सात सय वर्षअघि यसरी सुरु भयो क्वारेन्टाइनको चलन

0

संक्रामक रोगका बिरामीहरुलाई निको नहुन्जेल स्वस्थ व्यक्तिहरुबाट टाढा राखेरै रेखदेख र उपचार गर्ने विधि प्राचीन कालदेखि नै चल्दै आएको हो । धर्मशास्त्रहरुमा समेत एकान्तवास अर्थात् आइसोलेसनका सन्दर्भहरु उल्लेख भएको पाइन्छ । अहिले विश्वमा जारी कोरोना भाइरस महामारीका कारण सेल्फ आइसोलेसन तथा क्वारेन्टाइन जस्ता शब्दहरु पुनः एकपटक जनजिब्रोमा कण्ठ भएका छन् ।

कोरोना भाइरस महामारीको रोकथामका लागि कुनै नयाँ ठाउँबाट आएका आम मानिसहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि सुझाव दिइन्छ । तथापि शंकास्पद तथा जोखिमयुक्त मानिसलाई क्वारेन्टाइनमा राख्ने यो विधि तथा स्वयंममा यो शब्दको इतिहासचाहिँ रोचक छ । यो शब्दको इतिहासको जरो मध्यकालीन युरोपसम्म फैलिएको छ ।

क्वारेन्टाइन शब्द इटालियन भाषाको क्वारेन्तिनोबाट आएको हो । यसको शाब्दिक अर्थ हुन्छ ४० दिनको अवधि । १४औँ शताब्दीमा युरोपमा फैलिएको प्लेग रोगबाट भेनिसलगायतका तटीय सहरहरुलाई बचाउनका लागि संक्रमित बन्दरगाहहरुबाट ती सहरमा जाने हरेक जहाजलाई सहरको धर्ती छुनुअघि ४० दिनसम्म पानीमै अठ्याएर राखिन्थ्यो । अर्थात् कुनै पनि जहाजले एक यात्रा पूरा गरेसँगै अर्को यात्रा सुरु गर्नका लागि ४० दिन विश्राम लिनुपर्दथ्यो । यसरी जहाजलाई चालिस दिनसम्म सहरको तटीय क्षेत्रको माटो छुन नदिई पानीमै तैराएर राख्ने उक्त विधिलाई बिस्तारै क्वारेन्टाइन भन्न थालियो ।

सन् १३७४ मा भेनिस सहरले एक आदेश जारी गर्‍यो । उक्त आदेश अनुसार भेनिस आउने पानी जहाज तथा त्यसका यात्रीहरुलाई भेनिसको विशेष स्वास्थ्य परिषदले अनुमति नदिएसम्मको लागि नजिकैको लैजारो टापुमा रोकिनुपर्ने थियो । उक्त व्यवस्थाका कारण भेनिसमा केही देशका जहाज तथा यात्रीहरुमाथि भेदभाव तथा अन्य दुर्व्यवहार हुन थाल्यो ।

त्यस्तै एड्रियाटिक सागरमा अवस्थित रागुजा टापुको प्रशासनले महामारी फैलिनबाट रोक्नका लागि सन् १३७७ मा एउटा कानून बनायो । जस अनुसार रागुजा टापुमा आउने हरेक जहाज तथा व्यापारीहरुको टोली ३० दिनसम्म कतैपनि घुलमिल नभइ अलग्गै रहनुपर्ने भयो ।

त्यस्तै बाहिरबाट आउने त्यस्ता व्यक्तिहरु संक्रमणमुक्त होउन् भन्नका लागि रागुजाको मूख्य सहर पस्नु अगाडि ३० दिनसम्म म्र्याकन टापुमा बस्नुपर्ने नियमसमेत लागु गरियो । बाहिरबाट आउने हरेक व्यक्तिहरुका लागि लागू गरिएको उक्त नियम पक्षपातरहित थियो र सफल पनि भयो ।

फलतः समयक्रममा संक्रामक रोगको फैलावट रोक्नका लागि अन्य देशहरुले समेत क्वारेन्टाइनको यस्तो विधि अबलम्बन गर्न थाले । जुन अहिलेको महामारीमा सबैभन्दा धेरै प्रचलनमा रहेको छ । एजेन्सी

Leave A Reply

Your email address will not be published.