अहिले देखापरेका किम जोङ उन र उनकी बहिनी सक्कली कि नक्कली ?

0

एजेन्सी। केही हप्तासम्म गायब भएपछि सार्वजनिक रूपमा देखापरेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सक्कली नै हुन् कि अर्कै कुनै व्यक्तिलाई उभ्याइएको हो भनी आकलन गर्न थालिएका छन् ।

आफ्ना हजुरबुवा किम इल सुङको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा किम नदेखिँदा अडकलबाजी शुरू भएका थिए । त्यसपछि उनी गम्भीर बिरामी भएको र मुटुको शल्यक्रिया गरेपछि उठ्नै नसक्ने स्थितिमा रहेको भनी खबर आए ।

शुक्रवार किमले एउटा कारखानाको भ्रमणमा गएको तस्वीर उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जारी गर्‍यो ।

तर तस्वीरको विश्लेषण गर्दा उनका केही शारीरिक अवयव सक्कली किमसँग मेल नखाने भनी सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू देखिए । उनको अनुहार, कपाल, कान र दाँतको विश्लेषण गर्दा उनले आफ्नो खराब स्वास्थ्यको खबरलाई पूर्णविराम दिन आफू जस्तै देखिने व्यक्तिलाई उभ्याएका हुन् कि भनी अनुमान गरिएको छ ।

मानवअधिकारवादी अभियन्ता जेनिफर जेङले किमका दुई संस्करणमा देखिएका भिन्नताको कुरा सबभन्दा पहिले उठाएकी थिइन् । ट्विटरमा पोस्ट गर्दै उनले ‘मे १ मा देखापरेका किम सक्कली हुन् ?’ भन्ने प्रश्न गर्दै किमका पुराना र नयाँ तस्वीरहरू राखिन् । उनकी बहिनी समेत नक्कली भएको भनी जेङले लेखिन् ।

Leave A Reply

Your email address will not be published.