प्रधानमन्त्रीले तलब नलिने घोषणा गरेपछि बाबुरामको यस्तो टिप्पणीले खैलाबैला !

0

काठमाडौं। कोरोना निर्मूल नभएरसम्म तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भन्दैं पूर्वप्रधानमन्त्री एवमु समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रवक्त नारायणकाजी श्रेष्ठ लगायतले सोमबार नयाँ वर्षको अवसरमा कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने बताएका थिए । आफूले पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा ओली लगायतले गरेका थिए ।

मंगलबार पूर्वप्रधानमन्त्री भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भनेका छन् । सँगसँगै उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने ) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह(भारवहन सबैले मिलेर गर्नुपर्ने भन्दै आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

जनस्तरबाट पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र निर्वाचन क्षेत्र विकास कोषबाट रकम काटेर कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने आवाज उठ्दै आएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए । उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको तलब कोरोना उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.