प्रभु बैंकका सीईओ भन्छन् : विश्वव्यापी रुपमै देशको छवि विगार्नेले तत्काल सच्याउ, हामी साथ दिन तयार छौँ

0

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले कोरोना भाइरसको महामारीका बेला सरकार र नीजि क्षेत्रका केही ब्यवसायीले देशको छवि विगारेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोना भाईरसको महामारीबाट जनतालाई बँचाउन सरकारले यस्तो अवस्थामा राम्रोसँग अध्ययन गरेर काम गर्नुपर्नेमा हतारमा निर्णय र नाफा–घाटाको पछाडि लागेर देशको छवि धमिल्याएको भन्दै चिन्ता प्रकट गरेका हुन् ।

‘नेपालमा महामारी फैलिहालेको अवस्थामा उपचारका लागि पूर्वाधारको अभाव छ । विश्वको अवस्थाबाट पाठ सिकेर ¥यापिड फायर राउण्डमा पूर्वाधार निर्माणमा लाग्नु पर्ने हो तर सरकारले यस विषयमा खासै चासो देखाएको छैन’, रातोपाटी अनलाइनको लकडाउन डायरीका लागि कुरा गर्दै उनले भने, ‘सरकारले यस्तो अवस्थामा राम्रोसँग अध्ययन गरेर सोचबिचार गरेरमात्रै काम गर्नुपर्ने थियो तर हतारमा निर्णय लिँदा नाफा–घाटाको पछाडि लागेर विश्वमै देशको छवि बिगार्ने काम भयो। सरकारी क्षेत्रले मात्र होइन निजी क्षेत्रले पनि नाफा नोक्सानमा लाग्न खोज्नु ज्यादै दुःखद् कुरा हो ।’

उनले सामान खरिद प्रकृयामा अन्तर्राष्ट्रिय रुपमै भ्रष्टाचार गर्न खोज्नु ज्यादै दुःखद् कुरा भएको भन्दै यसलाई जतिसक्दो छिटो सच्याएर देश र जनताको हितमा स्वच्छ भावनाले काम गर्नु जरुरी रहेको बताए । ‘हामी यो विपदको घडीमा सरकारलाई साथ दिन तयार छौँ’, उनले सरकारले राम्रो काम गरेर साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा महामारी फैलिहालेको अवस्थामा उपचारका लागि विश्वको अवस्थाबाट पाठ सिकेर ¥यापिड फायर राउण्डमा पूर्वाधार निर्माणमा लाग्नु पर्ने भएपनि सरकारले यस विषयमा खासै चासो नदेखाएको प्रति उनको असन्तुष्टि छ ।

उनले काेराेनाका कारण थला पर्न थालेको अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेबारे बेलैमा सोच्न सरकारलाई सुझाव दिएका छन् । महामारीले विश्व अर्थतन्त्रलाई नै असर गरेको अवस्थामा हाम्रो देशको अर्थतन्त्र पनि नराम्रोसँग थला पर्ने निश्चित भएको भन्दै उनले गम्भिर भएर थला परेको अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेबारे योजना बनाउन सुझाव दिए । ।

‘देशको खम्बाको रुपमा उभिएको पर्यटन क्षेत्रले ठूलो असर व्यहोरिरहेको छ । लगानीका सबै क्षेत्र बन्द छन् । यस्तो अवस्थामा बैंकिङ्ग क्षेत्रलाई पनि असर नगर्ने कुरै भएन । उत्पादन छैन, विक्री वितरण छैन, यसले ग्राहकहरुलाई व्याजको भार बढ्दै जानेछ । चैतको व्याज पछि तिर्ने गरी व्यवस्था गरिए पनि व्याजभार थपिदै जाँदा ग्राहकलाई झनै समस्या पर्ने देखिन्छ ’, सीईओ शेरचनले भनेका छन्, ‘बैंकले वितरण गरेको कर्जाबारे सोचिएको नै छैन । अब उद्यमीहरु लगानी गर्न हिच्किचाउने छन्, बैंकको बिजनेसमा धक्का लाग्ने छ । बैंकको कर्जा कारोबारमा असर पर्दा नन् परफर्मिङ एसेस्ट (एनपीए) अथवा खराव कर्जा बढ्ने खतरा बढी छ ।’

सबै क्षेत्रलाई माथि उकास्न समय लाग्ने भएकाले सरकार तथा सम्वन्धित निकायले अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेबारे बेलैमा सोच्न जरुरी रहेको शेरचनको भनाई छ ।

अब सरकारले महामारी नियन्त्रण गर्न लकडाउन अवधि थपेरै भए पनि अगाडि बढ्नुपर्ने भन्दै उनले भारतबाट र अन्य देशबाट आएका नागरिकको भरपर्दो तवरले मोनिटरिङ गर्नुपर्ने र हेलचेक्र्याइ गर्न नहुने बताए ।

Leave A Reply

Your email address will not be published.