उदयपुरमा कोरोना सङ्क्रमित १२ जनाको आरडीटीमा कोरोना देखिएको थिएन

0

काठमाडौं, उदयपुरमा कोभिड–१९ को सङ्क्रमण देखिएका १२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट आरडीटीमा कोरोना नभएको रिपोर्ट आएको पाइएको छ ।त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा रहेको मस्जिदमा एक महिना अघि आइपुगेका १२ जना भारतीय र चारजना विराटनगरका सहित १६ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिनुभयो ।तर उनीहरु बाहिरबाट आएका भएकाले पीसीआर विधिबाट पनि परीक्षण गरिरार्खौँ भनेर परीक्षण गर्दा उनीहरुमध्ये १२ जनामा कोभिड १९ को सङ्क्रमण भएको रिपोर्ट आएको उहाँले बताउनुभयो ।

‘हामीले र्‍यापिड परीक्षण गर्दा नेगेटिभ देखाएको थियो। तर हामीलाई शंका लागेर सबैको स्वाब परीक्षणका लागि झिकेका थियौं,’ परीक्षणमा खटिएका स्वास्थ्यकर्मी भने, ‘त्यसपछि हामीले स्वाब कोशी अस्पतालको प्रयोगशालामा पठाएका थियौं।’ त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएकोमा आश्चर्य व्यक्त गरे। यसअगाडि नै चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किटको गुणस्तरमा विज्ञहरूले प्रश्न तेर्स्याएका थिए।’ हामीलाई यसको नतिजामा विश्वास छैन। विश्व स्वास्थ्य संगठनले पनि यो किटलाई मान्यता दिएको छैन,’ प्रयोगशालामै काम गर्ने एक स्वास्थ्यकर्मीले भने, ‘सकेसम्म हामी यो किट प्रयोग गर्दैनौं ।’

गत चैत २५ गते वीरगन्जबाट कैलाली पुगेका एक महिलाको पनि र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखाएको थियो। त्यसपछि उनीसँगै नेगेटिभ आएका १६ जनालाई २९ गते घर पठाइयो । तर वैशाख १ गते पिसिआरमा गरिएको परीक्षणमा महिलामा कोरोना संक्रमण देखियो। लगत्तै महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो।र्‍यापिड टेस्टले कोरोना संक्रमित व्यक्तिमा उक्त भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको छ वा छैन भनेर पत्ता लगाउने हो। विज्ञहरूका अनुसार कसैलाई कोरोना संक्रमण देखिएपछि व्यक्तिको शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ।

यो एन्टिबडी दुई प्रकारको हुन्छ। एउटा ‘आइजिएम’ र अर्को ‘आइजिजी’। आइजिम संक्रमण भएको दुई-तीन दिनमा उत्पादन हुन सुरू गर्छ र दुई सातासम्ममा हराएर जान्छ। त्यसपछि अर्को आइजिजी भन्ने एन्टिबडी उत्पादन हुन सुरू गर्छ। यसको काम पनि भाइरससँग लड्ने हो। त्यसैले आइजिएम पोजेटिभ देखायो भने कोरोना भाइरस भर्खरै भएको भन्ने हुन्छ। आइजिजी पोजेटिभ देखायो भने कोरोना संक्रमण अलिअगाडि थियो भन्ने हो।

Leave A Reply

Your email address will not be published.