यस्तो हुँदैछ वैशाख २५ पछि लकडाउनको मोडालिटी

0

काठमाण्डौ । वैशाख २५ गते सम्मकालागी तोकिएको लकडाउनको मिति नजिकींदै जाँदा लकडाउनलाई खुकुलो गर्ने या निरन्तरता दिने भन्ने विषयमा गृहकार्य भईरहेको छ । एकाएक बाँकेको नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको मोडालिटीको विषयमा के गर्ने भन्नेमा अन्यौलता छ ।

लकडाउनबारे सरकारलाई सुझाव दिन गठित समितिका केही सदस्यहरुले कोरोना सङ्क्रमण नदेखिएको क्षेत्रमा लकडाउन खुकुलो बनाउन सकिने प्रतिवेदन बनाएका छन् । यसैगरी उच्चस्तरीय समन्वय समितिकै कतिपय सदस्यहरुले अहिलेको परिस्थितीलाई मध्यनजर गर्ने हो भने यो प्रतिबेदन उचित नभएको बताएका छन् ।

यसका साथै सुझाव समितिले कोरोना सङ्क्रमण जोखिमका आधारमा विशेषगरी तीन क्षेत्र निर्धारण गरेको छ । पहिलो क्षेत्र अति प्रभावित, दोश्रो प्रभावित र तेश्रो सामान्य गरी तीन तहका इलाका पहिचान गरेर त्यसैका आधारमा मोडालिटी तयार पारिएको छ ।

लकडाउन खुकुलो भए कोरोना सङ्क्रमण थप बढ्ने भएकाले सजक हुनुपर्ने उच्चस्तरीय समन्वय समितिकै धेरै सदस्यहरुको राय छ । तर लकडाउनकै कारण भैरहेका समस्या र अर्थतन्त्रमा पर्ने असरलाई पनि मध्यनजर गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

सङ्क्रमण जोखिमका आधारमा अति प्रभावित र उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ । कोरोना सङ्क्रमण भेटिएका जिल्लालाई रातो क्षेत्रमा राखेर लकडाउन कायमै राख्नुपर्ने समितिको सुझाव छ ।

त्यस्तै पहेंलो क्षेत्रमा पर्ने जिल्लामा लकडाउन रातो क्षेत्र भन्दा केही खुकुलो तथा हरियो क्षेत्रमा भने दूरी कायम गर्नेगरी आवश्यक गतिविधि सञ्चालन गर्न सकिने समितिको सुझाव छ । यी तीनवटा क्षेत्रमा एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत भने रोक्नुपर्ने समितिको निष्कर्ष छ ।

यस्तै धार्मिक क्रियाकलाप, सभा सम्मेलन, पर्यटन तथा मनोरञ्जन क्षेत्रमा रोक लगाउन सुझाव छ । आवतजावत रोक्ने, होटल, सिनेमा नखोल्ने तर ईकमर्स, अत्यावश्यक सामग्रीलाई सञ्चालन गर्ने विकल्प राखिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय क्षेत्र, कृषि क्षेत्र सञ्चालन गर्न सकिने समितिको सुझाव छ । निर्माण सामाग्री, अटो सर्भिसिङ्ग, इलेक्टिक, अटो पार्टस जस्ता क्षेत्रलाई अति प्रभावित क्षेत्रबाहेक पहेंलो र हरियो क्षेत्रमा खोल्न सक्ने सुझाव छ ।

सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र केही कर्मचारी मात्रै काममा खटाउने सकिने समितिले सुझाव दिएको छ । समितिका अनुसार हरियो क्षेत्रमा शैक्षिक संस्था सञ्चालन गर्न उपयुक्त देखिन्छ तर रातो र पहेंलो क्षेत्रमा शैक्षिक गतिविधि हुने छैनन् ।

Leave A Reply

Your email address will not be published.