मनकारी घरबेटी : भाडामा बस्नेको ढोकामा पुगेर हरेक बिहान सोध्छन्, केही समस्या छ ?

0

काठमाडौं । चावहिलको स्तुपा पूर्व पिपलबोट मुनी घर भएका केदार घिमिरे र शान्ता घिमिरे अहिले विहान–विहान कोठा भाडामा बस्नेको ढोकामा पुग्ने गरेका छन् । लकडाउनले आक्रान्त बनाइरहेका बेला आफ्नो घरमा भाडामा बस्नेलाई उनीहरुले दैनिक सोध्ने गरेका छन् । रामेछाप की रेश्मा दास उनकै घरमा बस्छन् । उनी सहकारीमा काम गर्छन् । एक छोराकी आमा उनलाई घरबेटीले केही समस्या छ भनेर सोध्दा खुसिले हर्षित हुँदै भन्छिन्, ‘घर बेटी त हाम्रो देउतै हुन् के’। यस्तै घरमा बस्ने अरुलाई पनि घरबेटीले सोधेको सुनाउछन् । उनीहरु भन्छन्, ‘घरबेटी (शान्ता)ले हामीलाई सधै सोध्नु हुन्छ। के खानु भयो ? के छ ? पैसा छ कि छैन ? चामल न भए म बाट ल्याएर आए हुन्छ ।’

घरबेटीले नै अभिभावकत्व ग्रहण गरिदिँदा कोठ भाडामा बस्नेहरुले घर पनि भुल्न थालेका छन् । २३ वर्ष पहिला विवाह बन्धनमा बाँधिएका घिमिरे दम्पति पहिला आफै कोठा भाडामा बस्दै आएको अनुभव सुनाउछन् । दोलखाको नाम्दु घर भएका उनिहरु १४ वर्ष पहिला काठमाडौं आएका थिए । ‘भाडामा बस्दा कस्तो हुन्छ मलाई राम्ररी थाहा छ’, आफ्ना पुराना अनुभव सुनाउँदै शान्ता घिमिरेले भनिन्, ‘मेरो घरमा बस्नेलाई पनि तेस्तै त होला सोच्छु । माया लाग्छ।’ दुई छोरी र एक छोराकी आमा उनी बच्चाबच्चिकोले गर्ने मागहरुको बारेमा सम्झिन्छन् ।

‘जब आफूसँग अफ्ठेरो परिस्थिति हुन्छ तव बच्चाबच्चिले पनि यो चाहियो, उ चाहियो भन्छ। अहिले लकडाउनले सबैलाई समस्या पारेको छ। हामी त यही घर भएका हौं केही न केही गरी खान सकिहाल्छ । उहाँहरु (कोठा भाडामा बस्ने)ले कसरी चलाउनु हुन्छ होला जस्तो लाग्छ।’ जेठि छोरी अष्ट्रेलिया पठाएका केदार घिमिरे आफूलाई पनि समस्या रहेको बताउछन्, ‘भरखरै छोरी पठाएँ, छोरी पठाएको १०/१५ दिनमै लकडान सुरु भयो, उता छोरीको टेन्सन, यता व्यवहारको, तै पनि हामीले कोशिस गरिरहेका छौं उहाँहरुलाई सहयोग गर्न।’

‘अहिले त छोराछोरी ठुला भए, आफ्नै घर छ । यिनीहरु(छोराछोरी) साना थिए । गाउँबाट भरखर आएका हामी भाडामा बस्न थाल्यौं । त्यतिबेलाको समय अहिलेको जस्तो थिएन तै पनि संघर्ष गर्न प¥यो । हामी पनि कोठामा बस्नेको समस्या बुझ्छौ। सकेसम्म केही कुराको पनि अफ्ठेरो नहोस भन्ने हामी चाहान्छौं’। केदार बोल्दै थिए । ‘हामीलाई चाहिने भनेको आफु बसेको कोठा, हिड्ने ठाउँ, ‘ट्वाइलेट/वाथरुम’ सफा गर्नुस भन्ने हो।’ उनले हाँस्दै सुनाए, ‘कहिले कतै त त्यो कुराको लागि पनि उहाँहरु हामीसँग रिसाउनु हुन्छ’।

‘म त गएर सफा गर्नु पर्छ भन्छु’, श्रीमानको कुरा काट्दै शान्ताले भनिन्, ‘उहाँ(श्रीमान) अलि मिजासिलो हुनुहुन्छ, टेर्दैनन् के, म त कराउछु गएर कहिले कतै डराउछन् पनि। तर, हामी उस्तै हो की उहाँहरु(कोठामा बस्ने) उस्तै हो । अरु घरहरुको भन्दा हाम्रो घरमा बस्नेहरु राम्रै छन् सबैजना’। काठमाडौंमा घर भएकाहरु साह्रै नीरस हुन्छन् भन्ने सुनिरहेका बेला घिमिरे दाम्पतिको कुरा र कोठमा भाडामा बस्नेलाई गरेको अभिभावकीय व्यवहारमा मोहित नहुने सायदै होलान् । भाडा लिने गरे पनि घरबेटीको व्यवहारले भाडानै लिए जस्तौ नलागेको कोठमा बस्नेहरु सुनाउछन् ।

कोरोनाका कारण भएको महामारीका बेला नेपालमा भएको लकडाउनका कारण कतिपय हिडेर घर जानु परिरहेको छ । कतै डाक्टरलाई नै घरबाट निकालिएको समाचार त कतै घरबेटीले कोठा भाडाका लागि निकालेर सिडीमुनी बास जस्ता समाचारहरु सञ्चार माध्यायममा आईरहदा शान्ता र केदारले देखाएको सदभाव सह्रानीय छ ।

Leave A Reply

Your email address will not be published.