धादिङमा पनि देखियो एक जना कोरोना पोजेटिभ

0

धादिङ। कोरोनाभाइरस (कोभिड– १९) को र्‍यापिड टेस्टका क्रममा धादिङमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । धादिङको ज्वालामुखी गाउँपालिकाका एक व्यक्तिको रगतको नमूना र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएको सम्बन्धित गाउँपालिकाका अध्यक्षले लोकान्तरसँग बताएका छन् ।

ज्वालामुखी गाउँपालिकाका ती व्यक्ति कोरियाबाट हालै नेपाल फर्किएका थिए । ‘विदेशबाट आएकाहरूलाई टेस्टका लागि आह्वान गरेका थियौं, उहाँ पनि आउनुभयो, सचेत व्यक्ति नै हुनुहुन्छ,’ गाउँपालिका अध्यक्ष विनेदराज तिमिल्सिनाले लोकान्तरसँग भने, ‘परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उहाँलाई काठमाडौं पठाउने तयारी गरेका छौं ।’

ती व्यक्ति कोरियाबाट आएको एक महिनाभन्दा बढी समय भइसकेको र घरमै होम क्वारेन्टाइनमा रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा ३६ जनाको र्‍यापिड टेस्ट गरिएकोमा अन्य ३५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । र्‍यापिड टेस्टमा मानिसको शरीरमा एन्टीबडी छ कि छैन भनेर हेरिन्छ ।

भाइरसको संक्रमण हुँदा त्यसविरुद्ध लड्न शरीरले एन्टिबडी उत्पादन गर्ने गर्छ, शरीरमा एन्टिबडी भेटिएपछि केही महिनाभित्रमा भाइरसको संक्रमण भएको हुनसक्छ भन्ने अर्थ लाग्ने चिकित्सकहरू बताउँछन् । हालको समयमा उक्त व्यक्तिको शरीरमा भाइरस छ कि छैन भन्ने निर्क्यौल गर्न भने पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने हुन्छ ।

ती व्यक्ति हाल कोरोना संक्रमित रहे/नरहेको काठमाडौं ल्याएर पीसीआर टेस्ट गरेपछि मात्र पक्का हुनेछ । यसअघि हिजो पेप्सीकोलाको सनसिटी अपार्टमेन्टका ३ जनामा आरडीटीमा पोजेटिभ रिपोर्ट आएको थियो, पछि पीसीआरबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका बाग्लुङका एक व्यक्तिको भने पीसीआरमा नेगेटिभ रिपोर्ट आएको थियो ।

Leave A Reply

Your email address will not be published.