२ जना नागरिक लैजान नेपाल आयो भुटानी विमान, ‘सरकारप्रति गर्व छ’ – यात्रु

0

काठमाडौं। भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ । नेपालमा रहेका दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाण्डौ आएको थियो । यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ ।

जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको हो । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिए ।

भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्वरेण्टीनमा बसेका छन् । थिम्पुको एक क्वरेण्टीनमा बसेका पाइलट सोनाम तोब्गेले भने, ‘मैले त हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँथे तर आज जम्मा दुई जना मात्रै यात्रु थियौँ, अनौठो लाग्यो ।’

उनले आफूलाई भुटान सरकारप्रति गर्व रहेको पनि बताए । ‘जहाजको पैसा हामी दुई जनाले ति¥यौँ तर हाम्रो लागि सरकारले जुन रेस्पोन्स गर्‍यो, त्यसमा मलाई गर्व लागेको छ ।’

‘दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा त हामी पनि अचम्ममा परेका थियौँ, जहाज आएर उनि हरुलाई लिएर गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले भने ।

विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका थिए ।

Leave A Reply

Your email address will not be published.