भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान ओसारेकाे भिडियाे फुटेज सार्वजनिक

0

चितवन ।चितवनमा स्थापना गरिएको भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान ओसारे (चोर्ने)को भिडियो फुटेज सार्वजनिक भएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भन्दै अहिले सामाजिक सञ्जालमा अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको हो ।कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि प्रश्न उठेको छ ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।रातको समयमा उनीहरुले अस्पतालको स्टोरबाट समान छानेर निकालेर पोकारपोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भन्ने आरोप लागेको छ ।

भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ ।अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीरछानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो । वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानहरुको विवरण बुझेको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए । कोरोना अस्पताल सुरु भएदेखि नै काम गरिरहेका तीन जना चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै जागिर छाडिसकेका छन् । काममा समस्या बढ्दै गएपछि १० बुँदे मागसमेत पेस गरेको र माग सम्वोधन नभएको भन्दै गएको वैशाख ११ गते उनीहरूले राजीनामा दिएका थिए ।

अस्पतालमा अहिले एक जना मेडिकल अफिसर र भरतपुर अस्पतालका एक चिकित्सकले काम गरिरहेका छन् ।रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकमा लामो बहस भएको थियो । यसअघिका बैठकमा सहभागी हुने गरेका कर्मचारीहरुलाई बैठक कक्षबाटबाहिर निकाली कार्यदलका सदस्यहरुका बीचमा मात्र भएको छलफलमा भिडियोको विषयमा छानबिन हुनुपर्ने माग उठेको थियो ।

Leave A Reply

Your email address will not be published.