किम जोङ उन २० दिनपछि सार्वजनिक

0

एजेन्सी, २० वैशाख । उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनी अप्रिल ११ तारिखका दिन सरकारी बैठकमा उपस्थित भएपनि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किमले हिजो शुक्रबार एक मल कम्पनी उद्घाटनमा रिबन काटेका छन् । किम सार्वजनिक समारोहमा उपस्थिति भएसँगै ‘तुफानको गड्गडाहट अन्त्य भएको’ सो समाचारमा उल्लेख छ ।

उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि उनी गम्भीर बिरामी भएको र मृत्यु समेत भएकाे समाचारहरु सार्वजनिक भएका थिए ।

दुई हप्ता अगाडि उत्तर कोरियाली मिडियाहरुले मिसाइल परीक्षण गरेको जानकारी दिए । त्यहाँ पनि किम देखिएका थिएनन् । खासगरी उनी यस्ता कार्यक्रमहरुमा जहिले पनि देखिने गर्दथे ।

अप्रिल १५ मा किमका हजुरबुबाको जन्मोत्सवमा उनी उपस्थित नभएपछि विभिन्न प्रश्नहरू उठ्दै आएका थिए । उनले अप्रिल ११ मा पोलिटब्यूरोको बैठकमा सहभागिता जनाएका थिए । त्यसपश्चात् उनी सार्वजनिक रूपमा देखा परेका थिएनन् ।

केही अपुष्ट मीडिया रिपोर्टहरूले मुटुको शल्यक्रियापछि किम गम्भीर खतरामा हुन सक्छ भन्ने अनुमान लगाएका थिए । तर दक्षिण कोरियाले भने किम जोङ उन जिवित र सकुशलै रहेको दाबी गर्दै आएको थियो ।

दक्षिण काेरियाली मिडियाहरूले किम जोङ उनले उत्तर कोरियामा केही अनौंठो कदम चलिरहेको र किम वोनसन क्षेत्रमा बसिरहेका समाचार सम्प्रेषण गरेका थिए ।

किमको स्वास्थ्यमा खरावी आएको र मृत्युसम्मको समाचार बाहिर आइरहेको बेला उत्तर कोरियाली मिडियाले उनकाे पत्र समेत प्रसारण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.