पोखरामा क्वारेन्टाइनमा बसेका १०७ चिनियाँमा देखिएन कोरोना

0

पोखरा, चैत ५ – चीनबाट आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका १०७ चिनियाँ मजदुर पोखरा विमानस्थल निर्माणको काममा जुटेका छन्।कोरोना उद्गम देशबाट आएका उनीहरुलाई शंका*स्पद भन्दै क्वारेन्टाइनमा राखिएको थियो। १५ दिन क्वारेन्टाइनमा बस्दासमेत उनीहरुमा कोरोना नलागेको पुष्टि भएपछि ती चिनियाँ काममा फर्किएको पोखरा विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीले जानकारी दिए।

मुनकर्मीका अनुसार ती मजदुर सोमबारदेखि काममा फर्किएका हुन्। ‘उनीहरुको नियमित परीक्षण भएको थियो, ज्वरो आउने लगायत कुनै लक्षण देखिएन र काममा लागे’, उनले भने, ‘रुगाखोकी, ज्वरो आएको भने उपचारमा लागिन्थ्यो।’

चीनको सिचुवान प्रान्तबाट आएका चिनियाँ उतै पनि क्वारेन्टाइनमा बसेको र आउँदा कोरोना नलागेको प्रमाणपत्रसमेत लिएर आएको जानकारी मुनकर्मीले दिए। उनले भने, ‘तर यहाँ पनि क्वारेन्टाइनमा राखेका थियौं।’ ती चिनियाँ र यहीं रहेका अरु अनि नेपालीहरुसमेत गरी सबै मजदुर विमानस्थल निर्माणमा खटिएको जानकारी मुनकर्मीले दिए।

चिनियाँ मजदुरमा कोरोना देखिएको लगायत अरु अप्रिय हल्लासमेत चलेकोमा त्यसमा कुनै सत्यता नरहेको मुनकर्मीले सुनाए। उनकै भनाइमा विमानस्थलको ५६ प्रतिशत काम पूरा भइसकेको छ। अन्नपुर्ण पोष्टमा खबर छ ।

मार्च महिनाका ४, ५ र ६ गते तीन दिन गरेर चिनियाँ मजदुर पोखरा आएका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरामा २ सय ८० चाइनिजर र १ सय ९० नेपाली गरि ४ सय ७० रहेका छन्। तीमध्ये गत हप्ता पोखरा आएका ७० जना चिनियाँ बाहेक अन्य मजदुरहरुले नियमित काम गरिरहेका छन्।

तोकिएको समयभन्दा ६ महिनाअघि नै विमानस्थल निर्माण सम्पन्न हुने चिनियाँ निर्माण कम्पनी सीएएमसीईले बताउँदै आएको छ। निर्माण कम्पनीले भने अनुसार नै काम हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए।

विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन लगायत महत्वपूर्ण काम पूरा भइसकेको छ। अहिले एयर ट्राफिक टावरको ८ तले अग्लो बिल्डिङ, टर्मिनल, हेङ्गर लगायत १४ वटा बिल्डिङको निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। एयर ट्राफिक टावर, टमीनल बिल्डिङ, हेङ्गर लगायत बिल्डिङको फिनिसिङको काम हुँदैछ। बाँकी काम इक्युपमेण्ट इन्स्टल गर्ने मसिन आएपछि सुरु हुनेछ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको हो।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था ९आइकाओ० को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ।

Leave A Reply

Your email address will not be published.