प्रेम विवाहकै कारण जाे भूमिगत जीवन बिताइरहेका छन्

0

राजविराज । विवाहसम्बन्धी नयाँ कानुनअनुसार २० वर्ष पूरा नभएसम्म वैधानिक रूपमा विवाह गर्न नपाउने जटिलताले यति खेर प्रेम–विवाह गरेका कयौं जोडी बिचल्लीमा परेका छन्। सिनेमा, इन्टरनेट, मोबाइल तथा खानपानका कारण बालबालिकाहरू १६ वर्ष नपुग्दै शारीरिक तथा मानसिक रूपमा परिपक्व हुँदै गएको अनुसन्धानहरू सार्वजनिक भइरहेका छन्। तर हाम्रो कानुनले १८ बर्से पुरानो प्रावधानलाई संशोधन गर्दै विवाहको उमेर २० वर्ष निर्धारण गरेपछि खासगरी १६ देखि १९ वर्षीय किशोर–किशोरीहरू प्रेम–विवाहका कारण तनाव झेल्न बाध्य भइरहेका छन् ।

क्याम्पस पढ्दा–पढ्दै प्रेम गर्न थाल्ने र त्यस्ता अधिकतर घटनामा पारिवारिक अस्वीकृति हुने हुँदा भागेर विवाह गर्ने जोडीहरूको जीवन विवाहपश्चात निकै कष्टकर हुन थालेका छन्। खासगरेर आफूखुसी बिहे गर्ने केटा–केटीका अभिभावकहरूले नयाँ कानुनी आधार लिँदै एक–अर्काको परिवारविरुद्ध नै अपहरण, शरीर–बन्धक, जबरजस्ती करणीलगायत मुद्दा दर्ता गराउन थालेपछि प्रेम–विवाह गरेका जोडीसँगै तिनका परिवार र स्थानीय प्रहरी–प्रशासनले समेत तनाव झेल्नुपर्ने परिस्थिति उत्पन्न भएको छ।

यस्तैखाले घटनाको पछिल्लो प्रतिनिधि पात्र हुन्, पर्सा वीरगन्जकी कञ्चन मिश्र र सप्तरी राजविराजका रोक्की झा। प्रेम–विवाह गरेकी कञ्चन आफ्ना पति रोक्की झासहित पछिल्लो १० महिनादेखि भूमिगत जीवन बिताउन बाध्य भएकी छन्। कहिले राजविराज त कहिले विराटनगर त कहिले पारि भारत गएर जसोतसो दिन काट्ने बाध्यताका कारण आफू निकै तनावमा परेको कञ्चनको भनाइ छ।

आफूलाई आफ्नै आमाबुबाले यसरी तनाव दिएको कञ्चनको गुनासो छ। ‘आमाबुबाको सहमतिविपरीत आफूले मन पराएको केटोसँग बिहे गरें, यो मेरो गलती होला तर यस्तो गर्ने संसारकी पहिली केटी मै हुँ र ?,’ प्रश्न गर्दै उनले भनिन्, ‘आफ्नै आमा–बुबाले यति हदसम्म तनाव देलान् भने सोचेकी पनि थिइनँ, अहिले तनाव खेप्न गा¥हो भइरहेको छ।’

पछिल्लो पटक कञ्चनकी आमाले कञ्चनका पति तथा ससुराविरुद्ध अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दिएपछि उनी झन् तनावमा परेकी छिन्। नौ महिनाकी गर्भवती कञ्चन भन्छिन्, ‘नौ महिनाको गर्भ बोकेर म कुनकुन अदालत, कुनकुन प्रहरी चौकीमा गएर बयान दिऊँ, म मेरो पतिसँग खुसी छु, उहाँले मलाई लिएर भाग्नुभएको होइन, आमा–बुबाको यातना खेप्न नसकेर मैले नै उहाँलाई बिहे गर्न दबाब दिएकी हुँ।’

आफ्नै आमा–बुबाका कारण पतिसहित आफू र ससुराली पक्ष असुरक्षित भएको बताउँदै कञ्चनले बुधबार सञ्चारकर्मीहरूलाई सहयोग र न्यायका लागि पहल गरिदिन आग्रहसमेत गरिन्। उनले २०७५ माघ २ गते वीरगन्जबाट भागी राजविराज–१ का झासँग विराटनगरस्थित राधाकृष्ण मन्दिरमा विवाह गरेकी थिइन्। वीरगन्ज उपमहानगरपालिका–७ निवासी कञ्चन दुई वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। प्लस टु उत्तीर्ण गरेकी कञ्चनका अनुसार उनले आफ्नो प्रेम–सम्बन्धबारे आमा–बुबालाई जानकारी गराउँदै आफू मन पराएको केटासँग बिहे गरिदिन आग्रहसमेत गरेकी थिइन्। तर आफ्नो इज्जत र सामाजिक प्रतिष्ठाको हवाला दिँदै आमा–बुबाले ६ महिनाभन्दा बढी उनलाई एउटै कोठामा बन्धक बनाएर मानसिक तथा शारीरिक यातना दिने गरेका थिए।

