सुरेन्द्र र जनार्दन चर्चामै सीमित, महेश बस्नेतको नामै चट्

वामदेवको चित्त बुझाउन खोज्दा कोपभाजनमा परे कृष्णगोपाल

0

काठमाडौं । पदमुक्त हुने र नियुक्ति पाउने मन्त्रीबारे अनेक आँकलनलाई पूर्णविराम लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरे । ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका उनले त्यति नै संख्यामा मन्त्री र राज्यमन्त्री थपे ।हटेका र नियुक्ति पाएका केही नाम चर्चाअनुसार नै भएता पनि चर्चामा रहेकाहरु केहीले मन्त्री बन्ने अवसर पाएनन् ।

जसको पद जोगियो

मन्त्रिपरिषद् पुनर्गठनको तयारी हुँदै गर्दा हटाउने तयारी भन्दै धेरै मन्त्रीहरुको नाम आयो । जसमध्ये तत्कालीन उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाउने पक्का भनिएको थियो । नभन्दै तीनै जनाको मन्त्री पद गयो।

निकै आलोचना खेपेका र विवादमा परेका तत्कालीन भौतिकपूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नाम सुरुमा हटाउनेको सूचीमा थियो । महासेठले दौडधुपपछि मन्त्री पद थमौती पाएको अनुमान नेकपाका नेताहरुले गरेका थिए । तर, प्रधानमन्त्री ओलीले उनलाई पनि विदा गरिदिए ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि हट्ने कि रहने भन्नेमा अन्योल थियो । बुधबार दिउँसोसम्म पनि दुईमध्ये एक हट्ने सम्भावना रहेको नेकपाका नेताले बताइरहेका थिए ।तर, साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले विष्ट र पण्डित दुवैलाई हटाएका छन् ।

यो पटक हटाउने भनिएका केही मन्त्री भने सुरक्षित भए । खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाउने चर्चा थियो । नेकपा सचिवालयकै सदस्यहरु पनि त्यो सम्भावनालाई नकार्दैनथे । तर, दुवैको पद थमौती भयो ।यस्तै, भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको पनि पद जोगिएको छ ।

जसले चर्चा पाए, मन्त्री भएनन्

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा हटाउने मात्र होइन, नयाँ बन्ने मन्त्रीहरुको पनि नाम निकै चर्चामा रह्यो ।तर, पक्का भनिएका केही नाम मन्त्रीको सूचीमा परेन भने केहीले ‘सरप्राइज इन्ट्री’ मारेका छन् । मन्त्री बन्ने पक्का भनिएका सुरेन्द्र पाण्डे र जनार्दन शर्मा ‘प्रभाकर’ सूचीमा परेनन् । त्यस्तै चर्चामा रहेका देवेन्द्र पौडेल, प्रेम आले, यज्ञराज सुनुवार, पम्फा भुसाल र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बनेनन् ।

नेकपा उच्च स्रोतका अनुसार मन्त्री बन्ने पक्का भइसकेका महेश बस्नेतको नाम पनि अन्तिम समयमा आएर काटियो । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी थियो । स्रोत भन्छ, ‘साँझ ५/६ बजेसम्म उनी नै मन्त्री भन्ने थियो, तर अन्तिममा उनको नाम नै काटिएछ ।’

पाँचथरे नेता बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । उनी मन्त्री बन्ने पक्का थियो । तीन पटक (०४८, ०५६ र ०७४) मा चुनाव जितेका उनले २०६४ र २०७० मा टिकट पाएका थिएनन् । यो पटक पाँचथरबाट उनलाई मन्त्री बनाउनुपर्छ भन्नेमा पूर्वएमालेका नेताहरु एकमत देखिएका थिए । त्यसमाथि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि जोडबल थियो ।

एक नेताका अनुसार नेम्वाङलाई राज्यमन्त्री मात्र बनाउने तयारी थियो । तर, भर्खर संसदीय राजनीतिमा आएकी विना मगरलाई मन्त्री राखिराखेर नेम्वाङलाई चाहिँ राज्यमन्त्री बनाउन पूर्वएमालेका नेताहरु तयार भएनन् । र, उनी मन्त्री मात्र भएनन्, महेश बस्नेतलाई दिने भनिएको भौतिक पूर्वाधार मन्त्रालय पाएका छन् ।

बिराटनगरमा नयाँ होटल खोलेका सांसद मोती दुगडसँगै प्रचण्ड निवासमा पुगेर बामदेवलाई सीट खाली गर्न राजीनामा बुझाएका सांसद रामवीर मानन्धरले यसपटक ‘सरप्राइज इन्ट्री’ मारेका छन् ।

कुनै समय ‘नवनेपाल निर्माण’ नामक पार्टी खोलेका उद्योगी दुगड नेकपाको समानुपातिक सूचीमा परेर सांसद भएका थिए । अहिले प्रधानमन्त्री ओलीको जोडबलमा उनलाई उद्योग राज्यमन्त्री बनाइएको छ, जुन यसअघि चर्चामा थिएन । प्रधानमन्त्री ओली बिराटनगर जाँदा कहिलेकाहीँ दुगडको होटलमा बस्ने गर्छन् ।

यस्तै बामदेव गौतम निकट मानिएका सांसद रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री भएका छन् । उनी बामदेव गौतमका लागि काठमाडौं ७ को सिट खाली गराउन तयार भएका सांसद हुन् । त्यसबेला निकै आलोचना भएपछि गौतमले काठमाडौंमा चुनाव लड्ने सोच त्यागेका थिए ।

तर, गौतमको जोडबलमा रामवीरलाई राज्यमन्त्री बनाउँदा प्रधानमन्त्री ओली निकट मानिएका कृष्णगोपाल श्रेष्ठ भने मन्त्रिपरिषदमा अटाउन सकेनन् ।

Leave A Reply

Your email address will not be published.