नेपालमा एकै दिन थपिए १० जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ६९ पुग्यो

0

काठमाडौं -नेपालमा एकै दिन १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो। डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्। नेपालगञ्जमा पहिलो संक्रमित शुक्रबार देखिएको थियो। आइतबार देखिएका संक्रमित शुक्रबार भेटिएका संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु भएको बताइएको छ। उनीहरु सबै एउटै टोलका हुन्। शुक्रबार संक्रमित देखिएपछि नेपालगञ्ज नगरपालिकाका ४ स्थान डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरि संक्रमितका सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गरिएको थियो।

आइतबार उनका सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा ७ वर्षीय बालिका सहित ९ जनामा संक्रमण पोजिटिभ देखिएको हो। ती बालिका नेपालमा संक्रमितमध्ये सबैभन्दा कम उमेरकी हुन्। यसअघि जनकपुरका १४ वर्षीय बालकमा संक्रमण देखिएको थियो। भेरी अस्पतालका मेसु डा प्रकाश थापाका अनुसार ९० जनाको स्वाब परीक्षणका लागि लिइएको नमूनामध्ये ३० जनाको रिपोर्ट आइसकेको र तीमध्ये ९ जनामा पोजेटेभि देखिएको हो। उनका अनुसार अब ६० जनाको रिपोर्ट आउन बाँकी छ। उनले भने,‘नेपालगञ्जमा ल्याब सञ्चालन भएदेखि हामीले ३ सय ५४ जनाको स्वाबको नमुना लिएका छौँ भने २ सय ३६ जनाको रिपोर्ट आइसकेको छ।

जसमध्ये हालसम्म १० जनामा कोरोना पोजिटिभ देखिएको छ।’ कन्ट्याक्ट ट्रेसिङ गरी नमुना लिने काम जारी रहेको उनले बताए। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

Leave A Reply

Your email address will not be published.