जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

0

काठमाडौं । सरकारले जारी लकडाउन १० दिन थप गर्दै जेठ ५ गतेसम्म लम्बाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले चैत १८–२५, चैत २५–वैशाख ३, वैशाख ३–१५ र वैशाख १५–२५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

Leave A Reply

Your email address will not be published.