राजमार्गमा रुँदै पानीमा भिज्दै हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउँछ’

0

बुटवल। काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। २ महिनाको छोरा, सुत्केरी श्रीमती र बुढा भएका बाबुलाई लिएर घर हिँडे। उनीसँग अरु कुनै उपाय थिएन। उनीहरु ४ दिन हिँडेर रुपन्देहीको सैनामैना आइपुगेका थिए। उनीहरुलाई प्युठान पुग्नु छ। ‘अरु २–३ दिन हिडेपछि घर पुगिन्छ कि’, उनी आशावादी छन्।

उनीहरुसहित इँट्टाभट्टाका करीब ३ सय जना अलपत्र परे। उनीहरु हिँडेरै घर पुग्ने आशमा वैशाखको गर्मीमा पसिना चुहाउँदै हिडेका छन्। साथमा रहेका बालबच्चाहरुसहित उनीहरु आफ्नै घर पुग्ने आशमा निरन्तर हिँडिरहेका छन्। टीकापुर कैलालीकी दिव्या चौधरी साढे ९ महिनाको छोरा काँधमा बोकेर हिडिरहेकी छिन्। साथमा साना साना छोराछोरी छन्। उनीहरु आमा हाँसे खुशी हुन्छन्, आमा रोए, रोइदिन्छन्। ‘खानेके लिए कुछ नही, कौडी भी नही बचा, हमारे तो कोही नही हे,’ उनी बोल्दाबोल्दै रोइन्। बच्चाहरु आमा रोएको देखेपछि रोए। उनी रुँदै अघि बढिन्। उनले रुदै भनिन ‘चुनाब फेरी आउछ’ यसरी साना बालबालिका लिएर रुँदै हिड्नेहरु पूर्व–पश्चिम राजमार्गमा दिनदिनै भेटिन्छन्। सरकारले शुरुमा एक हप्ता लकडाउन गरेका कारण त्यसपछि उनीहरु घर फर्किने तयारी गर्दै थिए। तर सरकारले लकडाउन थपिरह्यो। अनि उनीहरु जस्ता दिनभर काम गरेर बेलुका हातमुख जोर्नेहरुलाई समस्या भयो। इटाभट्टामा काम गर्ने, भवन बनाउने मजदुर, खोलामा गिट्टीढुंगाको काम गर्नेहरु सबैभन्दा बढी समस्यामा परे।

‘एकहप्ता हो, त्यसपछि त खुल्छ भन्ने भयो, साहुले त्यही भनेका थिए– काठमाडौंबाट नेपालगञ्ज हिँडेका अफ्ताब अलीले भने। उनीहरुजस्ता मजदुरहरु साना साना समूह बनाएर हिडिरहेका छन्। अलपत्र परेका साना साना समूह देखेपछि अरुले सहयोग गर्छन् कि भन्ने झिनो आश छ उनीहरुमा। ‘बाटोमा कसैले केही दियो भने खान्छौं, नभए साथमा रहेका चिउरा, चाउचाउ चपाउने भोक मेटाउने गरेका छौं–नारायणघाटबाट बैतडीको पाटन नगरपालिका जान हिँडेका हम्पादत्त अवस्थीले भने–कसैले पानी दिन्छन्, कसैले चाउचाउ दिन्छन्।’

पैदलै हिड्नेहरु प्रहरी चौकीमा गुहार माग्न पुग्छन्। घर पुर्‍याइदिने व्यवस्था मिलाइदिन अनुनय विनय गर्छन्। कतिपयले सकिदैँन भन्छन्, कसैले बालबालिका, महिला, वृद्धवृद्धालाई सामान बोकेर राजमार्गमा ओहोरदोहोर गर्ने गाडीमा चढाइदिन्छन्। काठमाडौंबाट नेपालगञ्ज जान हिडेका सफीक अलीसँगै आएका केही महिला र बालबालिकालाई प्रहरीले गाडी चढाइदिए।

‘हामीहरु हिँड्नसक्नेहरु हिडिरहेका छौं, ५ दिन भयो हिडेको, कतै प्रहरीले गाडीमा चढाइदिए आज घर पुगिन्थ्यो होला, होइन भने भोलिपर्सीसम्म हिड्नुपर्छ, उनी प्रहरीले गाडी चढाइदिनेमा आशावादी देखिन्थे। प्रहरीलाई पनि सर्वसाधारणलाई घरसम्म पुग्न व्यवस्था गरिदिने अनुमति छैन। तर उनीहरु मानवीयताका नाताले सडकमा कैयौंदिनदेखि हिडिरहेका व्यक्तिहरुको पीडा र समस्या देखेर सहयोग गरिरहेका छन्।

‘हामीलाई त्यस्तो केही आदेश छैन, सकभर लकडाउनको पालना गराउने भन्ने आदेश छ, कपिलवस्तुको सीमा क्षेत्रमा लकडाउन पालना गराउन खटिएका एक प्रहरीले भने–मोटरसाइकलमा, साइकलमा यताउता हिडिरहेका यहीँका मान्छेलाई घरभित्रै बस्नुस् भन्नुपर्छ, तर १०–११ दिनसम्म हिडेर आएकाहरुलाई माथिबाट आदेश नआएपनि उनीहरुका दुःख देखेर सामान बोक्ने गाडी, औषधि बोक्ने गाडीमा केटाकेटी, महिला, बुढाबुढीलाई सहयोग गरिदिनुस् भनेका छौं, तर हामीलाई त्यस्तो आदेश छैन, हामी पनि बाध्यतामा छौं।’

