मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अझै लम्बिने सम्भावना

0

काठमाडौं, १४ वैशाख । कोरोना संक्रमण तथा रोकथामका लागि जारी लकडाउन र अन्य समसामयिक विषयमा निर्णय लिन मन्त्रिपरिषद बैठक बस्दै छ । आज बस्न लागेको मन्त्रिपरिषद बैठकले लकडाउनको स्वरुप कस्तो बनाउने वा कति अवधि लम्ब्याउने भन्नेबारे निर्णय गर्नेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाइएको बैठकले स्वरुप फेरबदल गरेर भए पनि जारी लकडाउनलाई अझै केही समय लम्ब्याउने सम्भावना रहेको स्रोतले बतायो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले पनि लकडाउन हटाउन नहुने निष्कर्षसहित सरकारलाई आवश्यक निर्णय लिन प्रस्ताव गरेको छ ।

समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको प्रतिबन्ध पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । संक्रमण देखिएका ठाउँमा कडाइ गर्दै अन्य केही क्षेत्र भने खुकुलो पार्न सकिनेबारे पनि छलफल हुने जनाइएको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनको अवधि भोलि सोमबार (वैशाख १५) मा सकिँदैछ ।

Leave A Reply

Your email address will not be published.