कञ्चनको उमेर १९ वर्ष र रोक्कीको उमेर २४ वर्ष पुगेको छ। तर आफूभन्दा तल्लो जातको केटासँग छोरीले विवाह गरेको भन्दै बुबा मनोज मिश्रा र आमा सावित्रीले कानुनअनुसार विवाहका लागि उमेर नपुगेकी छोरीलाई रोक्की र उनका बुबा अमरकान्त झाले अपहरण गरेर लगेको भन्दै प्रहरीमा जाहेरी दिएपछि दुवै पक्षका अभिभावक बीच तनाव र द्वन्द्व बढेको छ।

छोरी भगाउने रोक्कीलाई पक्राउ गर्न प्रहरीले ढिलाइ गरिरहेको भन्दै कञ्चनकी आमा सावित्रीले बन्दी प्रत्यक्षीकरण मुद्दा लिएर सर्वोच्च अदालत पुगेकी छन्। रोक्की अध्ययनको सिलसिलामा तीन वर्षअघि वीरगन्ज पुगेका थिए। वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत उनको अनुभूति एजुकेसनल फाउन्डेसन वीरगन्जमा पढदै गरेकी कञ्चनसँग प्रेम भएको थियो।

प्रेम गहिरिंदै गएपछि रोक्कीबाट कञ्चनका अभिभावकसमक्ष राखिएको विवाहको प्रस्ताव अस्वीकार मात्र होइन, उनीमाथि कुटपिटसमेत गरिएपछि दुवैजनाले भागेर मन्दिरमा बिहे गरेका हुन्। भागेको करिब डेढ महिनापछि फागुन १७ गते प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतकै निवासमा दुवै पक्षलाई राखी गरिएको पञ्चायतीमा सहमतिको प्रयास गरिएको थियो तर कञ्चनद्वारा आफू पति सँगै बस्ने अडान र केटी पक्षले जबरदस्ती छुटयाएर लैजाने राखेको अडानका कारण सहमति हुन सकेन।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिकासम्बन्धी फाँट हेर्ने प्रहरी निरीक्षक प्रकाश बस्नेतका अनुसार यस्ता घटनाहरू महिनैपिच्छे जिल्ला प्रहरी कार्यालय आउने गरेका छन्। ‘प्रहरी त कानुन कार्यान्वयन गर्ने निकाय हो, हामी कानुनबमोजिम चल्ने निकाय हौं, यद्यपि सामाजिकतासँग जोडिएका जटिलता थुप्रै छन्,’ बस्नेत भन्छन्, ‘उमेर नपुगेका केटा–केटीहरू भाग्ने भनेको आफू राजीखुसी नै हो तर तिनका अभिभावकहरू भने कानुनलाई टेकेर केटा पक्षविरुद्ध अपहरणदेखि जबरजस्ती करणीसम्मको मुद्दासम्म लिएर आउँछन्।’

पाँच महिनाअघि तिलाठी कोइलाडी गाउँपालिका–१ लाई सेभ द चिल्ड्रेनको सहयोगमा बालविवाहमुक्त वडा घोषणा गरियो। यसरी बालविवाह मुक्त घोषणा गरिएको सप्तरीमा दर्जनौं वडा तथा बस्तीहरू रहेका छन्। तथापि विवाहका लागि २० बर्से कानुनी आधार हुबहु पालना गर्नु थोरै जटिल रहेको स्थानीय तहका जनप्रतिनिधिहरूकै गुनासो छ।

‘केटा–केटी भागेर बिहे ग-यो भने कानुन टेकेर अभिभावकहरू थुप्रै वितण्डा निम्त्याउने काम गर्ने गर्छन् तर सहमतिमा भने अझै पनि १६ देखि १८/१९ वर्षका केटीको बिहे निकै संख्यामा हुने गर्छन्,’ तिलाठी कोइलाडी–१ का वडाध्यक्ष दिनेश्वर मिश्र भन्छन्, ‘कानुनबमोजिम हामीले सम्झाउने–बुझाउने गरेका छौं तर विवाहका लागि २० वर्षसम्बन्धी कानुनलाई थोरै संशोधन गर्न सकिए अझै राम्रो हुनेथियो।’ सामाजिक अभियन्ता योगेन्द्र झाका खासगरी मधेसी मैथिल समाजमा केटीको विवाहका लागि २० वर्ष अलि बढी भएको बताउँछन्। (नागरिकबाट)

Leave A Reply

Your email address will not be published.