यस्तै सहयोगमा जुटेका छन् समुदायका केही मनकारी व्यक्तिहरु। सैनामैनाकै सोरौलीमा सोरौली टोल विकास संस्थाले टोलका १ सय ८० घरबाट उठाएको रकमबाट सडकमा हिडिरहेकाहरुलाई खाना खुवाइरहेको छ। यस्तै स्वयम्सेवी संघसंस्थाहरुले सडकमा हिड्नेहरुलाई खाना, पानी, चाउचाउ, चिउराजस्ता खानेकुरा सहयोग गरिरहेका देखिन्छन्।

सडकमा हिडिरहेकाहरुको सरकारसँग एउटामात्रै आशा छ–घर पुग्ने व्यवस्था मिलाइदेऊ। ‘बस्ने बास नभएको ठाउँमा कसरी बस्नु ? एकदुईकिलो राहतले कति दिन चल्छ र? घर पुग्न पाए जे छ त्यही खाएर बस्थ्यौं, आफ्नै घर पुग्न पाए त हुन्थ्यो नि, –काठमाडौंबाट ५ दिनअघि कैलालीको टीकापुर जान हिडेका निर्माण मजदुर अविराम चौधरीले भने–आजसम्म साहुले जे भन्यो त्यही गर्‍ययौं, उसकै लागि काम गर्‍ययौं, जब समस्या पर्‍ययो, उसले पनि घर जाउ भन्यो, यो अवस्थामा सरकारले त केही गर्छ कि भन्ने थियो, तर सरकारले घरबाहिर ननिस्कनु मात्रै भन्यो, हामीजस्ता जहाँ काम गर्‍ययो त्यहीँ बस्ने, घर नभएकाहरु त्यो शहरमा कहाँ बस्छन् होला भनेर सोंचेन।’

संघ सरकारले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट जोगिनका लागि लकडाउनको घोषणा गरेको हो। संघ सरकारले कसैलाई पनि घरबाहिर ननिस्कन भनेको छ। यो संघकै नीति हो। यसको सबैले पालना गर्नुपर्छ।

लकडाउनको समयमा पनि आममानिसहरु, मजदुरहरु घर पुग्न भन्दै पैदलै हिँडिरहेको भन्ने जुन कुरा छ, त्यसमा संघ सरकारले नै के गर्ने भन्ने नीति ल्याउनुपर्छ। प्रदेशभित्रका मजदुरको बारेमा हामीहरुले पहिले नै भनिसकेका छौ कि कुनै पनि निर्माण कम्पनी वा ठेकेदारले मजदुरहरुलाई अलपत्र पार्ने काम गर्न पाइन्न। निर्माण व्यवसायीले मजदुरहरुलाई काममा लगाउनसकिने अवस्था छ र अरु व्यक्तिहरुसँग सम्पर्क हुँदैन भने काममा लगाउन सक्छन्। तर त्यो पूर्णतः सुरक्षित हुनुपर्छ। समुदायबाट आइसोलेटेड हुनुपर्छ।

सरकारका कतिपय आयोजनाका काम यसरी भइरहेका पनि छन्। उनीहरु पूर्णत समुदायबाट टाढा र सुरक्षित अवस्थामा छन्। त्यसरी काम गर्न सकिन्छ। तर काम भएन र मजदुर राख्न सकिएन भनेर उनीहरुलाई अलपत्र पार्न पाइदैन। प्रदेश सरकारले यसअघि पनि भनिसकेको छ कि प्रदेशभरका निर्माण व्यवसायी वा अरु कम्पनीहरुले पनि श्रमिकलाई अलपत्र पार्ने गरी कुनै पनि निर्णय गर्न पाइँदैन।

सबै श्रमजीविहरुलाई यो संकटको अवस्थामा अलपत्र पार्ने, ज्याला नदिने गर्न मिल्दैन। अहिलेसम्म यसरी अलपत्र पर्‍ययौं भनेर हामीसँग कुनैखालको उजुरी वा गुनासो आएको छैन। यदि त्यस्तो समस्या छ भने हामीले तुरुन्त कारबाही गछौं। यो लकडाउनको अवस्थामा सबैलाई संकट परेको छ। लकडाउनको विषयमा संघ र प्रदेशको नीति फरक फरक देखिएको छ। सरकारले भनेअनुसार लकडाउनको पालना गर्नुपर्छ। तर दिनहुँ हिडेर घर पुग्ने मजदुरहरु अलपत्र परेको बारेमा सोच्नुपर्छ।

अहिले नै घरबाहिर रहेका सबैलाई घरसम्म पुर्‍ययाउनुपर्छ भन्नेमा हामी तयार छैनौं। पहिलेजस्तो अवस्था छैन। यो संवेदनशील अवस्थामा यदि सरकारले सीमित संख्यामा साधन चलाउने गरी वातावरण तयार गर्ने हो भने हामी तयार छौं। मजदुरहरुले दुःख पाएका छन्। उनीहरुलाई घरसम्म पुर्‍ययाउनुपर्छ भन्नेमा सरकार तयार रहने हो र सरकारले हामीलाई अनुरोध गर्ने हो भने हामीले सरकारलाई सहयोग गर्न तयार छौं। मानवीयताका हिसाबले हाम्रा यातायात मजदुरहरु पूर्ण सुरक्षित हुने र त्यसरी ओहोरदोहोर गर्दा अरु सर्वसाधारणलाई असर नगर्ने गरी अलपत्र परेकाहरुलाई घरसम्म पुर्‍ययाउने व्यवस्था गर्नका लागि हामी तयार छौं।

Leave A Reply

Your email address will not be published.