कोरोनालाई जितेकी नेपाली नर्सको बेलायतबाट पत्र

0

यशोदा पौडेल, आदरणीय बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरु, दर्जा अनुसार ढोग, नमस्कार एवं माया ।यतिबेला विश्व कोरोनाको महामारीका विरुद्ध लडिरहेको छ । आफ्नो जन्मभूमी भन्दा धेरै टाढा कर्मभूमीमा, अर्थात बेलायतमा त्यही महाशत्रुको विरुद्ध अग्रपङ्तीमा लड्दा लड्दै म आफै घाइते हुन पुगे । झण्डै तीन हप्ता लामो संघर्षपछि उ मसंग पराजित भयो । भनौं मैले युद्ध जिते । आज मेरो जन्मभूमी नेपाल पनि कोरोनाबाट त्रस्त छ । तर यथार्थ के हो भने, विश्व मै मेडिकल सिस्टम ठिक भएको भनिएको बेलायत त यसको सामुन्ने घुँडा टेक्न विवश छ भने नेपालका लागि कोरोनाको संक्रमण झनै घातक हुन सक्छ ।

त्यसैले यसका विरुद्धको लडाईमा मेरा आफन्तलाई केही उर्जा दिन सक्छु कि भन्ने ठानेर यो पत्र लेख्दैछु ।पेशाले म ए नर्स हुँ । मैले त्रिबि चिकित्साशास्त्र अध्ययन सस्थात अर्थात पोखरा नर्सिङ क्याम्पसबाट नर्सिङ उत्तिर्ण गरेकी हुँ । विगत १४ बर्ष देखि बेलायतको रेडिङ भन्ने शहरमा नर्सिङ पेशामा आवद्ध छु । रेडिङस्थित रोयल बक्सायर हस्पिटलको अपरेशन थिएटरमा मेरो जागिर छ । कोरोना महामारी बेलायतमा पनि बिस्तार भएपछि हाम्रो हस्पिटलमा पनि विरामी आउनु स्वभाविकै हो । तिनै बिरामीको सेवा गर्दा गर्दै म पनि भाइरस संक्रमित बन्न पुगे ।

हामी सबैलाई थाहा भएको कुरा हो कि कोरोना एक घातक भाइरस हो । तर यो बदनाम रोग चाही होइन । यो मान्छेबाट मान्छेमा सहजै सर्ने भएकाले विश्वलाई निकै चुनौती बनेको छ । संसारका बैज्ञानिक लागकै छन, यसको औषधी वा भ्याक्सिन पत्ता लगाउन ।विश्वास गरौं छिट्टै पत्ता लाग्नेछ र हामी विजयी हुनेछौं ।अब म मेरो भोगाई तर्फ यहाँहरुलाई लैजान चाहान्छु । सधैजसो मार्च १७, २०२० मा विहान ७.३० बजे म काममा गएकी थिए । त्यो दिन भन्दा अघि पनि नियमित काममा गएकै थिए । अस्पताल पुगेपछि मलाई ज्वरो आएको महसुस भयो ।

आफै ज्वरो नापे, सामान्य भन्दा धेरै नै थियो । अनि म आराम गर्न भन्दै घर फर्के । अलिअलि खोकी पनि थियो । केही दिनसम्म ज्वरो आउने जाने क्रम रहिरह्यो । मेडिकल टिमसंग सल्लाह र परिक्षणपछि मलाई कोरोना संक्रमण भएको पुष्टी भयो । बेलायतमा हाम्रो तीन सदस्यीय परिवार छ । म, मेरा श्रीमान र छोरा । उनीहरुसंग आइशोलेट भएर बँसे ।ज्वरोले च्याप्दै जाँदा मलाई निकै गाह्रो हुन्थ्यो । शरिर यस्तो दुख्थ्यो कि बर्णन गरेर साध्य छैन । टाउको फुटे जस्तै लाग्थ्यो । शरीर लगलगी काप्ने । निकै कमजोर महुसस हुन्थ्यो ।

कोरोनाले विश्वभरी मान्छेहरु मरिरहेका थिए । यी खबरबाट म बेखबर थिइन । त्यसैले मनमा डर लाग्नु, अनेकन सोच आउनु स्वभाविकै थियो । फेरि शरीरको दुखाईले घरी घरी त जिन्दगी यत्ति नै रहेछ कि भन्ने पनि नलाग्ने चाही होइन ।तैपनि मैले हिम्मत हारिन ।खानामा विशेष ध्यान दिए । खाना खान त मन लाग्दैनथ्यो तर खाना नखानु भनेको झन कमजोर बन्नु हो भन्ने मलाई थाहा थियो । कोरोनाले सबै भन्दा कमजोर पार्ने हाम्रो श्वासप्रश्वास प्रणाली मै हो । त्यसैले श्वास प्रश्वासको ब्यायाम गर्न छोडिन । कोरोना संक्रमिततलाई सास लिन फेर्न गाह्रो हुनु भनेको सबै भन्दा घातक लक्षण हो ।

