काठमाण्डौबाट बाहिरिने नागरिक भन्छन्, गाउँ फर्केपछि आफ्नै बारीको मकै, कोदो जे छ खाउँला तर काठमाण्डौ बस्दिन !

0

“काम गर्ने मान्छेलाई यो शहरमा उसै बस्न गाह्रो हुँदोरहेछ, बरु गाउँ गएर मकै छरेर लकडाउन सकिएपछि आउँछु ।” सिन्धुली सिरथौलीकी निर्मला तामाङ बन्दाबन्दीको समयमा पनि गाउँ जान पाउँदा खुशी हुनुहुन्छ । उहाँलाई लकडाउनपछिको एक महिना एउटै कोठामा बिताउन गाह्रो भएको थियो । दैनिक ज्यालादारी गरेर तीन छोरछोरी पढाउँदै आउनुभएका उहाँले झण्डै एक महिना पहिलेदेखि भने हात बाँधेर बस्नुप¥यो ।

तामाङले लकडाउन पहिले एक बोरा चामल, दाल, चिनीलगायतका खाद्यान्न किन्नुभएको थियो । त्यही खानेकुरा खाँदै गर्दा वडा कार्यालयबाट पनि राहत पाउनुभयो । आफूले किनेको र राहतको खाद्यान्न घरमै बसेर खाँदा सकिँदै गएकाले उहाँलाई फेरि पाइने हो कि होइन भन्ने चिन्ता थियो । एउटा सानो कोठामा तीन सन्तानलाई अड्याएर राख्न पनि हम्मेहम्मे परेको थियो । आफ्नो घर गएपछि ढुक्कले बस्न पाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घर गएपछि त मकै, कोदो जे–जे छ त्यही खाए भो नि ।”

लकडाउनका कारण खान–बस्न कठिनाइ आएकाले घर फर्किने शर्मिला मात्रै होइन । बुधबार साँझ सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्ला जाने धेरै व्यक्ति जडीबुटी क्षेत्रमा आफ्नो पालिकाले पठाएको गाडी कुरिरहेका भेटिन्थे । यसरी घर फर्किनेको भीडमा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने र विद्यार्थी छन् । लकडाउन लम्बिँदै जाँदा आफूसँग भएको रासन र पैसा सकिएपछि उनीहरु घर फर्किन लागेका हुन् ।

सिन्धुलीकै मरिन गाउँपालिकाका प्रेम मगर र दीपेन्द्र मगर पनि घर जानका लागि जडीबुटीमा गाडी कुरिरहनुभएको थियो । लुगाफाटोसहितको ठूलो बोरा बोकेर बिहान खाना खाएपछि गाउँ जानका लागि कपनबाट हिँडेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधन चलाउँदै आउनुभएका उहाँहरु लकडाउनपछि काम गर्न पाउनुभएको छैन । उहाँहरुले पहिले वडामा राहतका लागि फारम भर्नुभएन । आफूसँग बाँकी रहेको रासन सकिएपछि भरे पनि वडाले बाँड्न बाँकी रहेको उहाँले बताउनुभयो । काम गर्न नपाएकै कारण घर जान हिँडेको उहाँहरुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी बन्द हुँदा मुखै बन्द होला भन्ने डर, बरु आफ्नै घर पुगेपछि आनन्द ।”

रामेछाप मन्थली नगरपालिकाका सीताराम नेपाली र शर्मिला नेपाली दैनिक ज्यालादारी काम गरेरै दुई सन्तानलाई पढाएर बस्नुभएको थियो । काम गर्न नपाएपछि उहाँहरु घर जाने निधो गर्नुभयो । कतिपय साथीभाइ र आफन्त अघिल्लो साता नै हिँडेर घर फर्किए पनि साना नानीहरु भएकाले घर जान आँट नगरेको उहाँले बताउनुभयो । नगरपालिकाले गाडी पठाउँछ भन्ने खबर हिजो साँझ पाएको उहाँले बताउनुभयो । उहाँहरु दुई सन्तानलाई डो¥याउँदै मनमैजुबाट कयौँ घण्टा लगाएर जडीबुटी आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी आएर जान पाए त दिनभरि हिँडेको पनि बिर्सिन्थ्यो ।”

सिन्धुली दुधौलीका महेश चौधरी र देवी चौधरी पनि साना दुई नानी च्यापेर गाडी कुरिरहनुभएको भेटिनुभयो । लामो समयसम्म काठमाडौँमा कष्टकररूपमा बस्दै आउनुभएका उहाँहरु घर फर्किन गाडी पाइने भनेपछि दङ्ग हुनुहुन्थ्यो । उहाँहरुले एकपटक राहत पाउनुभएको थियो । त्यो रासन सकिनै लागेकाले फेरि पाइने हो कि होइन भनी चिन्ता रहेकाले पनि घरै जाने निर्णय गरेको उहाँले बताउनुभयो । कोठामा दिनभर बसिरहँदा सन्तानले पनि यो चाहियो र त्यो चाहियो भन्दै मागरिरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी किन्न त पैसा छैन उनीहरुलाई मागेजति कुरा कहाँ पु¥याउन सकिन्छ र ?”

कोटेश्वरचोकदेखि जडीबुटी हुँदै लोकञ्थलीसम्म स्थानीय तहले व्यवस्थापन गरेको गाडीमा घर जानेहरु समूह–समूहमा देखिन्थे । कतिपय मास्क त कतिपय महिलाले आफूले ओढिरहेको पछ्यौरा र सलले आफ्नो र सन्तानको मुख ढाकिरहेको देखिन्थ्यो । उनीहरुमध्ये अधिकांशले सन्तानका लागि भन्दै साथमा चाउचाउलगायतका थोरै खानेकुरा पनि बोकेको देखिन्थ्यो । प्रहरीहरु भने उनीहरुलाई व्यवस्थापनका लागि दिउँसोदेखि नै खटिएका थिए । दिउँसो २ बजेदेखि नै यहाँ घर फर्किनेहरु आइरहेको ड्युटीमा खटिएका प्रहरीले जानकारी दिए । साना नानी र झोला च्यापेर बाटोमा प्रहरीको गाली सहँदै घण्टौँ हिँडेर आएका उनीहरु यो दुःखभन्दा पनि घर फर्किन पाउने कुराले दङ्ग छन् ।

Leave A Reply

Your email address will not be published.