काठमाडौंमा पनि भेटिए एक जना आरडिटी कोरोना पोजेटिभ !

0

काठमाडौं। काठमाडौंको मुलपानीमा गरिएको र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणमा एक युवकको रिपोर्ट पोजेटिभ आएको छ। मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणमा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो। एन्टीबडी पोजेटिभ देखिएका युवक २१ वर्षीय रहेका छन्। उनी चैत्र ७ गते दुबई बाट आएको बताइएको छ। र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट पोजेटिभ आउँदैमा कोरोना संक्रमण भएको पुष्टि हुँदैन। यस्तो अवस्थामा कोरोना भएको हो-होइन एकिन गर्न प्रयोगशालामा स्वाबको पिसीआर परिक्षण गरिन्छ।

त्यस्तै आज कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्य जाँचबिना सुदूरपश्चिममा भित्रिए ८ हजार बढी मानिस धनगढी : लकडाउनकै अवधिमा कोरोना संक्रमणको जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा पूर्वी नेपालका विभिन्न क्षेत्रबाट झण्डै ८ हजार नागरिक भित्रिएका छन् । देशभर लकडाउनमा कडाइ गरिएको बताइरहेका बेला ती नागरिक केही पैदल र कोही बसमार्फत् सुदूरपश्चिममा भित्रिएका हुन् । पूर्वी नेपालका विभिन्न जिल्लाबाट सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य चेकजाँच समेत भएको छैन । लम्कीचुहा नगरपालिका ३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार चैत्र २७ गतेदेखि यता मंगलबारसम्म चिसापानीबाट झण्डै ८ हजार बढी नागरिक सुदूरपश्चिम प्रवेश गरेका छन् । पहिलो चरणको लकडाउन अघि नआएका उनीहरु दोश्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका हुन्।

पछिल्लो एक साता यता स्थानीय तह, संघीय सांसद, मन्त्रीलगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि यो संख्या बढेको हो । अघिल्लो साता ३ हजार नागरिक सुदूरपश्चिम प्रवेश गरेकोमा चार दिन यता झण्डै ८ हजार बढी पुगेको अध्यक्ष चलाउनले बताए ।’चैत्र २७ गतेदेखि मंगलबारसम्म ८ हजार बढी नागरिक सुदूरपश्चिममा भित्रिएका छन्,’ अध्यक्ष चलाउने भने । पछिल्लो यो साता स्थानीय तह, सांसदसमेत काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो। पूर्वी नेपालको धादिङ, गोर्खा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोटलगायतका जिल्लामा रहेका सुदूरपश्चिमेली धमाधम फर्किरहेका छन्।लउनीहरुको चिसापानीमा सामान्य चेकजाँच समेत हुने गरेको छैन ।

अन्य जिल्लाबाट आएकाको स्वास्थ्य चेकजाँच, र्‍यापिड टेस्ट गर्नुपर्ने भएपनि सुदूरपश्चिम प्रवेश गरेकाको भने सामान्य स्वास्थ्य चेकजाँचविना नै फर्किरहेका छन् । चिसापानीमा हेल्थ डेस्क सञ्चालन गर्न प्रदेश सरकारले निर्देशन दिएको भए पनि अझै सञ्चालन हुन सकेको छैन । लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जिल्लाले स्वास्थ्य सामग्री पठाएर हेल्थ डेस्क सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । डोटीमा १७३ भित्रिए काठमाडौंमा डेरामा बस्दै आइरहेका डोटीका बासिन्दा सोमबार र मंगलबार १ सय ७३ जना जिल्ला भित्रिएका छन् । जिल्लाभन्दा बाहिरबाट आउने व्यक्तिले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासनले गरेको निर्णय अनुसार अहिले काठमाडौंबाट घर फर्केकालाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ । काठमाडौंबाट जिल्ला आएका व्यक्ति स्थानीय तहहरुकै सक्रियतामा आएको हुनसक्ने र जो जसरी जिल्लामा आएपनि क्वारेन्टाइनमा भने अनिवार्यरुपमा बस्नैपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

काठमाडौंबाट सोमबार र मंगलबार जिल्लामा फर्कनेमा शिखर नगरपालिकाका ५५ जना, दिपायल सिलगढी नगरपालिकाका २४, पूर्बीचौकी गाउँपालिकाका ४१, केआईसिंह गाउँपालिकाका २०, बोगटान फुड्सिल गाउँपालिकाका १९ र आदर्श गाउँपालिकाका १२ जना व्यक्तिहरु रहेका छन् । तिनीहरु सबैलाई आ-आफ्नो स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनमा राखेको बताइएको छ । अछाममा ६५ जना गृहमन्त्रालयले लकडाउनका कडाई गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन मंगलबार अछाममा बाहिरबाट ६५ जना भित्रिएका छन् । डोटी र अछामको सिमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्रयाईएको हो भने मंगलबार मात्रै धनगढीबाट चारजना जिल्ला भित्रिएका छन् । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो । तर त्यसको उलंघन गर्दे काठमाण्डौ, धनगढी, महेन्द्रनगर र टिकापुर विभिन्न ठाउँबाट आएका ६५ जना जिल्ला भित्रिएका छन् ।

१६ जना बाजुरा जाने बसमा र ४९ जना अछामको बसमा आएका हुन् भने चार जना बा १५ च २६४ नम्बरको स्कोरपियोमा मंगलवार बिहान आएका, चौखुट्टे प्रहरी चौकीले जानकारी दिएको छ । जिल्लाका नौ वटा स्थानीय तहका ६१ जनालाई सम्बन्धित स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने प्रतिवद्धता जनाएपछि जिल्ला भित्रिन दिएको जिल्ला प्रहरी कार्यालय अछाममा प्रमुख प्रहरी नायव उपरिक्षक दिपक भारतीले जानकारी दिए । लकडाउनमा कडाई गर्दागर्दै पनि केन्द्रबाट नै पठाईएका गाडी भएका कारणले रोक्न र नाकाबाटै फर्काउन नसकिएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

उनले भने, ‘सबै स्थानीय तह लकडाउनको अवधिमा बाहिरबाट कसैलाई पनि नल्याउने विषयमा एकमत भएका छन्, समस्यामा परेकाहरुलाई उतै राहतको ब्यवस्था गर्ने सहमति भएका छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने । ६५ जनामध्ये सबैभन्दा बढी वान्नीगढी जयगढ गाउँपालिकाका २२ जना, कमलवजार नगरपालिका, ढकारी र तूर्माखाँद गाउँपालिकाका ९ जना,साँफेबगर नगरपालिकाका १२ जना, चौरपाटी गाउँपालिकाका ३ जना, रामारोशन गाउँपालिकाका ८ जना, मंगलसैन नगरपालिकाका ९ जना र मेल्लेख गाउँपालिकाका ३ जना रहेका छन् । सबैलाई स्थानीय तहले बनाएको क्वारेन्टाईनमा राख्ने स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.