पूर्व एमाले र माओवादीको मन अझै मिलेन, यसरी बस्छन् छुट्टाछुट्टै !

0

काठमाडौं – पूर्व एमाले र माओवादी केन्द्रबीच एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा संसदीय दलका पदाधिकारीका कार्यालय बनाउन लगायो ।तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो । तर रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ । उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन् ।

राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि कार्यकक्ष तयार पारिए । गुरुङ र शर्मा पूर्वएमालेको कार्यालयमा बस्न नमानेको संसद् सचिवालयका पदाधिकारी बताउँछन् ।

भट्टराईले भने दलको कार्यालयबाटै कार्यालय सञ्चालन गरिरहेका छन् । यसअघि भट्टराईको कार्यकक्ष तत्कालीन माओवादी संसदीय दल रहेको २ नम्बर भवनमा थियो । ‘संसद् सचिवालय परिसरमा जता बसे पनि हुन्छ,’ प्रमुख सचेतक गुरुङ भन्छन्, ‘संसद् सचिवालयले दिएकै स्थानमा बसेर काम गरिरहेको छु ।’

नेकपाले दलका पदाधिकारीका कार्यालय एउटै परिसरमा राख्ने तयारी गरेको थियो । तर दुवै धारका नेता पुरानै ठाउँका कार्यकक्षमा बस्ने गरेका छन् । पूर्व माओवादी पक्षका पदाधिकारी संसद् सचिवालयको २ नम्बर भवन र पूर्व एमाले पक्षका पदाधिकारी तत्कालनी दल परिसरका कार्यालयबाट कामकाज सञ्चालन गरिरहेका छन् । सांसदहरूको आउजाउ पनि पूर्ववत् कार्यालयमै हुुने गरेको छ ।

‘पूर्व माओवादीका साथीहरू काम पर्दा मात्र नेकपा संसदीय दलको परिसरमा आउन रुचाउनुहुन्छ,’ पूर्व एमाले पक्षका एक सांसद भन्छन्, ‘सांसदहरूबीच भावनात्मक रूपमा पार्टी एकता भएको छैन । पूर्व माओवादीका साथीहरू २ नम्बर भवनतिर, पूर्व एमालेका साथीहरू पूर्व एमालेको कार्यालयतिर आउने–जाने गर्नुहुन्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रमुख सचेतक गुरुङ भने जता बसेपनि दलको काममा अप्ठ्यारो नपरेको तर्क गर्छन् । ‘एउटै ठाउँमा बस्दा सहज हुन्छ भन्ने कसैको सोचाइ होला,’ उनी भन्छन्, ‘तर दलको काममा अप्ठ्यारो परेको छैन ।’

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकतापछि नेकपाको दल कार्यालय तोकिएको थियो । दलका नेता एवं प्रधानमन्त्री केपी ओलीको कार्यकक्षसामुन्ने उपनेता सुवास नेम्बाङको कार्यकक्ष छ । नेम्बाङको कार्यकक्षको सामुन्ने गुरुङ, शर्मा र भट्टराईका कार्यकक्ष तयार पारिएका थिए ।सचेतक शान्ता चौधरीको कार्यकक्ष सुरूमा गुरुङलाई दिने भनिएको थियो । त्यसमा गुरुङको असन्तुष्टिपछि नयाँ कार्यकक्ष बनाइएको थियो । तापनि उनी त्यहाँ बस्न मानेनन् ।

‘सबै पदाधिकारीको कार्यकक्ष एउटै परिसरमा हुँदा एकातिर पार्टी एकताको सन्देश जाने, अर्कोतर्फ दल सञ्चालनमा पनि सहजता हुने बुझेका थियौं,’ एक सांसद भन्छन्, ‘तर जिम्मेवार पदाधिकारी नै अलग–अलग ठाउँमा बस्दा हामी (सांसदहरू) लाई अप्ठ्यारो महसूस भइरहेको छ ।’

पार्टी एकताको डेढ वर्षसम्म सांसदहरूको लेबीमा एकरूपता छैन । पूर्व एमाले धारका सांसदले प्रतिमहिना १३ हजार र माओवादी केन्द्र धारकाले १२ हजार रुपैयाँ पार्टीलाई तिरिरहेका छन् । जति तिरे पनि पार्टीमै जाने प्रमुख सचेतक गुरुङ बताउँछन् ।संसद् सचिवालयको लेखा शाखाले लेबी रकम कट्टा गरेर मात्र सांसदलाई पारिश्रमिक पठाउने गरेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.