मुखमा दाँत ठेलेर दन्त उपहार शिविर उद्घाटन, सर्जरी क्याम्प भए त खुकुरी बोकेर जाइलाग्थे होलान् ।

0

ओखलढुंगा । तस्बिरमा सबैजना मुसुक्क मुस्कुराएका छन् । ग्लोब्स लगाएका केही हातहरू भीडको बीचमा रहेकी एकजना महिलाको मुखतिर तेर्सिएका छन् । उनको मुखमा औँला कोचिरहेका छन् । ती महिला सकी नसकी मुख बाइरहेकी छिन् ।

औँलाको कोचाइँबाट उनको अनुहारमा पीडा प्रष्ट झल्किएको देख्न देखिन्छ ।मंगलबारदेखि फेसबुकमा भाइरल भइरहेको याे तस्बिर हो ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिक दन्त उपहार शिविर उद्घाटन कार्यक्रमको । उद्घाटन स्थल थियो चम्पादेवीकै घोराखोरी ।

गएको सोमबार शिविर उद्घाटनमा डाँकिएका थिए, प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र प्रदेश १ कै अर्थ समिति सभापति एवं ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का । शिविरमै थिए गाउँपालिका अध्यक्ष नवराज केसी र अरु जनप्रतिनिधि तथा कर्मचारीहरू ।

महिलाको मुखमा दाँत कोचेर राज्यमन्त्री र जनप्रतिनिधिहरुले उद्घाटन गर्दैगर्दाको तस्बिर फेसबुकमा निकै आलोचित भएको छ । अनिल गिरीले फेसुबकमा फोटोसहितको स्टाटसमा लेखेका छन्- ‘विरामीको दाँत ठेलेर दन्त शिविर उद्घाटन । नसकिने भो यो देशका जनप्रतिनिधिहरुसँग ।’ उनको स्टाटस दर्जनौँ पटक शेयर भएको छ । गिरीको स्टाटसमा चर्को आलोचनासहितका प्रतिक्रिया देख्न सकिन्छ ।

जितमान बस्नेतले लेखेका छन्, ‘थिचेर मार्नै लागेछन्, गाँठे! बिचरा बिरामी!’ ओम राईले लेखेका छन्, ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा ।’तस्बिर हेरेर केहीले व्यंग्य समेत गरेका छन् । मिडिया विश्लेषक भानुभक्त आचार्य लेख्छन्, ‘विरामीको दाँत ठेलेर दन्त शिविर उद्घाटन रे । मुत्रनली अपरेसनको उद्घाटन गर्नु परे यिनले के गर्दा हुन् ? विचरा हाम्रा जनप्रतिनिधि ।’

सीआईएनमा कार्यरत पत्रकार राजन रुचाल लेख्छन्, ‘हो अब ओखलढुंगा हो, ओखलढुंगाले गर्छ ! के गर्छ त भन्दा बिरामीको दांत ठेलेर दन्त शिविरको उद्घाटन गर्ने काम गर्छ ।’फेसबुकमै ईश्वर रौनियारले लेखेका छन्, ‘पाइल्सको उपचार शिविर उद्घाटन गर्न परेको भए यी जनप्रतिनिधिले के गर्थे होलान्, संझँदै तरंगित छु म ।’

दिनेश पौडेलले भनेका छन्, ‘अझ सर्जरी क्याम्प भए त खुकुरी बोकेर जाइलाग्थे होलान् ।’ दन्त शिविर आफैँमा नराम्रो कार्यक्रम थिएन । गाउँपालिकाले सबै वृद्धवृद्धाहरूको मुहारमा मुस्कान भर्नका लागि यो कार्यक्रम ल्याएको जनाएको छ ।

घोराखोरी र पलापुमा शिविर राखेर गाउँपालिकाले ६० वर्ष माथिका दाँत झरेका वृद्धवृद्धाहरुलाई नि:शुल्क दाँत सेट लगाइदिने, सबै उमेर समूहका नागरिकलाई निशुल्क खुद्रा दाँत लगाइदिने, दाँत निकाल्ने तथा परामर्श दिने व्यवस्था मिलाएको छ । नौलो तरिकाले उद्घाटन कार्यक्रम गर्न खोज्दा ‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ सय बल्ड्याङ’ भनेझैँ मात्रै भएको हो ।

Leave A Reply

Your email address will not be published.