सचेत बनाएर जनताको घाउमा मल्हम लगाउन भूमिका खेल्नुपर्ने प्रतिपक्षी दल यस्ता कमजोरी देखाइदिएर झन् ‘आङ कन्याएर छारो उडाउँदै’ छ । रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने उसले भागवण्डा मिल्दा सबै ठीक, नमिल्दा सबै बेठीक भएको प्रचार गर्छ ।

अहिलेको सरकार मात्र होइन्, पालैपालो सत्ता सञ्चालन गरेका सबै पार्टीको भूमिका नीतिकथाका ठालूहरू भन्दा किञ्चित फरक छैन । जनताले बलिदानी गरेर २०४६ सालमा प्रजातन्त्र र कथित विश्वको उत्कृष्ट संविधान बनाएपछि २०६२÷०६३ सम्म नै देशमा आमूल परिवर्तन हुनुपर्ने थियो ।

त्यो बेला अधिकाँस समय देशको डाडुपन्यूँ काँग्रेसकै हातमा थियो । दीर्घकालिन विकासको जग बसेको भए, उत्पादनमा जोड दिएको भए, रोजगारीका अवसर सिर्जना गरिएको भए, देशको माटो सुहाउँदो आर्थिक समृद्धिको योजना बनेको भए अहिले रेमिट्यान्स नभित्रिएपछि अर्थतन्त्र डामाडोल हुन लागेको भन्दै तर्सनु पर्ने थिएन । भएका उद्योगधन्दा निजीकरण र उदारिकणको नाममा स्वाहा पारेर, सरकारी सम्पती तहसनहस पारेर, दातृ निकायको ऋण र अनुदानमा बनाइएएको विकास बजेट भ्रष्टाचारले चुर्लुम्म डुबाएकै कारण अहिले देशले यो हालत भोग्नु परेको हो ।

यहाँ २०४६ पछिका १७ वर्षमा धेरै काम भएको भनेर नीतिकथाका ठालूहरूले मन्दिर धकेलेर छायाँमा पु¥याएको जस्तै गफ छाँट्नेहरूको कमि छैन । तर देखिने काम औंलामा गन्न सकिने केही छैनन् । यसकै पछि लागेर जनताले अहिले यो नियती भोग्नुपरेको हो ।

मेरा चिनियाँ साथीहरू भन्छन्, ‘देशमा लकडाउन हुँदा घरमै खाना पुग्यो । जनतालाई कुनै कुराको समस्या भएन । सबै सरकारले हेर्‍याे ।’ त्यतिमात्र होइन, चीनले सबैभन्दा पहिला महामारीको रुप लिएको कोरोना संक्रमण फैलनाबाट रोक्यो, यसका कारण हुने मृत्यु शून्यमा झार्‍याे ।

दुर्भाग्य भनौं, धेरै मानिसको मृत्यु भयो तर पनि विकशित मुलुकहरू महामारीबाट संक्रमित धेरै मानिस बँचाउन सफल भए र यसको रोकथाम तथा उपचारको औषधी बनाउन तल्लिन छन् । यहाँ सत्ताधारीहरू भन्ने गर्छन् अमेरिका, चीन, युरोप र भारतमा समेत कोरोना संक्रमणबाट मानिसहरू मर्दा नेपालमा कोही मर्न पाएनन् । के उनीहरूले भनेजस्तै यो जायज तर्क हो ? कि मन भुलाउन गरिएको गजवको मेलो हो ? छर्लङ्गै छ, यसमा अहिलेका सत्ताधारीको जति दोष छ नेपालमा अहिलेसम्म सत्ता सञ्चालन गर्नेहरूको उत्तिकै कमजोरी छ । उनीहरूले न भविष्यमा हुने यस्ता महामारीको विषयमा सोँचेर कुनै सुरक्षाका उपाय अपनाए, न कुनै अन्वेषण गर्न तयार वैज्ञानिक अनुसन्धान केन्द्रहरू बनाए ।

देशलाई समृद्धिको बाटोमा लगेको भए, यस्ता महामारी आउँदा सामान्य मास्क समेत जनतालाई बाँड्न नसकेर रोइकराइ गर्नुपर्ने थिएन । फेरि, यो पहिलो संकट पनि होइन । ४ वर्षअघिमात्रै गएको भूकम्पमा भत्केका घर अहिलेसम्म बन्न सकेका छैनन् । त्यतिबेला मानिसहरूलाई सुरक्षित राख्न, उपचार गर्न, राहत दिन परेका समस्या हेरेर अहिलेको लागि केही योजना बनेनन् ।

भारतले नाकाबन्दी गरेको बेला जनताले भोकै बसेर, पैदलै हिँडेर जोगाइदिएको सरकारी शाखबाट मख्ख पर्नेहरूले अहिलेजस्तो बन्दाबन्दी हुँदा हुनसक्ने खाद्यान्न, कालोबजारी, बेरोगारीको समस्याबाट पार लगाउने कुनै उपाय सोँचेनन् ।

संयोग, अहिलेको महामारी र उ बेलाको नाकाबन्दीका सत्ताधारी एउटै थिए । त्यो बेला संकटबाट पार लगाउन केही रचनात्मक काम गरेको भए पो अहिलेको संकटबाट पार लगाउन कुनै योजना बन्न सक्थ्यो । त्यसैले ए मन्दिर धकेलेर छायाँमा पु र्‍याउनेहरू हो, जनताले सोधिरहेका छन् देशको लागि के गर्‍यौ ?

Leave A Reply

Your email address will not be published.