लकडाउनको ३०औ दिन: झन् लकडाउन कडा बनाइदै

0

चितवन, सरकारले लकडाउन घोषणा गरेको आज ३० दिन पुगेको छ । सरकारले गत चैत्र ११ गते देशभर लकडाउन घोषणा गरेलगत्तै चितवनमा पनि यसको प्रभाव परेको छ । पछिल्लो समय लकडाउनको अवधि लम्बिएसँगै चितवनमा थप कडाइ हँुदै गएको छ । स्थानीय प्रशासनले केही दिनपहिले सार्वजनिक सूचना जारी गरेर लकडाउनमा थप कडाइ गर्ने जनाएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिकाका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि चितवन प्रशासनले थप कडाइ गर्न थालेको हो ।

चितवनमा अत्यावश्यक खाद्य सामग्री बेच्ने पसलबाहेक अन्य व्यवसाय पूर्णरुपमा बन्द रहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका अत्यावश्यक काममा हिँड्नेबाहेक अन्य सवारी साधन सञ्चालमा प्रतिबन्ध गरिएको छ । चितवन प्रवेश गर्ने मुख्य नाकाहरु नारायणगढको पुलचोक, लोथर, मौवा खोला, मुग्लिनमा विशेष निगरानी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ ।यसैगरी भरतपुर महानगरपालिकाका भित्री सडकहरुमा पनि प्रहरीले माइकिङ गरी अनावश्यक हिँडडुल नगर्न, जमघट, भेला नगर्न, प्रातःकालीन भ्रमण नगर्न तथा जथाभावी नहिँड्न सचेत गराएको छ ।

अहिले बाहिर निकाल्न मिल्ने जति सबै सुरक्षाकर्मीहरु परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जनाकारी दिनुभएको छ । प्रशासनले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अत्यावश्यक खाद्यान्न खरिद बिक्री गर्न भनेको छ। उता चितवनकै दक्षिणी क्षेत्र माडी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभएको छ। पर्साको ठोरी हुँदै भारतबाट मानिसहरु माडी प्रवेश गर्ने सम्भावना रहेको हुँदा माडी प्रवेश गर्ने सीमामा कडाइ गरिएको उहाँले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.