धन भएको तर मन नभएको निर्दयी काठमाडौँ, सायद अब फर्कन्नौ होला…

0

काठमान्डौ , ‘सायद अब हामी काठमाडौ फर्कन्नौ होला । पशुपतिनाथ बाहेक काठमाडौमा मन भएका कोहि छैनन । मन हुनेको धन नहुने रहेछ धन हुनेको मन । आजित भयौ र पैदल हिड्ने निर्णमा पुग्यौ’– निर्माण क्षेत्रमा कार्यरत दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका २ च्यानेगाउँका ४८ बर्षिय रामजी खड्काले बताउनु भयो ।‘दोलखाको मेलुङ्गबाट म लगायत मेरो भाञ्जा दिनेश कार्की लगायत काठमाडौको टोखा नजिकै नारायणस्थान आसपास घर निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका थियौं । सरकारले घोषणा गरेको लकडाउनका बारेमा जानकारी भए पनि हामीलाई ठेकेदारले काम लगाईरह्यो ।

सात दिन काम गरेर केहि पैसा पनि दियो । यता लकडाउनको अवधी लम्बियो । काम रोकियो । ठेकेदार पनि गायव । हामीसँग भएको पैसा सकियो ।त्यसपछि हामी अलपत्र प¥यौं’– खड्काले भन्नुभयो – ‘पैसा सकिए पछि वडा कार्यालयमा राहत माग्न गयौं ।नागरिकता नभएका कारण राहत उपलब्ध भएन । घरधनीलाई नागरिकताका लागि साक्षि बसिदिन भन्यौं । उल्टै घर भाडा दोब्बर चाहिन्छ भनेर सिफारिस पनि गरिदिन मानेनन । पहिले तिमीहरु राति मात्रै बस्थ्यौं अहिले दिउसो पनि बसेकाले भाडा दोब्बर चाहिन्छ भनेर दबाब दिए ।

तत्काल १०० नम्वरमा फोन गरेर प्रहरीलाई बोलायौं । उनिहरुले पनि केहि गरेनन् । पत्रकारलाई खवर ग¥यौं केहि हुन सकेन । प्रहरी, पत्रकार सबैलाई भन्दा पनि खान र बस्नै संकट भए पछि भोकले मर्नु भन्दा रोग लागे पनि लागोस तर परिवारसँगै मरौ भन्ने सोचले विहिबार दिउसो साढे ४ बजे राजधानीबाट पैदल हिडेर दोलखाको मेलुङ्ग जाने योजनामा निस्कियौं ।’‘पैदल त निस्कियौं तर प्रहरीले राजमार्गबाट हिड्न अवरोध ग¥यो, कोटेश्वरबाट भागेर भित्री सडकमा पुग्यौं । खेतबाट हिड्दा हिलाम्मे भयौं । पानीले निथ्रुक्क भिज्यौं ।

ठिमी आईपुगेछौं । ठिमीमा प्रहरीले रोक्यो । मध्यरात भईसकेको थियो । मोवाईल साथमा थियो । प्रहरीलाई अनुनय विनय ग¥यौं उनिहरुको मनमा दया पलायन ।रोयौं, करायौं तर पनि उनिहरुले माथिको आदेश भन्दै राजमार्गबाट जान दिएनन’–मजदुर दिनेश कार्कीले भन्नुभयो–‘राजमार्गबाट मात्रै हिड्न पाएको भए पनि सहयोगीहरु भेटिन सक्थे । खान त पाईन्थ्यो । ठिमीमा एक जनाले चाउचाउ, विस्कुट र पानी दिनु भयो । त्यहि खाँदै हिडिरह्यौं । साँगामा फेरी प्रहरीले छेक्यो । भित्रभित्र खेत नै खेत जाँदा लगाएको एक जोर चप्पल पनि छिन्यो ।

पानीले पनि चुट्यो । अवको तीन दिनमा दोलखाको मेलुङ्ग पुग्छौं होला । वडा अध्यक्ष, अध्यक्ष, दलको नेतालाई पनि फोन ग¥यौं । सबैले निरिहता प्रकट गर्नु भयो ।’‘हामीले बुझेका छौं, मान्छेकै कारण फैलन सक्ने महामारी हाम्रो कारण फैलन सक्छ । तर खानै नपाएर मर्नु भन्दा त रोगले मर्नु निको भएन र ?’–कार्कीले भन्नुभयो–‘हामी जस्ता श्रमिकहरुका लागि सरकारले स्थानीय सरकारको समन्वयमा क्वारेन्टाईन वा विहान बेलुका खानाको ब्यवस्था गर्नु पर्दथ्यो ।’हामीलाई के गाह्रो छ र ? बच्चा बोकेर ७/१० दिनको बाटो पैदल हिड्ने मजदुरका परिवारलाई कस्तो भयो होला ?

कुन तहको सरकारले सुन्छ यस्तो पीडा ? हाम्रा बाबु बाजेहरु १६ दिन लगाएर नुनको भारी बोकेर हिडेको याद छ हाम्रा लागि यो ठुलो कुरा होईन ।तर काठमाडौ जस्तो दया, माया र करुण नभएको शहर सायदै अन्यत्र नहोला ।’ ‘श्रमका लागि काठमाडौ फर्कन्न होला’–उहाँले भन्नुभयो–‘काठमाडौ धन भएको तर मन नभएको शहर रहेछ ।’राजमार्गबाट पैदल हिड्न प्रशासनले रोक लगाए पछि भित्री सडकहरुबाट गन्तब्य पुग्नेहरुको कष्टकर यात्रा शुरु भएको छ । सरकारले समयमै यसको ब्यवस्थापनमा ध्यान दिन सकेन भने रोगले हैन संकटको महामारी फैलने पैदलयात्रुहरुको भोगाई छ ।नेपाल समाचारपत्र

Leave A Reply

Your email address will not be published.