आमा बित्दा समेत घर फर्कन पाएनन्, भारतकाे क्वारेन्टाइनमै किरिया बसे छोरा

0

दार्चुला, ४ वैशाख । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्टका आमा बित्दा समेत सीमाबाट घर फिर्न पाएका छैनन् ।

भारतको काला पहाडमा रोजगारीको सिलसिलामा गएका वासुदेव जन्मभूमि फर्कने क्रममा सीमा बन्द भएपछि भारतको बालुवाकोटमा रहेको क्वारेन्टाइनमै आमाको किरिया गर्न बाध्य भएका हुन् ।

मंगलबार उनले आमाको मृत्युको खबर सुनेदेखि आमाको शाेकले पिरोलिरहेको छ । मृत्यु भएकी आमा गोमतीको एक चोटि मुख हेर्ने मन हुँदा पनि उनले नत आमाको मुख हेर्न पाए, न त अन्तिम संस्कारमा घर नै जान नै दिइयाे ।

क्वारेनटाइनमा रहेका साथीभाइको सहयोगमा सेतो लुगा पाएपछि उनी अहिले क्वारेनटाइनमै किरिया गरेर बसेका छन् । उनले घर जान पाउँ भनी नेपालमा भएका नेताहरुलाइ हारगुहार गर्दा समेत उनको त्यो आमाको अन्तिम संस्कारका लागि गरेको हारगुहार अहिलेसम्म कसैले सुनिदिएका छैनन् ।

भारतीय प्रहरीले भने नेपालले अनुमति दिएपछि उनलाइ छोडिदिने बताएकाे छ । तर नेपाल सरकारले भने उनको दु:ख नदेखेझै गरेको आरोप लागेकाे छ ।

वासुदेवका चार भाइ रहेकोमा तीमध्य रोजगारीको लागि एक भाइ लोकेन्द्र भारतको बेंगलोरमा, अर्का भाइ माधव दिल्लीमा, बाशुदेव क्वारेनटाइनमा छन् । घरमा भएका कान्छा भाइ आमाको किरियामा बसेका छन् ।

दुइ सातादेखि वासुदेव भारतको बालुवाकोटमा रहेको क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । उनकाे क्वारेन्टाइन अवधि समेत सकिएकाे छ ।

यता स्थानीय जनप्रतिनिधि भने आवश्यक पहलका लागि जिल्ला प्रशासनलाई लिखित रुपमै अनुरोध गरिएको र वासुदेवलाई घर फर्काउनका लागि पहल भइरहेको जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.