ममा त्यो लक्षण आउन नदिन विभिन्न यु ट्युब च्यानलहरु हेरेर श्वास प्रश्वास सम्बन्धी विभिन्न ब्यायाम गरिरहे । जसले मेरो फोक्सो कमजोर हुन दिएन । छाती अर्थात फोक्सो र घाटी जोगाउनका लागि तातो पनि जति सक्यो धेरै सेवन गरे । नियमित रुपमा बाफ लिने काम पनि गरिरहे ।मैले सधै सकारात्मक सोच राखिराखे । र विश्वास गरेकि म यसलाई जित्नेछु । मेरा श्रीमान पनि पेशाले डाक्टर हुनुहुन्छ । उहाँले मलाई सधै सकारात्मक सोच्न र आत्म बलियो बनाउन प्रेरित गरिरहनु भयो । उहाँको मायाले मलाई कोरोना विरुद्धको लडाई लड्न बल मिल्यो ।

ब्यायामको भुमिका र खानपिनको महत्वलाई ध्यान दिएर हौसला दिइरहनुभयो ।लण्डनमा हाम्रो परिवारको तेश्रो सदस्य, छोरो छ । १९ बर्षीय छोराले मलाई कत्तिबेला पनि कमजोर अुनुभुती हुन दिएन । उसमा भाइरस नसार्नका लागि म पूर्ण सजग थिए । हामी एक आपसमा सम्पर्कमा त आएनौं, तर पनि मलाई एक्लो महसुस हुने वातावरण पनि बनेन । परिवारको माया र साथिसंगीको साथ पाइरहे । जसले गर्दा मलाई प्राण घातक कोरोनाका विरुद्ध विजयी संघर्ष गर्न आत्मबल मिल्यो ।यसर्थ म यो भन्न चाहान्छु की तपाईको परिवारमा कसैलाई लक्षण देखिएको खण्डमा उसलाई माया र सम्मानको नजरले हेर्नु होला ।

साथी भाइ इष्टमित्र छरछिमेक कसैलाई कोरोना संक्रमण भयो भने पनि इज्यत दिनु होला । मनोबैज्ञानिक ढंगले सबल बनाउन सक्दो भूमिका खेल्नु होला । यो भाइरस विरुद्धको लडाई कमजोर आत्मबल भएको मानिसले जित्न सक्दैन । मान्छेलाई आत्मैदेखि बलियो बनाउनका लागि माया, प्रेरणा र हौसला बाहेक अर्को कुनै हतियार छैन ।लगातार १३ दिनको ज्वरोपछि मलाई बिस्तारै सहज हुँदै गयो । ज्वरो आएको बेलामा ६–६ घण्टामा एक ग्राम पारा सिटामोल नियमित सेवन गरे । यसले शरिरको दुखाई हल्का गराउथ्यो भने ज्वरो पनि केही कम गर्दथ्यो ।अहिले म पूर्ण रुपमा स्वस्थ भएकी छु । र फेरि नियमित काममा फर्केकी छु ।

अहिले पनि मेरो दायित्व भनेको कोराना संक्रमित बिरामी कै सेवा गर्नु हो, र गरिरहेकी छु । मलाई विश्वास छ कि म ती अमूल्य जिवनहरु जो अहिले आइसियुको बेडमा मृत्युसंग लडिरहेका छन, उनीहरुलाई बचाएर मेरो मानवताको धर्म निभाइरेको छु, निभाइरहने छु ।त्यसैले म भन्छु, अहिले यसको औषधी छैन । यसबाट सकेसम्म जोगिनु सबै भन्दा उत्तम बिकल्प हो । तर कसलाई कति बेला सर्छ कुनै ग्यारेन्टी छैन । जुनसुकै बेला पनि आफु कोरोना भाइरसबाट संक्रमित हुन सकिन्छ भन्ने कुरामा मानसिक रुपमा तयार हुनैपर्छ, र लडाई जित्ने आत्म विश्वास बनाई राख्नुपर्छ । चार शब्दमा भन्न चाहान्छु– सकारात्मक रहनु, सकारात्मक सोच्नु ।धन्यवाद ।

Leave A Reply

Your email address will not be published.