लकडाउनको स्वरुप परिमार्जन गर्ने गृहकार्यमा सरकार, निजि सवारी र बजार खुल्ला गर्ने तयारी

0

काठमाडौं। विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो बनाउन सरकारले गृहकार्य थालेको छ ।

वैशाख १५ लकडाउनको स्वरुप परिमार्जन गर्ने गृहकार्यमा सरकार लागेको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसै अनुसार लकडाउनको स्वरुप निर्धारणको तयारी थालेको हो । अहिलेको तरिकाले लकडाउन अब धान्न सकिन्न, यसको स्वरुपमा परिवर्तनको तयारी अगाडी बढाइएको छ । स्वास्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

अन्य मन्त्रालयले पनि लकडाउनको स्वरुप परिवर्तन गर्ने बारे आ-आफ्नै तरिकाले तयारी गरिरहेका छन् । देशभर अहिलेजस्तै लकडाउन अब मुलुकले धान्न सक्ने अवस्था नभएकोमा सबै सरकारी अधिकारी सहमत छन् । संक्रमण बढी देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा पनि कडा लकडाउन गर्ने बाँकी क्षेत्रमा लकडाउन क्रमश: खुकुलो गर्दै लैजाने सरकारको तयारी छ ।

कोरोना संक्रमणको जोखिम कम रहेको क्षेत्रमा निजि सवारी साधन, कलकारखाना तथा खेतीपाती सहित अत्यावश्यक तथा रोजगार मुलुक कार्य गर्न दिने सरकारको तयारी छ । सार्वजनिक यातायात चल्न नदिने तर निजि सवारी साधन चल्न दिने स्वास्थ मन्त्रालयको प्रस्ताव छ । जसअनुसार मोटरसाइकलमा एक जना मात्रै र कारमा चार जना मात्रै बस्न मिल्ने गरी सञ्चालन गर्न दिने मन्त्रालयको प्रस्ताव छ ।

त्यसैअनुरूप सुरक्षात्मक विधि अपनाएर केही औद्योगिक क्षेत्रमा कलकारखाना चल्न दिने तयारी छ । तर कारखानाले त्यसमा काम गर्ने मजदुरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने छ । निश्चित भौतिक दूरी कायम राखेर कृषि क्षेत्रको कामकाज पनि अघि बढाउने तयारी छ । यातायात, उद्योग र कृषिका लागि विभिन्न मोडालिटीहरु बनाएर सरकारलाई दिने तयारीमा अहिले स्वास्थ मन्त्रालयले तयारी गरिरहेको छ । स्वास्थ मन्त्रालयका विज्ञहरूले अहिलेसम्म संक्रमण नदेखिएको क्षेत्रमा अहिलेको जस्तो लकडाउन आवश्यक नपर्ने सुझाव दिएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहेको भन्दै सिमामा भने निगरानी अझै बढाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.